सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘धनगढी उपमहानगरले ३ सय मिटर सडक कालोपत्रे गर्न ३ वर्ष लगाउँदा पनि पुरा भएन’

२०७८ असार ६, ०७:०५ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीले पुरानो हसनपुरको ३ सय मिटर सडक ३ वर्ष लगाएर समेत कालोपत्रे गर्न नसकेको भन्दै स्थानीय आक्रोशित भएका छन्। आइतबार स्थानीयले हिलाम्मे सडकमा रोपाइँ गरेर विरोध जनाएका हुन्। 

उपमहानगरको बजेटमा निर्माण हुन लागेको त्यो सडकको लम्बाई ३ सय मिटर मात्रै भएपनि तीन वर्ष हुनै लाग्दा पनि अधुरो रहेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर–५ हसनपुर बसोबासका लागि आकर्षक ठाउँ भएपनि नगरपालिकाका कारण ठाउँकै बदनाम भएको गुनासो स्थाानीयहरुको छ। 

तीन जना निर्माण व्यवसायी आएर पनि तीन वर्षदेखि हसनपुर–शिवनगर सडक अलपत्र छोडेको भन्दै हिलाम्मे सडकमा धान रोपाइँ गर्नुपरेको स्थानीय अनिल भण्डारी बताए। 

भण्डारीले भने, “पुरानो हसनपुरदेखि शिवनगरसम्मको यो सडक पहिले कालोपत्रे गरिएको भएपनि कालोपत्रे सडक फुटाएर सडकको अवस्था बिगारेर नगरपालिका र निर्माण कम्पनीले दुःख दिने काम गरे। अति भएपछि नगरपालिकाको विरोध गर्न हिलाम्मे सडकमा रोपाइँ गर्नु परेको हो।” 

आर्थिक वर्ष २०७४/७५ मा धनगढी उपमहानगरपालिकाले ठेक्कामा लगाएको त्यो सडकमा अहिलेसम्म तीन जना निर्माण व्यवसायी काम गर्न आएको भएपनि तीनैले तोकिएको समयमा काम पुरा नगर्दा राम्रै सडक हिलाम्मे बनेको छ।

नगरपालिकालाई पटक–पटक आग्रह गर्दा समेत कुनै प्रगति नभएको स्थानीय सुरेशानन्द भट्टले बताए। “आज बनाउँछु भोलि बनाउँछु भनेर हामीलाई ठग्ने काम भएको छ। हामी धेरै पटक नगरपालिकामा गएका छौँ तर काम भने हुन सकेको छैन” भट्टले भने।

धान रोपेर विरोध जनाउन आएकी अर्की स्थानीय कृष्णादेवी मिश्रले सडक बनाउने भनेर कालोपत्रे गरिएको सडक भत्काउने काम भएको गुनासो गरिन्। मिश्रले ओहोरदोहर गर्दा आफू दिनहुँ लड्ने गरेको बताइन्। राम्रो सडक खनेर हिड्न नसकिने बनाएको उनको  आरोप छ।

हसनपुर–शिवनगर सडक निर्माण गर्न न्यू सहारा कन्सट्रक्सनले कुल ७३ लाख २६ हजार ६ सय ८७ रुपैयाँमा ठेक्का पाएको बताइएको छ। यो वर्षको जेठमा सम्पूर्ण काम सक्नुपर्ने भएपनि सुरुमा स्थानीयले सडक निर्माणमा केही अवरोध गरेकोपछि निषेधाज्ञाले काम गर्न नसकिएको सो ठेक्कालाई सब कन्ट्र्याक्ट पाएका राजु भट्टले बताए। उनले सोमबारदेखि नै त्यो सडकमा काम सुरु गर्ने बताएका छन्।

स्थानीयबासीले भने कछुवा गतिको विकास हुनुमा जनप्रतिनिधि मुख्य जिम्मेवार रहेको बताएका छन्। उता नगरप्रवक्ता सन्तोष मुडभरी भने लाचारीपन प्रकट गर्दै समयमै विकास हुन नसक्दा नागरिकलाई जवाफ दिन समस्या हुने गरेको बताएका छन्।

पुरानो हसनपुरमा सडक नबन्दा त्यो सडक प्रयोग गर्ने शिवनगर र हसनपुरबासीले कठिनाइ भोग्नु परेको छ। त्यो सडकमा नाली समेत पुरै नबन्दा सडकको पानी आँगनमा आउने गरेको स्थानीयको गुनासो छ। 

उनीहरुले हसनपुर–शिवनगर सडक अविलम्ब निर्माण गर्न धनगढी उपमहानगरपालिकालाई चेतावनी दिएका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस