सुदूरपश्चिम सरकारका योजना कमिसनमा बिक्री, मुख्यमन्त्री भट्टका स्वकीय सचिवले डेढ लाख लिएको आरोप
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका योजनाहरु कमिसनमा बिक्री गरिएको आरोप लागेको छ।
प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव प्रेम कुवँरले कमिसनमा योजना बिक्री गर्ने गरेको आरोप लागेको हो।
डोटीका जगन्नाथ बलायरले शिखरनगरपालिकाको वडा नम्बर ११ बोगरा खोलामा तटबन्धका लागि योजना माग गर्दा स्वकीय सचिव कुवँर(प्रख्यात)ले ५० हजार र शिखर नगरपालिका वडा नम्बर ११ का माओवादी केन्द्रका अध्यक्ष रमेश जोशी सैपालले ३० हजार रुपैँया कमिसन लिएको भन्दै समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। उनले योजना माग गर्दा जम्मा एक लाख ५० हजार रकम खर्च भएको बताएका छन्।
१५/२० लाखको योजना बजेटमा समावेस गरिदिने र त्यसका लागि मुख्यमन्त्रीसम्म कमिसन दिनुपर्ने भन्दै स्वकीय सचिव प्रख्यातले रकम माग गरेको उनको दाबी छ। पैसा दिएको भएपछि योजना भने नपाएको बलायरले बताएका छन्।
उनले अन्य थुप्रै योजनामा समेत मुख्यमन्त्री कार्यालयबाट कमिसन लिनेगरेकोे आरोप लगाएका छन्। अब सबै योजनाको कमिसनका बारेमा खुलाउने उनले चेतावनी दिएका छन्।
उक्त विषयमा दिनेशखबरसँग कुरा गर्दै उनले भने, ‘तटबन्दको योजना माग्दा उहाँहरुले पैसा माग्नु भयो। केही खर्च गरेर जमिन जोगिन्छ भन्ने सोचेर पैसा दिएको थिए। १५ देखि २० लाखको योजना हाल्छु भनेका थिए तर अहिले ५ लाखको योजना हालेको सुनेको छु। फोन गर्दा उहाँहरुले फोन उठाउन छोड्नुभएको छ।’
उक्त विषयमा बुझ्न दिनेशखबरले पटकपटक मुख्यमन्त्रीका स्वकीय सचिव प्रख्यातलाई फोन गरेको थियो। तर उनको फोन उठेन।