सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपद् व्यवस्थापनको पूर्वतयारीमा जुट्दै डोटीका स्थानीय तह

२०७८ असार ५, ०५:१५ रासस

विमलबहादुर विष्ट: कोरोना महामारीका सामना गरिरहेका डोटीका स्थानीय तहले बाढीका कारण उत्पन्न हुन सक्ने विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटेका छन्। 

मनसुनी वर्षा सुरु भएसँगै यहाँका अधिकांश स्थानीय तह बाढीपहिरोको जोखिममा पर्ने भएकाले विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटेका हुन्। बाढीपहिरोबाट हुन सक्ने क्षति न्यूनीकरण र रोकथामका लागि आवश्यक स्रोत साधानको व्यवस्थापनमा लागिएकोे जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए। जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका नौ स्थानीय तह रहेका छन्। सबै स्थानीय तहले विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्न थालेका छन्। 

गत वर्षभन्दा यसवर्ष पानी धेरै पर्ने जल तथा मौसमविद्हरुले गरेको पूर्वानुमान अनुसार बाढीपहिरोको उच्च जोखिममा रहेका गाउँबस्तीलाई सुरक्षित स्थानमा सार्ने तथा उद्धार र राहतका लागि आवश्यक सामग्रीको जुटाउने तयारीमा तयारीमा यहाँका स्थानीय तहहरु लागि परेका छन्।

पछिल्लो समय जलवायु परिवर्तनका कारण हुनसक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि आवश्यक तयारीमा स्थानीय तह जुट्न थालेको सुदूरपश्चिम गाउँपालिका महासङ्घका अध्यक्षसमेत रहनुभएका जोरायल गाउँपालिकाका अध्यक्ष ओझाले बताए। 

“यो वर्ष पानी धेरै पर्ने मौषमविदहरुले गरेको अनुमान अनुसार यसबाट हुने क्षति न्यूनीकरणका लागि हामी लागिपरेका छौं” उनले भने, “बाढीपहिरोबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि हामी सजग र सचेत भएर काम गरिरहेका छौं।”  
जिल्लाको दिपायल सिलगढी र शिखर नगरपालिका तथा जोरायल, सायल, बडिकेदार, आदर्श, बोगटान फुड्सिल, पूर्वीचौँकी तथा केआइसिंह गाउँपालिकाले बाढीपहिरोबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरणका लागि पर्याप्त स्रोत साधानको व्यवस्थापनमा जुट्न थालेको बताइएको छ।

“वर्षायाममा बाढी आउँदा सेती नदीबाट विगतमा ठूलो धनजनको क्षति हुँदै आएको छ”, दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले भन्नुभयो, “बाढीबाट यस वर्ष हुन सक्ने धनजनको क्षति न्यूनीकरण, उद्धार, सुरक्षित बासस्थान र आवश्यक सुरक्षा सामग्रीको व्यवस्थापनमा हामी जुटेका छौं।”

यसैगरी शिखर नगरपालिकाले पनि आफ्नो नगर भित्रका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तर गर्ने कार्यमा लागिरहेको नगर उपप्रमुख धौलीदेबी रावलले जानकारी दिए। उनका अनुसार वर्षा अघि जोखिमयुक्त बस्तीलाई अस्थायी रुपमा सुरक्षित ठाउँमा सारेर जीउधनको सुरक्षा गर्ने तयारीमा नगरपालिका लागि परेको छ।

बाढीपहिरोबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरणका लागि स्थानीय तहहरुलाई पर्याप्त स्रोत साधानको व्यवस्था गर्न, त्यस क्षेत्रका बासिन्दालाई उद्धार गरेर सुरक्षित बासस्थानलगायत आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न आग्रह गरिसकेको बताउँदै प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जनप्रतिनिधिको सहयोगमा कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सवारी साधन र त्यसका चालकलाई ‘हाई अलर्ट’ मा राख्ने गरी तयारी गरिएकोे जानकारी दिए। 

जिल्ला विपद् व्यवस्थापन समितिले पनि वर्षातले ल्याउन सक्ने बाढीपहिरोका कारण यहाँका ग्रामीण सडकहरू अवरुद्ध हुन सक्ने भएकाले स्थानीय तह तथा अन्य निजी क्षेत्रसँग समन्वय गरी डोज र स्क्याभेटरको सहयोगले बाटो सूचारु गर्ने, जुनसूकै बेला पनि समस्या आउन सक्ने भएकाले सवारी चालक तथा साधनको व्यवस्थापन गर्ने र विपद्पछिका उद्धारलगायतका कार्यमा सबै निकायलाई तत्काल परिचालन गर्ने निर्णय गरेको छ। 

जिल्लाका कुनै स्थानमा पनि घटना घटेको खबर पाउनासाथ आवश्यक जनशक्ति तथा उपकरणसहित पुग्ने गरी समूहहरु निर्माण गरिएको समितिले जनाएको छ। विपद् व्यवस्थानको कार्यमा सहयोग गर्नका लागि जिल्लामा कार्यरत प्रहरीलाई तत्काल परिचालन गर्न उनीहरुलाई बिदा दिन बन्द गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए।
 

कमेन्ट लोड गर्नुस