सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा–परासीको टिकटक ‘कनेक्सन’, एकपटक पनि नभेटी सिधै बिहे

२०७८ असार १७, ०४:३९ खबर संवाददाता

धनगढी:  डडेल्धुराका शुनिल तामाङले नवलपरासीकी रिया घिसिङलाई गत पुसमा सामाजिक सञ्जाल टिकटकमा ‘फ्लो’ गरेका थिए। रियाले पनि शुनिललाई ‘फ्लो ब्याक’ गरेकी थिइन्। तर उनीहरुबीच केही कुराकानी भने भएको थिएन।  

एकअर्काको भिडिओमा लाइक र कमेन्ट गर्दागर्दै बैशाख आयो। बैशाख २७ गते शुनिलले टिकटकमै रियालाई ‘हाइ’ लेखेर पठाए। उताबाट पनि रिप्लाई आइहाल्यो। एकअर्काबारे जान्न उनीहरुले सक्दो जानकारी साटासाट गरे।

र, टिकटकमा मात्रै कुरा गरेर उनीहरु ढुक्क भएनन्। मुटुमा प्रेमको टुसा पलाइसकेपछि उनीहरुले फेसबुकमा एकअर्कालाई साथी बनाए। फोन नम्बर पनि साटासाट भयो। अब दुवैबीच सम्पर्क गर्ने धेरै आधार खडा भइसकेका थिए। त्यो भएपछि दुवै प्रेमिल जोडी घण्टौसम्म भिडिओ कलमा गफिन्थे।

डडेल्धुराको अमरगढी नगरपालिका–५ बस्ने शुनिल ३१ वर्षका भए। ११ पटक राष्ट्रिय स्तरको क्रिकेट खेलिसकेका उनले खेल्न छाडिसकेका थिए। केही परिवारिक जिम्मेवारीका कारण खेल्न छाडेर उनी एक निजी कम्पनीमा जागिर गर्छन्। यी व्यक्तिगत र पारिवारिक अवस्थाबारे उनले रियालाई सबैकुरा बताइसकेका थिए। २२ वर्षकी रियाले पनि आफ्नो पारिवारिक अवस्थाबारे सबै कुरा जानकारी गराइसकेकी थिइन्। दुवैबीच बिहे गर्ने सहमति समेत भइसकेको थियो। 

नवलपरासीको कावासोती नगरपालिका–२ बस्ने उनको परिवारले पनि दुबैको सम्बन्धबारे जानकारी पाइसकेको थियो। तर त्यहाँबाट सुदूरपश्चिम प्रदेश, त्यो पनि पहाडी जिल्ला डडेल्धुरामा आफ्नी छोरीलाई बिहे गरेर दिन परिवार अलिकता हिच्किचाइरहेको थियो। ‘फेरि टिकटक र फेसबुकमा भेटेको केटा। आजभोलि सामाजिक सञ्जालले निम्त्याएको अपराधिक घटनाबारे सबै सजक थिए’ रिया भन्छिन्, ‘बल्लतल्ल घरका सदस्यसँग उहाँको कुरा गराएपछि राजी भए।’ 

एक पटकपनि नभेटेको केटा कस्तो होला भन्ने पीर रियालाई पनि नपरेको हैन। ‘बैशाखबाट कुरा गर्दै जाँदा बानी–व्यहोरादेखि सबै कुराको जानकारी त पाएको थिए। तर उहाँले पहिले बिहे त गरिसक्नु भएको छैन भन्ने डर चाँही मनमा थियो’ रियाले हास्दै भनिन्। 

यता शुनिलका परिवारले पनि रिया र उनको परिवारसँग बिहेको कुरा छिनिसकेका थिए। तर कोरोना महामारीका कारण निषेधाज्ञा जारी भएकाले धुमधामसँग बिहे गर्न सम्भव थिएन।

रियाका परिवारले टीका लगाएर छोरीलाई बिदाई गर्ने भनेर खबर पठाए। सोही खबर अनुसार शुनिल आफ्ना आफन्त र साथीहरुलाई लगेर जेठ ३१ गते साँझ नवलपरासीका लागि हिँडे। लगातार वर्षा भइरहेकाले पूर्व–पश्चिम राजमार्गका विभिन्न ठाउँमा पहिरो गएको थियो। 

ती पहिरो छिचोल्दै अन्ततः शुनिल डडेल्धुराबाट दूर रहेको नवलपरासी असार १ गते बिहानीपख पुगे। ‘एकपटक पनि नभेटेको उनीलाई परिवारकाले मसँग पठाउने हुन् कि नाइँ, के पो हुने हो। यस्तै–यस्तै कुरा खेल्दै नवलपरासी पुगेको थिए’ शुनिल भन्छन्, ‘तर मेरो डर गलत साबित भयो। रियाको घर पुग्ने बित्तिकै मैले उनलाई पहिलोपटक देखे। फोटो र भिडिओमा देखे जस्तै सुन्दर थिइन् उनी।’

त्यहाँ पुगेपछि शुनिलसँग गएका आफन्त र साथीहरुले रियाका परिवारसँग कुराकानी अगाडि बढाए। र, टीकाटालो लगाएर सोही दिन रियालाई घरबाट बिदाई गर्ने परिवारले निर्णय गर्‍याे।

त्यसपछि रियालाई ल्याएर शुनिल र उनका साथी घर फर्के। घर पुग्दा रिया चाहीँ ढुक्क भइन्। उनले सोचे जस्तो शुनिलले अर्को बिहे गरेका नरहेछन्। र, फोनमा भनेजस्तै शुनिलका परिवार रहेछन्। असार १ गते घर भित्र्याएका रियासँग साइत जुराएर शुनिलले असार १२ गते हिन्दु परम्परा अनुसार बिहे गरे।

वैवाहिक बन्धनमा बाँधिएपछि अब उनीहरु दुवैको जागीर गर्ने योजना छ। शुनिल तामाङ भन्छन्, ‘मेलै सुखी राखौंला भनेर बाचा गरेको छुँ। उनले पनि पढेकी छिन्। दुवै जागीर गरेर बस्ने अथवा कुनै व्यापार गरेर आफ्नो र परिवारको भविष्यलाई सुनौलो बनाउने योजना बनाएका छौं।’

 

कमेन्ट लोड गर्नुस