सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ६ सहित क्षेत्रीय सहरी विकासले साढे २९ किलोमिटर सडक कालोपत्र गर्दै

२०८२ असार ११, ०७:०६ कमल सावद

धनगढीः कैलाली र कञ्चनपुरका चार स्थानीय तहहरूमा साढे २९ किलोमिटर नयाँ सडक कालोपत्र गरिने भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका तथा कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिकामा २९ दशमलव ६९५ किलोमिटर सडक कालोपत्र हुने भएको हो।

क्षेत्रीय सहरी विकास आयोजना, धनगढीले चार स्थानीय तहका ३३ वटा सडक कालोपत्रका लागि बोलपत्रको सूचना सार्वजनिक गरेको हो। बुधवार सार्वजनिक भएको सूचनामा धनगढी उपमहानगरपालिकाका चार वटा सडकको छ दशमलव ४६५ किलोमिटर, गोदावरी नगरपालिकाका आठ वटा सडकको आठ दशमलव २३ किलोमिटर, भीमदत्त नगरपालिकाका १७ वटा सडकको आठ दशमलव १४ किलोमिटर र शुक्लाफाँटा नगरपालिकाका चार वटा सडकको छ दशमलव ८६ किलोमिटर कालोपत्र गर्न सम्झौताका लागि बोलपत्रको सूचना सार्वजनिक गरिएको हो। क्षेत्रीय सहरी विकासले फुटपाथ, नालीसहितका आधुनिक सडक निर्माण गर्ने छ।

धनगढीमा साढे ६ किलोमिटर सडक कालोपत्रको नयाँ ठेक्का हुँदै

एसीयाली विकास बैँक (एडीबी)को ऋण सहयोगमा क्षेत्रीय सहरी विकास मार्फत धनगढीमा साढे ६ किलोमिटर सडक कालोपत्रको नयाँ प्रक्रिया सुरु गरेको हो।

धनगढी उपमहानगरपालिकाको बजार क्षेत्रमा १० किलोमिटर सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेका बेला क्षेत्रीय सहरी विकासले ६ दशमलव ४६५ किलोमिटर सडक कालोपत्रका लागि बोलपत्रको सूचना सार्वजनिक गरेको छ। क्षेत्रीय सहरी विकास आयोजनाले धनगढी गाउँ हुँदै बेली सडकसम्मको तीन दशमलव ८३ किलोमिटर, शून्य दशमलव ८० किलोमिटरको पार्कमोड–उपमहानगरपालिका–राष्ट्र बैँक–ग्यालेक्सी स्कुल सडक, शून्य दशमलव ८४ किलोमिटरको पुरानो गोवर ग्याँस सडक र एक किलोमिटरको पुरानो हसनपुर–यूएन सडक कालोपत्रका लागि बोलपत्रको सूचना सार्वजनिक गरिएको छ। बुधवार ३० दिनको समय सीमासहितको बोलपत्रको सूचना सार्वजनिक भएको छ। धनगढी उपमहानगरपालिका क्षेत्रमा सहरी विकासले चार वटा सडक कालोपत्र गर्न बोलपत्रको सूचना सार्वजनिक गरेको हो।

गोदावरीमा आठ किलोमिटर कालोपत्र हुँदै

कैलालीको गोदावरी नगरपालिकामा आठ किलोमिटर सडक कालोपत्र हुने भएको छ। क्षेत्रीय सहरी विकास आयोजना, धनगढीका सूचना अधिकार पुष्प भट्टले गोदावरीमा आठ वटा सडक कालोपत्रका लागि ठेक्का सम्झौताको प्रक्रिया सुरु गरिएको बताए। शून्य दशमलव ९७ किलोमिटरको अत्तरिया चक्रपथ, शून्य दशमलव ३१ किलोमिटरको भट्ट किराना पसलदेखि फलटुँडे सडकसम्मको सडक, एक दशमलव १९ किलोमिटरको धनगढी–अत्तरिया ६ लेन सडक–गेटा सडक, एक दशमलव ७४ किलोमिटरको महेन्द्र राजमार्गदेखि चौकीडाँडा सडक, शून्य दशमलव ५७ किलोमिटरको विद्यालय रहेको क्षेत्रको सडक, एक दशमलव ५८ किलोमिटरको लालपुर–गौडी सडक, शुन्य दशमलव ४३ किलोमिटरको सालघाडी सडक र एक दशमलव ५४ किलोमिटरको शान्ति मार्ग सडक कालोपत्र गर्न सम्झौताको प्रक्रिया सुरु भएको हो। गोदावरी नगरपालिका क्षेत्रका आठ वटा सडकको ८ दशमलव २३ किलोमिटर कालोपत्रका लागि ठेक्का सम्झौता गर्न सूचना सार्वजनिक गरिएको छ।

 

भीमदत्त नगरपालिकामा १७ वटा सडक कालोपत्र हुँदै

कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रमा क्षेत्रीय सहरी विकास मार्फत १७ वटा सडक कालोपत्र हुने भएका छन्। क्षेत्रीय सहरी विकासले सार्वजनिक गरेको सूचनामा १७ वटा सडक समावेश गरिएका छन्। एक दशमलव ३३ किलोमिटरदेखि शून्य दशमलव ११ किलोमिटरसम्मका १७ वटा सडक कालोपत्र गरिने भएको हो।

भीमदत्त नगरपालिका क्षेत्रमा जम्मा आठ दशमलव १४ किलोमिटर सडक कालोपत्र गरिने भएको क्षेत्रीय सहरी विकास, धनगढीले बताएको छ। रेडक्रस सडक, कवड हल सडक, विमानस्थल सडक, होटेल चेतन–भगतपुर सडक, पुष्पलाल चोक–विश्वविद्यालय सडक, वनगाउँ–भगवती टोल सडक, भगतपुर–नहर सडक, भाँसी–महेन्द्र राजमार्ग सडक, मामा भान्जा–जतगराम सडक, सुक्का साल–विद्यालय सडक, विद्यानगर–कटान सडक, विष्णु टोल–कटान सडक कालोपत्र हुँदैछन्। यस्तै, द्वारिका मार्ग, भगतपुर–आदर्श टोल सडक र सिद्ध विनायक मार्ग क्षेत्रीय सहरी विकास मार्फत कालोपत्र हुँदैछन्।

शुक्लाफाँटामा ७ किलोमिटर कालोपत्र हुने

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा झण्डै सात किलोमिटर सडक कालोपत्र हुने भएको छ। शुक्लाफाँटा नगरपालिकामा छ दशमलव ८६ किलोमिटर सडक क्षेत्रीय सहरी विकासमार्फत कालोपत्र हुने भएको हो। शुक्लाफाँटामा चार वटा सडक कालोपत्र गरिने भएको छ।

एक दशमलव ७८ किलोमिटरको झलारी–पिपलाडी सडक, एक दशमलव १० किलोमिटरको नगरपालिका–कालापानी सडक, तीन दशमलव ११ किलोमिटरको झलारी–फूलेली सडक र शून्य दशमलव ८७ किलोमिटरको कालिका स्कुलदेखि दक्षिणी क्षेत्रको सडक कालोपत्र हुने भएको हो।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस