सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीकी लक्ष्मीका दोषीलाई कारबाहीको माग

२०७८ जेठ ३०, ०६:०८ रासस

काठमाडौँ: राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले डोटीमा मट्टीतेल खन्याएर जलाइएकी लक्ष्मी भाटको स्वास्थ्य अवस्थाबारे बुझी दोषीलाई कारबाहीको माग गरेकी छिन्।  

कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार गराइरहेकी भाटको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष पराजुली त्यहाँ पुगेकी थिइन्। भेटका क्रममा पीडित भाटले आफू र नाबालक छोरीलाई आगो लगाई ज्यानमार्ने प्रयास गर्ने आरोपित पति सन्तोष भाटलाई जन्मकैदको सजायको माग गरिन्। 

एक साता अगाडि श्रीमानद्वारा जलाईएकी भाट र उनकी छोेरीको उपचार भइरहेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको महिला हिंसा निवारण कोषबाट पाँचलाख वर्न अस्पतालमा निकासा भएर अहिले पीडितको उपचार भइरहेको छ। गृह मन्त्रालयले पनि पीडितको उपचार सरकारले गर्ने गराएको छ।

अनुगमनको क्रममा अस्पताल प्रमुख एवम् सम्बन्धित चिकित्सकले भाट हाल गर्भवती समेत रहेकाले उनको उपचारको साथै विषेश ध्यान राख्नुपर्ने जानकारी गराएका थिए। डोटी जिल्ला आदर्श गाउँपालिका वडा–४ बस्ने वर्ष २८ की लक्ष्मी भाटलाई दुई वर्षको छोरी अञ्जु भाट समेतलाई आफ्नै श्रीमानले ढोका बन्द गरी मट्टीतेल खन्याएर जलाएर सख्त घाइते बनाएको घटना सार्वजनिक भएको थियो।

आयोगकी अध्यक्ष पराजुलीले यस सम्वन्धमा डोटीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरी दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन आग्रह गरिसकेकी छिन्। महिला घरभित्रै आफ्नै परिवारबाट सुरक्षित नभएको अवस्था यस घटनाले देखाएको भन्दै पीडकले हदैसम्मको सजाय पाउनुपर्नेमा उनको जोड छ। 

आगोले जलेपछि नजिकैको अस्पतालमा उपचारको लागि लगिएको थियो। सो अस्पतालमा भाटको उपचार हुन नसकेपछि गृह मन्त्रालय र सम्बन्धित क्षेत्रका जनप्रतिनिधि समेतको समन्वय र पहलमा घाइते लक्ष्मी भाट र उनकी छोरीलाई हेलिकप्टरमार्फत उपचारको लागि सोमवार काठमाडौँ ल्याई कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो।

कमेन्ट लोड गर्नुस