सुदूर नेपाललाई विश्वसँग जोड्दै

संक्रमित मृतकको शव व्यवस्थापनमा खटिएको भवानीदल गणः २ सय बढी शव व्यवस्थापन, तर छोएन कोरोनाले (भिडिओसहित)

२०७८ असार ९, ०८:२४ विन्दु चन्द

धनगढी: विगत एक वर्षदेखि नेपाली सेनाको टोली सुदूरपश्चिममा पनि कोरोना संक्रमित मृतकको शव व्यवस्थापनमा खटिएको छ। 

कैलालीको अत्तरियास्थित तेघरीमा रहेको भवानीदल गणबाट नेपाली सेनाको टोली संक्रमित मृतकको शव व्यवस्थापनमा खटिएको हो। सरकारले दिएको जिम्मेवारी अनुसार सेनाको टोली शव व्यवस्थापनमा जुटेको हो। 

जिल्लामा २०७७ जेठ ३१ गते काेरोना भाइरस संक्रमणबाट मृत्यु भएकाकाे पहिलाे शव व्यवस्थापन गरेकाे  थियो। नेपाली सेनाको टोलीले उक्त शवको व्यस्थापन गरेको थियो। त्यहि दिनदेखि अहिलेसम्म नेपाली सेनाको टोलीले संक्रमणबाट मृत्यु हुनेहरुको शव व्यवस्थापन गर्दै आएको छ। 

भवानी दल गणले शव व्यवस्थापनका लागि ५ वटा सैनिक टोली खटाएको छ। जसमा ४ पुरुषको र १ टोली महिलाको छ। उनीहरुले हालसम्म २१० शव व्यवस्थापन गरिसकेका छन्। 

भवानीदल गणका सह–सेनानी नवल सिंह रोकायाको कमाण्डमा शव व्यवस्थापनका लागि ४ टोलीलाई जनालाई खटाइएको छ। भने, उप–सेनानी शशी खड्काको कमाण्डमा ६ जना महिला सैनीकको टोली खटाइएको छ। 

शव व्यवस्थापनका लागि नेपाली सेनाका २५ जनालाई तयारी अवस्थामा राखिएको भवानीदल गणका प्रमुख सेनानी विकास केसीले बताए। ‘हामीले शव व्यवस्थापनका लागि २५ जना सैनिकलाई तयारी अवसमा राखेका थियौँ’ उनले भने, ‘ केही दिनदेखि मृत्युदर कम भएपछि अहिले हामीसँग ३ वटा मात्रै टोली तयार छ। बीचमा संक्रमणको अवस्था भयावह बनेपछि हामीले महिला र पुरुष गरी ५ टोली तयारी अवस्थामा राखेका थियौँ। 

यस्तो महामारीको समयमा सरकारले दिएको जिम्मेवारी पूर्णरुपमा गर्न पाउँदा गर्व महशुस भएको शव व्यवस्थापनमा खटिएका सह–सेनानी नवल सिंह रोकायाले बताए। 

‘हामी कडा रुपमा सुरक्षाका मापदण्ड अपनाएर शव व्यवस्थापनमा जुटेका छौँ। सरकारले दिएको जिम्मेवारी पूर्णरुपमा कार्यान्वयन गरिरहेका छाैँ’ उनी भन्छन्, ‘यो भयावह स्थितिमा यसरी नागरिक र राष्ट्रकै सहयोग र हितका लागि काम गर्न पाउँदा निक्कै गर्व लागेको छ।’ 

एकैदिन १८ जनाको पनि शव व्यवस्थापन गरेको बताउँदै उनले घर परिवारसँग कुरा गर्ने समेत फुर्सद नपाइएको बताए। त्यो बेला ४/४ टोलीलाई शव व्यवस्थापनका लागि खटाइएको  सह–सेनानी नवल सिंह रोकायाले बताए। 

शव व्यवस्थापनमा खटिएको सैनिक टोलीलाई संक्रमणले किन छोएन ? 

त्यस्तो भयावह परिस्थितीमा पनि शव व्यवस्थापनमा खटिएको सैनिक टोलीलाई कोरोना भाइसको संक्रमणले भने छुन सकेन। सह-सेनानी रोकाया भन्छन, ‘हामीले यस्तो परिस्थितिमा काम गर्यौँ तर हाम्रो टोली कसैलाई पनि अहिलेसम्म संक्रमण भएको छैन।’ 

उक्त टोलीले स्वास्थ्य सुरक्षाका मापदण्डको कडा रुपले पालना गरिरहेको हुन्छ। १ टोलीलाई कम्तीमा पनि १५ दिनसम्मका लागि शव व्यवस्थापनमा खटाइन्छ। सो समयमा शव व्यवस्थापन गरिसकेको टोलीलाई क्वारेन्टिनमा राख्ने गरिएको छ। र, स्वास्थ्य सम्बन्धी तालीम पनि दिइन्छ। 

शव व्यवस्थापन गरिसकेको टोलीले १५ दिनसम्म क्वारेन्टिन बस्नुपर्ने हुन्छ। र सो समयमा अर्को टोलीलाई खटाइन्छ। ‘हामीसँग महिला सैनिकको टोली पनि छ’ सह–सेनानी नवल सिंह रोकायाले भने, ‘बालबालिका वा महिला संक्रमितको मृत्यु भयो भने महिला सैनिक टोलीले शव व्यवस्थापन गर्छ।’

संक्रमणबाट जोगिनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड नै लागु गर्नुपर्ने रोकाया बताउँछन्। उनले भने, अहिलेसम शव व्यवस्थापनको टोली स्वास्थ्य सुरक्षाका मापण्ड अपनाएरै कोरोनासँग जुधेको छ र जोगिएको पनि छ। 

मास्क, ग्लोब्स, पीपीई, फेस सिल्ड, सेनिटाइजर लगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएरै जोगिएको उनको भनाई छ। उनले कोरोनासँग लड्न र कोरोनाबाट बच्नका लागि सरकारले दिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबैलाई सुझाव समेत दिएका छन्। 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस