सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको मेल्टा गाउँका बालबालिकाका दुःख, २ घण्टा जंगलको बाटो हिँडेर विद्यालय

२०७८ जेठ ३१, ०५:१० खबर संवाददाता

महेश बडू, धनगढी: निषेधाज्ञाका बेला धेरैजसो ठाउँमा अनलाइनको माध्यमबाट पठनपाठन भइरहेको छ।

तर सुदूरपश्चिमका पहाडी जिल्लामो त्यो सम्भव देखिदैन्। प्रविधि नै नपुगेको ठाउँमा भर्चुअल माध्यम कसरी सफल बनोस्। जसका कारण विद्यार्थीको शैक्षिक शत्र डामाडोल बनेको छ। 

ती मध्येकै एक गाउँ हो डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर ४ मेल्टा। अहिले अनलाइन कक्षाको समस्या धेरे ठाउँमा छ। तर उक्त गाउँमा भने वर्षौ देखिनै विद्यालयको समस्या हुँदै आएको छ। 

कक्षा ५ सम्म पढ्न १ घण्टा र कक्षा ६ देखि १२ सम्म पढ्न अढाई घण्टा जंगलको बाटो भएर हिँड्नुपर्ने समस्या त्यहाँका बालबालिकालाई छ। 

स्थानीय उद्दव भट्ट भन्छन्, ‘हाम्रो पालादेखि नै कक्षा ५ सम्म पढ्न १ घण्टाको बाटो हिँड्नुपथ्र्यो। अहिले हाम्रो छोराछोरीको पालो आइसक्दा पनि उही परिस्थिती छ। केही परिवर्तन भएको छैन।’

अहिले उनकी छोरी ४ वर्षकी भइन्। गत वर्ष असारमा विद्यालय जाने बेला उनको छोरीको खुट्टामा जुकाले खाएर बिसाएको थियो। सोही कारण धेरै दिनसम्म छोरीलाई समस्या भएको उनले सुनाए। 

‘पानी परेको दिन बच्चाहरुलाई स्कुल पठाउन पनि डर लाग्छ। जंगलभरी सल्लाका रुखहरु छन्। चट्याङ पर्ने डर हुन्छ’ उनी भन्छन्, ‘हाम्रो गाउँ सबैभन्दा अलग्गै छ। अन्य स्थानमा के भइरहेको छ। त्यो पनि थाहा पाउन समस्या हुन्छ। गाउँमा जम्मा १० परिवार बस्छन्। अब १० परिवारको लागि गाउँपालिकाले विद्यालय बनाउने कुरा आउदैन।’ अहिले विकासका नाममा गाउँमा सडक मात्र पुगेको उनी बताउँछन्।

मेल्टाकै राकेस भट्ट अहिले ५ वर्षका भए। उनी अहिले कक्षा २ कक्षामा पढ्छन्। उनले पनि गाउँबाट १ घण्टा जंगलको बाटो हिडेर अर्को गाउँमा रहेको भागेश्वर प्राथमिक विद्यालयमा पढ्न जानुपर्ने हुन्छ। तर आजभोलि कोरोना भाइरसका कारण विद्यालय बन्द भएको हुँदा आफूलाई आनन्द भएको उनले सुनाए।

‘स्कुल जानाइ निको नाइ लाग्दो दुर छ। बिहानै उठिन्थ्यो लै नाइ अच्याल सजि होइरैछ स्कुल बन्द हुनाले(विद्यालय टाढा भएकाले मलाई जान मन लाग्दैन। आजभोलि बन्द भएकाले बिहान उठ्ने झन्झट छैन, आनन्द भएको छ)’ उनी दुखेसो सुनाउँछन्। 

अन्य समयभन्दा बैशाखदेखि असारसम्म बिहान विद्यालय खुल्ने गरेकाले समस्या हुने गरेको उनले बताए। त्यो समयमा जुका तथा सर्पहरु हुने भएकाले डर लाग्ने गरेको राकेशले बताए। 

कक्षा ५ पछि कहाँ पढ्ने ? 
कक्षा ५ पास गरेपछि २ घण्टा जंगलको बाटो हिँडेर पुगिने रूपालीगाड बोगटामा रहेका विद्यालयमा जानुपर्ने बाध्यता रहेको कक्षा १० मा अध्ययनरत हिरा भट्टले बताइन्।  विद्यालय जानआउन समय लाग्ने भएकाले घरमा पढ्न समय नमिल्ने उनले बताइन। ‘झन रजस्वला भएको बेला हिँड्न नसकेर विद्यालय जानै सकिँदैन’ उनले भनीन्। 

विद्यालय नजिक नभएका कारण धेरैजसो जिल्ला सदरमुकाममा बसेर पढने गरेको उनले बताइन्। उनी भन्छिन् ‘गाउँ नजिकै ठुलो विद्यालय बनाउन जरूरी छ। गाउँमा धेरै जसोले पढ्न नपाएकै कारण बिहे गरेर गइसके।’

गाउँपालिका अभिभावक र व्यवस्थापन समितिको भरमा 
गाउँपालिकामा जम्मा ३४ विद्यालय छन्। जसमध्ये प्राथमिक १६, ८ आधारभूत र ८ वटा मावि तहका रहेका छन्। मेल्टामा विद्यालयको समस्या रहेको भागेश्वर गाउँपालिकाले स्वीकार गरेको छ। 

गाउँ नजिकै रहेका प्रावि तहलाई आधारभूत अथवा माध्यमिक बनाउनसके शिक्षाक्षेत्रमा केही सुधार हुने देखिन्छ। तर गाउँपालिकाका उपाध्यक्ष पदमबहादुर बोहराले विद्यालय व्यवस्थापन समिति र अभिभावकको सुझावका आधारमा विद्यालयको स्तरउन्नती गर्ने बताएका छन्। ‘विद्यालय सुधारका लागि गाउँपालिकाबाट धेरै पहलहरू भए तर गाउँहरू टाढा भएका कारण समस्या भइरहेको छ’ उनले भने।

कुन गाउँका विद्यालयको स्तरउन्नती गर्ने भन्नेबारे अन्यौलता रहेको उनले बताएका छन्। 

कमेन्ट लोड गर्नुस