सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानव बेचबिखनविरुद्ध एकमहिने अभियान

२०७८ असार १५, ०७:१९ रासस

काठमाण्डौँः मानव बेचविखनविरुद्ध स्कलर्स स्पेसले एक महिने अभियान थालेको छ। बेचविखन रोक्न तथा बेचविखनमा परेकाहरुलाई न्याय दिने उद्देश्यका साथ सो अभियानको शुरुआत गरिएको हो।

भर्चुअल माध्यमबाट आज एक कार्यक्रमको आयोजना गरी सो अभियान शुरु गरिएको स्कलर्स स्पेसका मुख्य कार्यकारी अधिकृत रोहित सेन्चुरी सुनारले जानकारी दिए।

छलफलमा देशभरीबाट एक सय जनाभन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरो, माइती नेपाल, सिस्टरहुड नेपाल र आफन्त नेपालसँगको सहकार्यमा सो अभियान थालिएको हो।

मानव बेचबिखन न्यूनीकरण गर्न युवाको विशेष भूमिका हुने भन्दै उनीहरुलाई सचेत गराउन जरुरी रहेको सुनारले बताए। छलफल र तालिमका माध्यमबाट युवामार्फत समाजमा सकारात्मक सन्देश जाने उनको भनाइ छ।

सचेतना अभियानलाई फरक र प्रभावकारी ढङ्गबाट गर्न खोजिएको स्कलर्स स्पेसका मुख्य बजार अधिकृत धिरज पौडेलले जानकारी दिए।

एक महिने अभियानका क्रममा मानव बेचबिखन विरुद्ध जागरुकता फैलाउनका लागि समाजमा उल्लेख्य भूमिका निर्वाह गरेका व्यक्तिहरुसित अन्तरक्रिया तथा समूहमा छलफल गरिने उनले बताए।

समाजलाई केही दिनुपर्छ भन्ने उद्देश्यका साथ युवाहरुको समूहले अभियान थालेका हुन्। तालिममा सहभागीबाट सङ्कलन भएको रकम आगामी साउन १५ गते अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसका दिन माईती नेपाललाई हस्तान्तरण गरिने उनले जानकारी दिए।

कार्यक्रममा सहभागी माइती नेपालकी सजनी जोशीले स्कलर्स स्पेसको अभियानमा माइती नेपालको साथ रहने र मानव बेचविखन अन्त्य गर्न सबै क्षेत्रको साथ र सहयोगको आवश्यकता पर्ने उनले बताए। 

 

कमेन्ट लोड गर्नुस