सुदूरपश्चिममा रकमान्तरणको करोडौं बजेटमा मनलाग्दी: नियम मिचेर ‘सिलिका खरिद’ , सेट भएपछि प्रयोग !
धनगढीः जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बैतडीलाई गत आर्थिक वर्ष २०७६÷२०७७ को जेठ र असारमा ४ पटक गरी २३ करोड ६१ लाख रुपैयाँ रकमान्तरण गरी दिइएको थियो।
सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको सो कार्यालयलाई प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले सो बजेट रकमान्तरण गरेको हो।
जसमध्ये जल स्रोत तथा सिँचाइ डिभिजन कार्यालय बैतडीले असार मसान्तमा पाएको १० करोड बजेटमध्ये साढे ४ करोडको सिलिका सिमेन्ट आधारभूत खरिद कार्यविधि विपरित खरिद गरिएको स्रोतको दाबी छ। साथै सिलिका सिमिन्ट सेट भइ काम नलाग्ने अवस्थामा पुगेको र पछि सेट भएको सो गुणस्तरहीन अवस्थामा रहेको सिमेन्ट बिरोध हुने डरले प्रयोग गरेको दाबी गरिएको छ।
तर जल स्रोत तथा सिँचाइ डिभिजन कार्यालय बैतडीले खरिद प्रक्रिया अनुसार सिलिका सिमेन्ट खरिद गरेको र सबै सिमेन्ट प्रयोग समेत भइसेको दाबी गरेको छ । जल स्रोत तथा सिँचाइ डिभिजन कार्यालय बैतडीका नायव सुब्बा वीरसिंह महराले गत आर्थिक वर्षमा २ पटक टेण्डर र २ पटक कोटेसनमार्फत सिमेन्ट गरिएको र सवै प्रयोग भएको दाबी गरे।
प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले २०७७ जेठ ८ गते सो कार्यालयलाई ४ करोड १० लाख बजेट अधुरा आयोजना भुक्तानीको लागि भन्दै रकमान्तरण गरेको थियो । २०७७ कै असार २० गते पुँजीगत अनुसन्धान तथा परामर्श शिर्षकको १० बजेट पनि सो कार्यालयलाई रकमान्तरण गरेको थियो । पछि असारकै २७ गते कार्य प्रगतिको आधारमा सिँचाइ संरचना निर्माण अन्तरगत भएको निर्माण कार्यका लागि भन्दै १५ करोड ८२ लाख र आर्थिक वर्षकै अन्तिम दिन अर्थात असार ३१ गते पनि थप ३ करोड ५६ लाख गरी जम्मा २३ करोड ६१ लाख रुपैयाँ रकमान्तरण गरिएको थियो। आर्थिक वर्षको अन्तिम दिन ठूलो बजेट पाएको सो कार्यालयले बजेट खर्चमा पनि मनलाग्दी गरेको र सेटिङमा सिलिका सिमेन्ट खरिद गरेको समेत आशंका गरिएको छ।
तर सो कार्यालयमा गत वर्ष कार्यरत रहेका कार्यालय प्रमुख प्रकाश रावलले संरचना निर्माणको कार्य पहिले नै भइसकेको र भुक्तानी गर्न मात्रै बाँकी रहेकोले रकमान्तरण गरी बजेट माग गरिएको बताए। तथापी पाएको रकम पनि अपुग भएको उनको भनाइ छ।
सो कार्यालयले भने २ पटक टेण्डरमार्फत र २ पटक कोटेशनमार्फत गरी ३० हजार ९८० केजी सिलिका सिमेन्ट खरिद गरेको बताएको छ। कार्यालयले टेण्डरमार्फत पहिलो पटक ५९ लाख ७३ हजार ३३५ र दोस्रो पटकमा ५९ लाख ७० हजार ७५० रुपैयाँमा सिमेन्ट खरिद गरेको थियो। भने कोटेशनमार्फत पहिलो पटकमा ४ लाख ९९ हजार ८८९ र दोस्रो पटकमा ४ लाख ९२ हजार रुपैयाँमा खरिद गरेको हो।
निर्माण हुने संरचनालाई चुहिनबाट सिलिका सिमेट प्रयोग गरिने बताइन्छ । सो कार्यालय टेण्डरमार्फत प्रतिकिलो १२६ र कोटेशनमार्फत प्रतिकिलो ४१५ रुपैयाँको दरले खरिद गरेको हो।
पछिल्लो समय सुदूरपश्चिममा आर्थिक वर्षका अन्तिम आएर ठूलो बजेट रकमान्तरण गरिँदै आइएको छ। जसमा मनलाग्दी र नियमविपरित खर्च समेत हुँदै आएको गुनासो बढ्दै गएको छ।