सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्वाला संग्रौलाले किर्ते प्रमाणपत्र बनाएको खुलासा, जन्मदर्ता र अविवाहिताको प्रमाणपत्र नै नक्कली

२०७८ असार १५, ०३:०७ खबर संवाददाता

काठमाडौं: प्रहरी हिरासतमा रहेकी सामाजिक अभियन्ता ज्वाला संग्रौला भनिने टीकाले किर्ते गरेर प्रमाणपत्र बनाएको खुल्न आएको छ। प्रहरीले संग्रौलाबारे सत्यतथ्य विवरण उपलब्ध गराइदिन भन्दै पाँचथरको हिलिहाङ गाउँपालिकालाई पत्र पठाएको थियो।

विवरण उपलब्ध गराउने क्रममा हिलिहाङ गाउँपालिका वडा–५ को कार्यालयले किर्ते गरेर कागजात बनाएको जनाएको छ। वडाअध्यक्ष लक्ष्मीप्रसाद सुहाङले ज्वालाले लिएको अविवाहिताको प्रमाणित सिफारिस र जन्मदर्ताको प्रमाणपत्र किर्ते गरेर लिएको बताए । ‘उनले हुँदै नभएको सचिवको हस्ताक्षर सहितको सिफारिस लिएको देखिएको छ। स्थानीय पञ्जिकाधिकारी श्यामबाबु रावल भन्ने नामको विवरण रहेछ’, उनले भने, ‘हाम्रोमा त्यो नामको सचिव अहिलेसम्म नै छैन।’ 

महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले १३ गते पत्र पठाउँदै उनको विवरण उपलब्ध गराइदिन अनुरोध गरेको थियो। ज्वालाले २०७४ असार ५ गते साविक सुभाङ गाविसको कार्यालयको लेटरप्याड प्रयोग गरेर अविवाहितको प्रमाणित सिफारिस र जन्मदर्ताको प्रमाणपत्र लिएकी थिइन्। जबकि २०७३ चैत ३ गतेदेखि नै संघीय संरचना लागू हुँदै साविक सुभाङ गाविसका वडा नम्बर एकदेखि वडा नम्बर ७ सम्मका सबै वडा हिलिहाङ गाउँपालिकाको वडा नम्बर ५ मा गाभिएका छन।

उनले हाल अस्तित्वमा नै नरहेको गाविस र हुँदै नभएको वडासचिवको हस्ताक्षरसहितको विवरण बनाएको देखिएको वडा सचिव नारायण प्रसाद ओझाले जानकारी दिए। सोही व्यहोरा सहितको विवरण प्रहरीलाई पठाइएको सचिव ओझाले बताएका छन्। उनको हजुरबुबादेखि बुबासम्म लामो समय त्यही गाउँमा बसेका थिए। त्यसपछि उनीहरू २०५२÷५३ सालतिर बसाइँ सरेर अर्को ठाउँ गएको वडाअध्यक्ष सुहाङले जानकारी दिए।

सामाजिक अभियन्ताका रूपमा चिनिएकी ज्वालाले विदेशबाट पैसा उठाउँदै नेपालमा सहयोग गर्दै आएकी थिइन्। केही वर्ष जापान बसेर नेपाल फर्किएकी उनी नेपालमा पनि विभिन्न अभियानसँग जोडिएकी छन्। युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले आफूमाथि कुटपिट गरेको आरोप लगाउँदै ज्वालाविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्। महानगरीय वृत्त गौशालामा नै आफूमाथि कुटपिट भएको भन्दै घिमिरेले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी हुन्।

उजुरीपछि प्रहरीले असार ६ गते ज्वालासहित तीन जनालाई पक्राउ गरेको थियो।  पक्राउ परेका ज्वालामाथि प्रहरीले अभद्र व्यवहार मुद्दामा छानबिन गरिरहेको छ। छानबिनकै क्रममा प्रहरीले उनको जन्मदर्ता र अविवाहिताको प्रमाणपत्रबारे वडा कार्यालयसँग विवरण माग गरेको थियो।

कमेन्ट लोड गर्नुस