सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा राष्ट्रपति चुरे कार्यक्रम नदी कटान नियन्त्रण र वृक्षारोपणमा केन्द्रित

२०७८ असार १७, ०८:१० रोशन भट्ट

धनगढीः सुदूरपश्चिममा लागु भएको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम नदी कटान नियन्त्रण र वृक्षारोपणमा केन्द्रित भएको छ। आर्थिक वर्ष २०७७/७८ मा २७ करोड बजेट कार्यान्वयन गर्ने जिम्मेवारी पाएको कार्यक्रमले नदी कटान नियन्त्रण र वृक्षारोपणमा केन्द्रित भएर काम गरिरहेको हो।

कैलाली, कञ्चनपुर, डडेल्धुरा र डोटी जिल्लामा लागु भएको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रमले चालु आर्थिक वर्षको हालसम्म ६० प्रतिशत प्रगती गरेको दाबी गरेको छ। प्रदेशका चार जिल्लाका विभिन्न स्थानमा नदी नियन्त्रण, वृक्षारोपण, पानी सञ्चित पोखरी निर्माण, बिरुवा उत्पादन लगायतको काम गरेको छ।

विगतका वर्षहरुमा प्रभावकारी काम गर्न नसकेको उक्त कार्यक्रमले यस वर्ष भने असारमसान्त सम्म आफ्नो प्रगती अझै बढ्ने राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम कार्यान्वयन इकाई लम्कीका प्रमुख भरत भट्टले बताए। ‘नदी प्रणालीलाई वेस बनाएर काम गरिरहेका छौं,’ उनले भने। 

२०७१ सालमा समिति गठन भएपनि सुदूरपश्चिम प्रदेशका लागि काम गर्ने गरि २०७६ सालको भदौमा मात्रै कार्यालय स्थापना भएको थियो। सुरुवातमा कैलाली, कञ्चनपुर र डडेल्धुरामा काम सुरु गरेको उक्त कार्यक्रमले अहिले डोटीमा पनि आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ।

चुरे क्षेत्र संरक्षण गर्नका लागि वृक्षारोपण गर्ने, पानीको रिचार्ज गर्नका लागि भावर क्षेत्रमा पोखरी निर्माण गर्ने, नदी कटानबाट मानव वस्तीलाई जोगाउनका लागि विभिन्न नदी तथा खोलाहरुमा तटबन्धन गर्ने लगायतका योजना रहेको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेलले बताए।

‘चुरेमा बिरुवा उत्पादन गरेर पहिरो जानबाट रोक्ने हाम्रो प्रमुख काम हो,’ उनले भने, ‘नदी कटान रोक्ने र भवर क्षेत्रमा पानी पोखरी निर्माण गर्ने काम पनि भइरहेको छ।’ अहिले सुदूरपश्चिमको महाकाली, खुटिया, मोहना लगायतका १० वटा नदी नियन्त्रणको काम भइरहेको छ।

चुरे क्षेत्र संरक्षणको गुरुयोजना अन्तरगत बढी समस्या भएको स्थानमा सुरुवाती चरणमा तटबन्धनको काम भइरहेको कार्यान्वयन इकाईले जनाएको छ। तर यसको प्रभावकारितामा भने सधैँ प्रश्न उठ्ने गरेको छ। 

नदी मानव वस्तीमा पस्ने, चुरे क्षेत्रमा पहिरो जाने लगायत पर्यावरण संरक्षणमा देखिएका समस्या समाधान हुन सकेका छैनन्। तर राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम कार्यान्वयन इकाई लम्कीका प्रमुख भट्टले भने पछिल्लो पटक प्रदेशमा प्रभावकारिता राम्रो देखिएको दाबी गरे।

चालू वर्षमा १० वटा नदी नियन्त्रण तथा ७० हेक्टर क्षेत्रफलमा वृक्षारोपण लगायतको काम समेत भएको उनले बताए। राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रमलाई अझै प्रभावकारी रुपमा कार्यान्वयन गर्न सके वातावरण संरक्षण तथा प्राकृतिक प्रकोपलाई कम गर्न सकिने विश्वास विज्ञहरुको छ। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस