सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा शिलान्यास भएका सडकको काम अघि बढाउन आयोजना कार्यालय असफल

२०७८ असार २०, ०६:३८ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः एशियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण लगानीमा धनगढी उपमहानगरपालिकाभित्र निर्माण गरिने भनिएका तीनवटा सडकको काम अघि बढाउन क्षेत्रीय सहरी विकास आयोजना कार्यालय असफल देखिएको छ।

०७७ मंसिरमै ७ वटा सडक निर्माणका लागि शिलान्यास गरिएको भएपनि सडकको डिजाइनले नै पूर्णता नपाएपछि बाँकी चारवटा सडकको निर्माण समेत अन्योलमा परेको हो। 

एडीबीको सहुलियत ऋण लगानीमा क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत धनगढीमा१० किलोमिटर सडक निर्माणका लागि २०७७ मंसिरमै शिलान्यास गरिएको थियो। धनगढी चौराहदेखि कैलाली नालासम्म एक दशमलव ३ किलोमिटर, गुल्म–चर्च २ किलोमिटर र मालपोत सडक चार सय मिटर सडक निर्माणको काम अघि बढाउन आयोजना कार्यालय असफल देखिएको हो। तर निर्माण सुरु गरिएका चारवटा सडकको काम पनि यतिबेला अलपत्र परेको छ। 

पुनः डिजाइन गरेर मात्र निर्माणको प्रक्रिया अघि बढ्ने क्षेत्रीय सहरी विकास आयोजनाका उप–व्यवस्थापक झंकबहादुर थापाले बताए। ‘तीन वटा सडकको निर्माण सुरु भएको छैन,’ उनले भने, ‘निर्माण सुरु गरिएका चारवटा सडक पनि निषेधाज्ञा र निर्माण सामग्रीको अभावले प्रभावित बन्न पुगेको छ। अहिले भत्काइएका सडकको डिजाइनसहित मर्मतको काम भइरहेको छ।’

एडीबीको सहयोगमा सञ्चालन भइरहेको क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत धनगढी उपमहानगरपालिकाभित्र ४२ किलोमिटर सडक विस्तारका लागि सन २०१५ मा सम्झौता भएको थियो। उपमहानगरपालिकाले सडक संख्या, चौडाई र लम्बाई घटाएर १० किलोमिटरमा झार्दै मंसिरदेखि निर्माण कार्य थालिएको भएपनि खानेपानी लगायत विविध समस्या देखा परेपछि चटकपुरदेखि क्याम्पस चोकसम्म तीन दशमलव ६५ किलोमिटर सडकसहित बाँकी तीनवटा सडक भत्काएर छोडिएको छ। 

भत्काएर छोडिएका सडकहरुको निर्माण नहुँदा नगरवासीलाई आवतजावत गर्न निकै समस्या भइरहेको छ। तर निर्माणको ठेक्का पाएको कालिका कन्स्ट्रक्सनले सडकको डिजाइनले नै पूर्णता नपाएका कारण निर्माणमा ढिलाई हुन गएको दाबी गरेको छ। 

निर्माण सुरु गरिएका सडकको पुनः डिजाइन भइरहेको र १५/२० दिनमा नतिजा आएपछि सोहिअनुसार निर्माण अघि बढाइने कालिका कन्स्ट्रक्सनका सुदूरपश्चिम प्रतिनिधि प्रकाशचन्द्र खरेलले बताए। 

पहिलो चरणमा १० किलोमिटर सडक निर्माणका लागि कालिका कन्स्ट्रक्सनले ६८ करोड ५ लाख ९८ हजार ७०४ रुपैयाँमा ठेक्का पाएको थियो। कम्पनीले ७ वटा सडक निर्माणका लागि ठेक्का सम्झौता गरेको भएपनि तीनवटा महत्वपूर्ण सडकको काम भने अझै सुरु भएको छैन्। 

७ वटै सडकहरुलाई आधुनिक र सुविधासम्पन्न सडकको रुपमा विकास गर्न डिजाइनको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ। २४ महिनाभित्र सवै सडकको निर्माण सम्पन्न गरिसक्नुपर्नेमा तीनवटा सडकको निर्माण नै सुरु नहुँदा समयमा निर्माण सम्पन्न हुनेमा नगरवासीले आंशका गरेका हुन्। तर कोरोना भाइरसका कारण निर्माणमा ढिलाई भएको र नयाँ डिजाइनले पूर्णता पाउने वित्तिकै बाँकी प्रक्रिया अघि बढ्ने आयोजना कार्यालयका उप–व्यवस्थापक थापाले दाबी गरे।

एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सरकारले सुदूरपश्चिम प्रदेशका चार स्थानीय तहका मुख्य शहरमा आधुनिक सडक निर्माणका लागि छनौट गरेको थियो। धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा सडक स्तरोन्नति र ढल व्यवस्थापनका साथै फोहोरमैला प्रशोधन केन्द्रको निर्माणको प्रक्रिया थालनी गरेको भएपनि निर्माणले अझै अपेक्षित गति लिन सकेको छैन।

कमेन्ट लोड गर्नुस