सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिनगर–गौरीफन्टा नाकामा लालाबाला च्याँपेर भारत जानेको घुइँचो

२०७८ असार १७, ०२:२५ विन्दु चन्द

धनगढी : निराश हुँदै गौरीफन्टा नाकाबाट भारत गइरहेका विशन परियारले भने, ‘देशको अवस्था डामाडोल भएपछि लालाबालासहित घर खेत छोडेर भारत गइरहेका छौँ। यो सरकारलाई थोरै त लाज लाग्नु पर्ने हो।’ कैलालीको घोडाघोडी नगरपालिका घर भएका परियार रोजगारीका लागि भारत गइरहेका पहिलो पटक होइनन्।

विगत १४ वर्षदेखि भारतमा मजदुरी गर्दै आएका उनी कोरोना भाइरसको महामारी बढेपछि परिवारसहित घर फर्केका थिए। घरमा चुलो जलाउन मुस्किल भएपछि उनी फेरी भारततीर लागेका हुन्। उनी आफ्ना छोराछोरीलाई पनि भारतमै मजदुरी गरेर पढाइरहेका छन्। ‘गत वर्षको लकडाउनमा त धेरै दुख पायौँ। त्यस्तै होला भनेर दोस्रो लहरको कोरोनाको महामारी अगाडि नै स्वदेश फर्किएका थियौँ। तर पेट पाल्न फेरी भारत जानैपर्ने भयो,’ उनले भने। 

भारत पस्ने लस्करमा कैलालीकै राजु चौधरी पनि थिए। उनको गुनासो पनि फरक थिएन्। दशक बढी समय भारतमा मजदुरी गरेका चौधरीले भने, ‘देशमा सरकार टिकाउने र गिराउने खेल मात्रै भइरहेको छ। दुई छाक टार्न धौधौ हुने हाम्रो समस्या समाधान गर्नतर्फ कस्को ध्यान जान्थ्यो र? बाध्य भएर भारत गइरहेको छु।’ उनले कोरोना भाइरसको दोस्रो लहर नियन्त्रणका लागि नेपालमा पनि निषेधाज्ञा हुँदा झन समस्या भएको गुनासो चौधरीको छ।

दोस्रो लहरको कोरोना महामारीको सुरुवातसंगै स्वदेश फर्केकाहरु महामारीकैबीच रोजगारीका लागि पुनः भारततिर जान थालेका हुन् । मुलुकमा रोजगारीको व्यवस्था नभएका कारणले गुजाराको लागि फेरि भारततिरै जान परेको गुनासो उनीहरुको छ। झण्डै २८ लाख जनसङ्ख्या रहेको सुदूरपश्चिम प्रदेशका झन्डै ३५ प्रतिशत मान्छे रोजगारीको खोजीमा भारततिर जाने गरेका छन्।

कोरोना महामारी सुरु भएको बेला कोरोनाको त्रास र लकडाउनका कारणले धेरै नेपाली स्वदेश फर्केका थिए। कोरोना महामारी सुरु भएपछि गौरीफन्टा, गड्डाचौकी, झुलाघाट नाकाबाट स्वदेश फर्किनेको भीडभाड थियो। अवस्था थोरै सहज भएपछि फेरि उतै जानेको नाकामा भीडभाड थियो भने अहिले दोस्रो लहरको कोरोनाको प्रभाव घटेपछि पुनः भारत जानको संख्या बढेको हो। 
 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस