सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको कृष्णपुरले अपांगता भएका व्यक्तिका लागि छुट्याएको बजेट अन्तै खर्च गर्न लागेको आरोप

२०७८ जेठ ३१, ०६:२८ नारायण अवस्थी

धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिकाले लक्षित वर्गका लागि छुट्याएको बजेट अन्यत्रै खर्च गर्ने गरेको गुनासो आएको छ। 

चालु आर्थिक वर्षका लागि नगरपालिकाले अपांगता भएका नागरिकका लागि ह्विल चियर लगायतका सामग्री प्रदान गर्न ७ लाख बजेट छुट्याएको छ। तर त्यो बजेटबाट अहिलेसम्म अपांगता भएका व्यक्तिलाई कुनै सहयोग गरिएको छैन।

यतिसम्मकी अपांगता भएका नागरिकहरुले नगरपालिकाबाट दुई वर्षदेखि सहयोगी सामग्री नपाएको गुनासो गरेका छन्।

आर्थिक वर्ष सकिन ३० दिन मात्रै बाँकी रहेको बेला नगरपालिकाले निषेधाज्ञाको कारण सामग्री ढुवानीमा ढिला भएको बताएको छ। 

गत आर्थिक वर्षको लक्षित वर्गको बजेट कोभिड उपचार र व्यवस्थापनमा खर्च गरेको बताउने कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्षमा पनि लक्षित वर्गको बजेटबाट काम गर्न नसकेको गुनासो गरिएको छ। 

कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ह्विल चियर सहयोग गर्न ७ लाख बजेट विनियोजन गरेको भएपनि त्यो बजेटबाट कुनै सहयोग नपाएको अपांगता भएका व्यक्तिले बताएका छन्। 

ह्विल चियरबारे नगरप्रमुख, उपप्रमुख र अपांग संघका अध्यक्ष विष्णु जोशीसँग पटकपटक बुझ्दा आपसमा बाझिने बयान दिने गरेको २ वर्षदेखि ह्विलचियर नपाएर समस्यामा परेका कृष्णपुर नगरपालिका–७ शान्तीपुरका गणेश जोशीले दिनेशखबरलाई बताए।

‘न त नगरपालिकाले अन्य संघसंस्थाबाट सहयोग लिन सिफारिस दिने गरेकको छ, न आफैले छुट्याएको बजेट कार्यान्वयन गर्न सकेको छ’ उनले भने, ‘अपांग संघका अध्यक्ष विष्णु जोशीले ७ लाख बजेट कोरोनमा खर्च भएको बताउँछन् भने मेयर र उपमेयरले अर्कै कुरा गर्ने गरेका छन्।’

यस विषयमा नगर उपप्रमुख रमीता रानालाई सोध्दा उनले निषेधाज्ञाका कारण सामग्री ढुवानीमा ढिला भएको बताइन्। ‘सहयोगी सामग्रीका लागि नगरले ७ लाख बजेट छुट्याएको हो। तर निषेधाज्ञाको कारण सहयोगी सामग्रीको ढुवानीमा समस्या भएकोले अहिलेसम्म सामग्री दिन सकिएको छैन। असार महिनाभित्रै सबैलाई सामग्री वितरण गर्ने छौँ।’

अपांगताकै क्षेत्रमा काम गर्ने धनगढीको रिह्याब फाउन्डेसन नेपालका प्रबन्ध निर्देशक नन्दराज भट्ट अपांगता भएका व्यक्तिका लागि आवश्यक पर्ने सामग्री खरिद गर्न, ढुवानी गर्न र वितरण गर्न निषेधाज्ञाले कुनै समस्या नपार्ने बताएका छन्। 

सोही कारण नगरपलिकाले निषेधाज्ञाको बहाना देखाएर रकम अन्य प्रयोजनका लागि खर्च गर्ने या आर्थिक चलखेल गर्न खोजेको आरोप नगरबासीले गरेका छन्।

कृष्णपुर नगरपालिकाले बजेटमा परेका कार्यक्रम कार्यान्वयनमा चासो नदिने तर बजेटलाई रकमान्तरण गर्ने, लक्षित वर्गको बजेटमा चलखेल गर्ने गरेको स्थानीयले आरोप लगाएका छन्। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस