सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको जाई–जाली सडक निर्माणको काम ८ महिनादेखि अलपत्र

२०७८ असार ९, ०८:४५ नारायण अवस्थी

धनगढी: धनगढीको जाई–जाली सडक निर्माणको कार्य निर्माण कम्पनीले अलपत्र छाडेको स्थानीयले आरोप लगाएका छन्। एक वर्षदेखि निर्माण हुन लागेको उक्त सडकमा निर्माण कम्पनीले ८ महिनादेखि कुनै काम नगरेको स्थानीयको गुनासो छ। 

सडकमा माटो भरान गरेर छोड्दा अहिले हिलो र खाल्डाखुल्डीको कारण हिँड्डुलमा समस्या हुनुका साथै लडेर चोटपटक समेत लाग्ने गरेको स्थानीयले बताएका छन्। 

तर त्यो सडक निर्माणको ठेक्का पाएको तेडी मणिलेक जेभीका सञ्चालकले भने दुई तीन दिनभित्र पुरै सडक ग्राबेल गर्ने बताएका छन्। 

धनगढी उपमहानगरपालिका वडा नम्बर–६ जाई–जाली सडक निर्माणका लागि धनगढी उपमहानगरपालिकाले गत वर्षको असार १६ गते तेडी मणिलेक जेभी निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो।  

त्यो सडक निर्माणको लागत २ करोड ८७ लाख ५५ हजार ९ सय ७७ रहेको उपमहानगरपालिकाले जनाएको छ। बहुवर्षीय ठेक्का अन्तरगतको सो सडकको काम २०७९ असार १५ गतेभित्र सक्नुपर्ने भएपनि निर्माण कम्पनीले ८ महिनादेखि सडकमा कुनै काम नगरेको स्थानीयबासीले आरोप छ। 

अहिले सडक हिलाम्मे भएको कारण आवतजावतमा निक्कै समस्या भएको जालीका स्थानीय गणेश श्रेष्ठको गुनासो छ। उनले भने, “सडक निर्माण नगरिँदा स्थानीयलाई निकै समस्या भएको छ। निर्माण व्यवसायीले लामो समयदेखि काम गरेको छैन। पानी पर्दा सडक हिलाम्मे भएको छ।”

धनगढी उपमहानगरपालिका वडा नम्बर–६ को मुख्य सडक समेत रहेको जाई–जाली सडक शेहरी, मुर्कट्टी, धनचौरी र जालीका स्थानीयले धनगढी बजार आवतजावत गर्न प्रयोग गर्ने सबैभन्दा छोटो सडक हो। तर  सडक निर्माण गर्ने नाममा भएको कालोपत्रे समेत भत्काउने कार्यले दुःख दिने काम भएको स्थानीयबासीको गुनासो छ। 

अर्का स्थानीय रामप्रसाद चौधरीले सडक निर्माण कार्य नहुँदा दैनिक दुर्घटना हुने गरेको बताए। उनले भने, “हिलोका कारण यो सडकमा दिनहुँ दुर्घटना हुने गरेको छ। बच्चा बोकेका महिला साइकलमा आउने गरेका छन् अनि लडेर चोट लाग्ने गरेको छ। मलाई पनि एकपटक चोट लागेको छ।”

 

ठेक्का सम्झौता भएको सुरुका केहिदिन नाली निर्माण लगायतका काम गरेको निर्माण कम्पनीले त्यसपछि भने सडक निर्माणको काम लामो समयसम्म नगरेको स्थानीयले बताएका छन्। अहिले फोन गर्दा समेत निर्माण व्यवसायीले फोन नउठाउने गरेको स्थानीयको भनाई छ।

निर्माण कम्पनीले भने कोभिड र निषेधाज्ञाका कारण काम गर्न नपाएको दाबी गर्छ। निर्माण कम्पनीका सञ्चालक सिद्धबहादुर ओलीले कम्पनीमा रहेका कामदार लगायत सबैलाई कोभिड संक्रमण भएकोले काम गर्न नसकिएको बताउँछन्।  “उनीहरुलाई निको भएका आज पन्ध्र÷सोह्र दिन भएको छ। गोदावरीको खुटिया क्षेत्रमा नदीजन्य पदार्थ संंकलन गरेर राखिएकोले दुई÷तीन दिन भित्रै पुरै सडक ग्राभेल गर्ने छौँ।” ओलीले भने। 

जाई–जाली सडकको लम्बाई १ हजार ८ सय २३ मिटर रहेको भएपनि १ हजार ६ सय मिटरमा मात्रै नाली निर्माण गरिने सम्झौता गरिएको उपमहानगरपालिकाले जनाएको छ। 

निर्माण कम्पनीले भने माटो भरानको काम र नाली निर्माणको काम सक्किएको बताएको छ। यसपछि सडकमा सब–बेस, बेस र २ सेमी मोटाइको प्रिमिक्स कालोपत्रे गरिन बातइएको छ। 

स्थानीयले भने अबिलम्ब सडक निर्माण गर्न निर्माण कम्पनीलाई उपमहानगरपालिकाले ताकेता गर्नुपर्ने माग राखेका छन्। अन्यथा उपमहानगरपालिका र निर्माण कम्पनीका विरुद्ध विरोध र संघर्ष गरिने स्थानीयले चेतावनी दिएका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस