सुदूर नेपाललाई विश्वसँग जोड्दै

अहिलेसम्म विद्युत विस्तार नभएको कैलालीको यो गाउँ, जहाँका स्थानीय आफैले तार तानेर बाले बत्ती

२०७८ असार १६, ०३:०४ विन्दु चन्द

धनगढी: सुदूरपश्चिमको स्थायी राजधानी गोदावरीका स्थानीय नै विद्युत सेवाबाट बञ्चित छन्। नगरपालिकाको वडा नम्बर ५ स्थित भैरव टोलका स्थानीय आजसम्म विद्युत विस्तारका लागि गाडिएका पोल हेरेर चित्त बुझाइरहेका छन्।

स्थानीय तह र विद्युत प्राधिकरणसँग पटक–पटक पोलमा तार बिस्तार गर्न आग्रह गर्दा पनि वास्ता नगरेको स्थानीय बिक्रमबहादुर सिंहले बताए। ‘हामी यहाँ बसेको ८ वर्ष भन्दा बढी भइसकेको छ। अहिलेसम्म गाउँमा बिजुली आएको छैन’ उनले भने।  उनले आफूहरुले नै तार किनेर ३/४ सय मिटर टाढा रहेको पोलबाट  बिजुली ल्याएको बताए। 

‘आफ्नै खर्चले टाढाबाट तार जोडेका छाै‌। तर त्यसमा पनि कहिले बत्ती आउँछ कहिले आउँदैन्’ उनी भन्छन्, ‘त्यो बिजुलीले पंखा र मोटर पनि चल्दैन। झन गर्मीको समयमा त एकदमै समस्या भइरहेको छ।’ धेरै पटक स्थानीय तह र प्राधिकरणसँग आग्रह गर्दा पनि वेवास्ता गरेको उनको गुनासो छ। 

उक्त वडामा तार नतानिएका १५ वटा पोल रहेका छन्। ती पोल ठड्याएको एक वर्ष भन्दा बढी भइसकेको छ। तर तार विछ्याउन विद्युत प्राधिकरणले वेवास्ता गर्दै आएको छ। 

तार विछ्याउन पा्रधिकरणलाई आग्रह गर्दा विभिन्न वहाना बनाएर पन्छिने गरेको गोदावरी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष कर्णसिंह बोहराले बताए। ‘मेरो वडामा विद्युत विस्तारका लागि गाडिएका १५ पोल छन्। प्राधिकरणलाई त्यस विषयमा कुरा गर्दा तार छैन तार आएपछि जोडौँला भन्छ, त्यो तार कहिले आउँछ थाहा छैन्’ उनले आक्रोस पोखे। 

यता विद्युत प्राधिकरण धनगढीले भने ठड्याएका पोलहरुमा तत्काल तार विस्तार गर्न बजेट अभाव रहेको जनाएको छ। ग्रामीण विद्युतिय उपकरण कार्याक्रमका लागि गत वर्ष साढे १२ करोड बजेट विनियोजन गरिएको थियो। तर यो वर्ष भने कोरोनाका कारणले गर्दा विनियोजित बजेट १ करोड १५ लाखमा झरेको प्राधिकरणले जनाएको छ। 

बजेट कम हुनुकै कारण तत्काल सो समस्या सामाधान गर्न नसकिने नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले बताए। ‘गोदावरीको मात्रै नभएर धनगढी विद्युत प्राधिकरण अन्तरगत पर्ने उपमहानगरपालिका, नगरपालिका र सबै वडाहरुमा समस्या छ’ उनले भने। पोल र तारहरुको माग धेरै भएकाले सो बजेटले धन्न नसक्ने उनको भनाई छ।

गत वर्ष विद्युत विस्तारका लागि पोल गाडिएको भएपनि यस वर्ष कम बजेटका कारण सम्भव नभएको उनले बताए। ‘पोल गाडिएको छ, तार छैन। बजेट कम भएकै कारणले यो समस्या तत्काल सम्बोधन गर्न सक्दैनौँ। आउँदो बजेट राम्रो आयो भने समस्या सामाधान हुनसक्छ’ उनले भने।  


 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस