सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा जनप्रतिनिधिद्वारा पत्रकारमाथि दुर्व्यवहार, कारवाही गर्न महासंघको माग

२०७८ असार १०, ०५:१३ खबर संवाददाता

डोटी: डोटीको पूर्वी चौकी गाउँपालिकामा रिपोर्टिङ्ग र प्रशासनिक कार्यका लागि पुगेका पत्रकारहरुमाथि जनप्रतिनिधिहरुले हातपातसहित दुर्व्यवहार गरेका छन्।

नजर नेपाली साप्ताहिक डोटीका सम्पादक झलक पाली, नेपाल टेलिभिजन डोटी संवाददाता सुवास नेपाली र त्रिवेणी एफएममा कार्यरत पत्रकार प्रेम नेपालीमाथि दुर्व्यवहार भएको पीडित पत्रकारहरुले बताएका छन्।

गाउँपालिकाले आइसोलेसन वार्ड संचालनमा ल्याएको, भिडियो एक्सरे सेवा सुरु गरेको, दलित लक्षित कार्यक्रम अन्तरगत राहत वितरण लगायत क्रियाकलापहरुका विषयमा रिपोटिङ्ग गर्न र गाउँपालिकाबाट भुक्तानी गर्न बाकी रहेका विज्ञापन तथा सूचनाहरुको रकम भुक्तानी लिन भन्दै पूर्वी चौकी पुगेका बेला बिनाकारण आफुहरुमाथि हातपात तथा अभद्र व्यवहार भएको पत्रकार झलक पालीले बताए।

सो गाउँपालिकाको वडा नम्बर १ का अध्यक्ष अंकबहादुर खड्का, वडा नं. ४ का अध्यक्ष नवराज खड्का, वडा नं. ४ का स्थानीय प्रेमबहादुर खड्का र वडा नं. ५ का शंकरबहादुर कठायतले कार्यालय परिसरमै अभद्र व्यवहार गरेको उनले बताए। 

घटनाको विरोध गर्दै पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति, जिल्ला शाखा डोटी, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर डोटीले प्रेस विज्ञप्ति जारी गरेको छ। 

प्रदेश समितिका महासचिव रामसिंह ठगुन्नाले घटनाको सत्यतथ्य छानवीन गरी दोषीमाथि कारवाहीको माग गरेका छन्। यस्तै पत्रकार महासंघ डोटीका सचिव पवन महराले पनि पत्रकारलाई निर्भिक रुपमा काम गर्ने वातावरण बनाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासनसमक्ष माग गरेका छन्।

कमेन्ट लोड गर्नुस