सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

२०७८ असार २१, ०१:११ खबर संवाददाता

बर्दिया: बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जगंलमा दाउरा बटुल्न गएका मधुवन नगरपालिका–३ भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु भएको हो। उनको शव सम्झना सामुदायिक वनमा भेटिएको हो।

नेपाल–भारत सीमाको अन्तर्राष्ट्रिय जैविक मार्गको सीमा स्तम्भ नम्बर ८३र८४ को दसगजानजिक खत्रीलाई बाघले आक्रमण गरेको भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन थापा मगरले बताए। सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासीले खोजतलास गर्दा खत्रीको शव सोमबार दिउँसो ११ बजे शव फेला परेको मगरले जनाए।

खत्रीको कम्मरदेखि माथिल्लो भागसम्मका शरीरको भाग बाघले खाएको खाता जैविक मार्ग अन्तर्गत रेन्जपोस्टका सहायक वन अधिकृत सन्तोष चौधरीले बताए। गत साउनयता यस ठाउँमा बाघले ७ जनाको ज्यान लिइसकेको छ।

स्थानीय प्रशासनले यस क्षेत्रमा घाँस, दाउरा, चरिचरण, सागपात टिप्न नजान आग्रह गर्दै आएको छ। लुकिछिपी वन क्षेत्रमा प्रवेश गर्दा बाघले आक्रमण गर्ने क्रम रोकिएको छैन । गत साउनयता बर्दियामा बाघको आक्रमणबाट १२ जनाको ज्यान गएको छ।

कमेन्ट लोड गर्नुस