सुदूर नेपाललाई विश्वसँग जोड्दै

हार्न तयार छु, तर तोकिएकै मितिमा महाधिवेशन गरेरै छाड्छु : देउवा

२०७८ असार १९, ०३:५८ खबर संवाददाता

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू हार्ने भए पनि पार्टीको महाधिवेशन गराएरै छाड्ने बताएका छन्। आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यहरुसँगको छलफलमा सभापति देउवाले महाधिवेशन गर्न नसकेको कलंक बोक्न आफू तयार नरहेको बताएका हुन्।

पदाधिकारी बैठकमा क्रियाशील सदस्यताबारे बनेको सहमतिको जगमा महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेगरी आ–आफ्नो जिम्मेवारी पूरा गर्नपनि देउवाले निर्देशन दिए। ‘महाधिवेशन गर्नैपर्ने बाध्यता छ। म जिते पनि हारे पनि महाधिवेशन गराएरै छाड्छु। त्यसका लागि अब धमाधम काम हुनुपर्यो। जसले जे जिम्मेवारी पाउनुभएको छ बेलैमा सक्नुपर्यो’, देउवाले भने।

उनले सदस्यता छानबिन समितिमा रहेका नेताहरुलाई अधिकतम सहमति जुटाउन र विवाद नटुंगिए स्थगित गरेर अगाडि बढ्नसमेत निर्देशन दिएका छन्। ‘जति कुरा मिल्छ मिल्छ। जहाँ मिल्दैन, त्यसलाई अर्को महाधिवेशनमा हेरौंला । अहिले महाधिवेशन रोक्ने स्थिति छैन’, देउवाले भने। सभापति देउवाले १४ औं महाधिवेशनमा दोस्रो कार्यकालका लागि सभापतिको उम्मेदवार बन्ने बताइसकेका छन्।

बैठकमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सह–महामन्त्री डा.प्रकाशशरण महत, सदस्यता छानबिन समितिका संयोजक रमेश लेखक र सदस्यहरु रहेका थिए। बैठकमा क्रियाशील सदस्यताको सन्दर्भमा भएका कामबारे छलफल भएको छानबिन समितिको सदस्य समेत रहेका नेता श्यामकुमार घिमिरेले जानकारी दिए।

कमेन्ट लोड गर्नुस