सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी बसन्त टोलवासीको निन्द्रा हरामः भन्छन् ‘राति सुत्न पाइन्न, दिउँसो सुतेर निन्द्रा पूरा गर्छौ'

२०७८ असार १६, ०६:१३ विन्दु चन्द

धनगढीः ‘राति सुत्न नसकेर दिउँसो सुत्नुपर्छ। रातभर जाग्राम बस्नुपरिरहेको छ। यो वर्षौदेखिको समस्या हो’ यो भनाई हो धनगढी उपमहानगरपालिका वडा नम्बर १ वसन्त टोलका सुरत चन्दको। 

बुधबार दिउँसो उक्त टोल पुग्दा उनी सुतेका थिए। उनी सधैँ दिउँसो नै सुत्नुपरिरहेको बताउँछन्। हरेक दिन राति विद्युत कटौति हुँदा रातभर ननिदाएर बसिरहनुपर्ने समस्या भएको उनले बताएका छन्। ‘दैनिक राति तालिका मिलाएर नै लाइन काटेको देखिन्छ। अर्को टोलमा त कहिँ पनि लाइन काटिएको देखिन्न। यो टोलको केही घरहरुमा मात्रै लाइन किन काटिन्छ’ उनले प्रश्न गरे। 

उनले आफुहरुमाथि विभेद गरिएको आरोप लागाएका छन्। वर्षौदेखि एउटै समय राति ९ बजे सुत्ने बेलामा मात्रै बिजुली जाने उनले बताए। प्राधिकरणले नियतबस नै लाइन काट्ने गरेको उनी आरोप लगाउनछन्। फोन गर्दा पनि फोनै नउठाइदिने अर्थात फोन उठाएर होल्डमा राखिदिने गरेको समेत चन्दको आरोप लगाएका छन्। 

‘हामी यहाँ बसेको वर्षौ भइसकेको छ। यो समस्या वर्षौ देखिको हो। गर्मीको समयमा त घर भित्र बस्नै सकिन्न’ अर्की स्थानीय हेमा देवी चन्दले भनीन्, ‘बाहिर गए मच्छरले टोक्छ। यसले हम्रो स्वास्थ्यमा समेत समस्या आइरहेको छ।’ रातभर कपडाले बनाएको हातेपंखा चलाएर बच्चाहरुलाई सुताउनु परेको उनले सुनाइन्।  

उक्त टोलको २० वटा घरहरुमा रातिको समयमा बत्ती बल्दैन। दिनमा पनि बत्ती आउने जाने गरेको टोलवासीले बताएका छन्। 

अनियमित बिजुली कटौतीको मात्रै नभइ त्यहाँ पोलहरुको पनि समस्या छ। घर छेउमा रहेका पोलहरु तारको भारले बाङगिएका छन्। जसले दुर्घटनाको जोखिम समेत बढाएको छ। हेमाकै घरक छेउमा रहेका ती पोलहरु हावाहुरी वा भारी वर्षा भएमा ढल्न सक्ने सम्भावना छ। 

पोल मर्मत र नियमित बत्तीका लागि प्राधिकरण धनगढीमा उनीहरुले दर्जनौ निवेदन पनि दिसकेका छन् तर उक्त समस्याको सामाधान भने कहिल्यै नभएको उनीहरुको आरोप छ।

 तर नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले केही दिन यतादेखि मात्रै गर्मी बढेपछि त्यहाँ समस्या आइरहेको बताए।

‘गर्मी बढेपछि विभिन्न उपकरण चल्ने भएकाले लोड बढेको छ’ उनले भने, ‘त्यसैले विद्युत प्रशारण लाइनमा बेलाबेला समस्या आउने गरेको छ। मर्मतका क्रममा विद्युत सेवा अवरुद्ध हुने गरेको छ।’ समस्या हल गर्न निरन्तर रुपमा काम गरिरहेको उनले दावी गरेका छन्। 


 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस