सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको एक खेल मैदान निर्माणमा विवाद, वडा कार्यालयमा तालाबन्दी

फाइल फोटो
फाइल फोटो
२०७८ असार ७, ०९:०१ रासस

डोटी: जिल्लाको पूर्वीचौकी गाउँपालिका–५ काडामाण्डौको वडा कार्यालयमा तालाबन्दी गरिएको छ। 

खेल मैदान निर्माणमा एकलौटी उपभोक्ता समिति बनाएर अनुपयुक्त ठाउँमा निर्माण गर्न लागेको भन्दै स्थानीयवासीले ताला बन्दी गरेका हुन्। गाउँपालिकास्तरीय खेल मैदान निर्माणका लागि ३० लाख बजेट विनियोजन गरिएको थियो। गाउँपालिकाको क्रमागत योजनामा रहेको उक्त खेल मैदान निर्माणमा विवाद सिर्जना भएपछि स्थानीयवासीले काम रोक्न माग गर्दै ताला लगाएको स्थानीयवासी खडक साउदले जानकारी दिए।

विवाद समाधानपछि मात्रै काम सुरु गर्नुपर्ने, उपभोक्ता समितिमा हेरफेर गर्नुपर्ने र सबैलाई पायक पर्ने ठाउँमा मैदान निर्माण गर्नुपर्ने स्थानीयवासीको माग छ। सामुदायिक वनमा निर्माण हुँदै गरेको उक्त खेल मैदान एकलौटी रूपमा उपभोक्ता समिति बनाएर वडा कार्यालयको सिफारिसविना निर्माण गर्न लागिएको स्थानीयवासीको आरोप छ। 

खेल मैदान सबैको पायक पर्ने ठाउँ काडामाण्डौं मावि वा सोही नजिकको सामुदायिक वनमा बनाउनु पर्नेमा गाउँपालिका अध्यक्षको घरनजिकको सामुदायिक वनमा बनाएको भन्दै स्थानीयवासीले ताला लगाएको वडाअध्यक्ष पदमबहादुर धानुकले जानकारी दिए। 

असार मसान्त सकिनै लाग्दा गाउँपालिकाले हतार हतारमा उक्त योजनाको सुरुआत गरेका कारण पनि अहिले विवाद सुरु भएको अर्का स्थानीयवासी गम्भीर खड्काले जानकारी दिए।

कमेन्ट लोड गर्नुस