धनगढीको शिवपुरी सामुदायिक वनमा संरचना निर्माण गर्न प्रतिस्पर्धा
धनगढीः धनगढी उपमहानगरपालिकास्थित शिवपुरी सामुदायिक वनमा संस्थागत अतिक्रमण तीव्र पारिएको छ।
शिवपुरी सामुदायिक वनमा धमाधम भौतिक संरचना निर्माण भइरहेका छन्। वन क्षेत्रमा कुनै पनि भौतिक संरचना आफूखुशी बनाउन नपाउने भएपनि सामुदायिक वन उपभोक्ता समितिले भने विभिन्न ठाउँबाट आउने बजेटमा भौतिक संरचना निर्माण गर्न कानून विपरित निर्णय गरेको पाइएको छ।
धनगढी उपमहानगरपालिका र प्रदेश सरकारले विभिन्न भौतिक संरचना बनाउन वन क्षेत्रमै बजेट हाल्ने प्रवृतिले वन संरक्षणमा चुनौति थपिएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर–४ मा रहेको शिवपुरी सामुदायिक वनमा दर्जौनौं भौतिक संरचना बनेका छन्। यो वन सरकारी तथा संस्थागत अतिक्रमणको चपेटामा परेको स्थानीयले गुनासो गर्न थालेका छन्।
धनगढी बजारसँग जोडिएको र ६० हेक्टर क्षेत्रफलमा फैलिएको शिवपुरी सामुदायिक वनको सालको जंगल व्यक्तिगत, संस्थागत र सरकारी अतिक्रमणको निशानामा परेको छ।
शिवपुरी वनमा प्रदेश सरकार र धनगढी उपमहानगरपालिकाको लागानीमा अहिले पनि भौतिक संरचना निर्माण भइरहेका छन्। धनगढी उपमहानगरपालिकाले सामुदायिक वनभित्र चिल्ड्रेन पार्क बनाउने भनेर १४ लाख बजेट दिएको छ।
त्यो बजेटबाट वनभित्र ईटा सिमेन्ट प्रयोग गरी प्रवेशद्वारलगायतका संरचना धमाधम निर्माण गरिदै छन्। वन क्षेत्रमा कुनै पनि संरचना निर्माण गर्न कानूनले बन्देज गरेको भएपनि धनगढी उपमहागरपालिकाले भने १४ लाख बजेटमा शिवपुरी धाममा दर्शन गर्न आउने भक्तजनका बालबाललिकाहरुको मनोरञ्जनका लागि पार्क बनाउन बजेट दिएको दाबी गरेको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिपक थापाले दिनेशखबरलाई भने, “वनमा ठूलो रुख काटिएको छैन। साना झाडी मात्रै सफा गरिन्छन्। नयाँ बोट पनि लगाउँछाँै। फूल रोप्छौँ। त्यो ठाउँमा आकर्षण थपिन्छ। बालबालकिालाई खेल्ने संरचना तयार हुनु त राम्रो हो नि।”
नेपालमा केही दशक अघिसम्म राष्ट्रिय वन क्षेत्रको फँडानी र अतिक्रण निकै तीव्र थियो। वन संरक्षणमा चुनौती देखिएपछि सरकारले समुदायको प्रत्यक्ष सहभागितामा वन संरक्षण गर्न सामुदायिक वनको अवधारणा ल्याएको थियो।
तर अहिले आएर त्यही सामुदायिक वन उपभोक्ता समितिहरु वन विनासमा सक्रिय भएको आरोप लाग्ने गरेको छ।
धनगढीको शिवपुरी सामुदायिक वन उपभोक्ता समितिले पनि औपचारिक निर्णय गरेर वन क्षेत्रमा भौतिक संरचान बनाउन मन्जुरी दिने गरेको खुलेको छ। शिवपुरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बुद्धिबहादुर खड्काले बाटो छेउको वनमा अतिक्रण र आगलागी हुने गरेको कारण संरक्षण गर्न पार्क बनाउने निर्णय गरिएको बताएबा छन्।
खड्काले भने, “त्यहाँ डाला काट्ने। आगो लगाउने काम रोक्न सकिएन। तारबार समेत पार गरेर स्थानीय वन भित्र प्रवेश गर्न थाले। प्राकृतिक पार्क बनउने निर्णय गरिएको छ। त्यो हाम्रो कार्यविधिमा पनि छ।”
राष्ट्रिय वन र सामुदायिक वनमा नेपाल सरकारको निर्णय बिना कुनै कार्य गर्न नपाइने र भौतिक संरचना बनाउनुले कानूनको उल्लंघन हुने भनाइ डिभिजन वन कार्यालय धनगढीका सूचना अधिकारी डबलबहादुर बोहराको छ।
वन ऐन २०७६ को दफा १८ को उपदफा ७ मा “सामुदायिक वन उपभोक्ता समितिले डिभिजन वन कार्यालयबाट स्वीकृत कार्य योजनाले निर्दिष्ट गरेको वन उद्यम तथा तोकिए बमोजिम पर्यापर्यटनका कार्यक्रम सञ्चालन गर्न सक्नेछ।” भन्ने उल्लेख भएपनि शिवपुरी सामुदायिक वनले भने कार्य योजनामा चिल्ड्रेन पार्क र फोहरमैला केन्द्र बनाउने कुरा उल्लेख नगरिएको वन डिभिजन कार्यालय धनगढीले जनाएको छ।
धनगढी उपमहानगरपालिकाले भने असारमा बजेट कार्यान्वयन भएको देखाउन वन क्षेत्रमा कानून मिचेर संरचना निर्माण गर्न लगाएको आरोप लागेको छ। शिवपुरी सामुदायिक वनमा प्रदेश सरकार र स्थानीय सरकाबीच संरचना निर्माण गर्न प्रतिस्पर्धा चल्ने गरेको छ। उसो त सामुदायिक वनको क्षेत्रमै शिवपुरी धामको लागि दर्जनौं संरचनाहरु पनि निर्माण गरिएका छन् ।