के तपाईलाई कैलाली प्रहरीको कोभिड कल सेन्टरबाट फोन आयो ?
धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीले कोरोना कल सेन्टरमार्फत होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई सेवा दिरहेको छ। संक्रमितको अवस्थाबारे बुझ्न तथा परामर्श सेवा दिने जेठ १० गतेदेखि कल सेन्टर सेवा सुरु गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्रसिंह साउँदको नेतृत्वमा ८ जनाको टिम बनाइएको छ। उनीहरु मध्ये ५ जनाको टीमले संक्रमण भइ होम आइसोलेसनमा बसेकाहरुको स्वास्थ्य अवस्थाबारे बुझने गर्दछन्। ३ जना भने, हेल्थ डेस्कमा खटिएका छन्।
कोरोनाको दोस्रो लहरमा संक्रमितले अस्पतालका शय्या भरिएपछि धेरै संक्रमितहरु घरमै बस्ने गरेका छन्। उनीलाई आवश्यक परामर्श दिने तथा उनीहरुको मनोबल बढाउन कल सेन्टर सेवा सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए।
उनले भने, “अहिले कैलालीका ८५ प्रतिशत संक्रमित होम आइसोलेशनमा बसिरहेका छन्। उनीहरुलाई केही समस्या परे वा सहयोग चाहिएमा विभिन्न संघ संस्थासँग समन्वय गरेर सहयोग गर्छौ। स्वास्थ्यमा जटिलता देखिए स्वास्थ्यकर्मीहरुसँग सम्पर्क गराउँछौँ।”
सुरुमा कोरोना पोजेटिभ आएकाहरुलाई एक चोटी मात्रै फोन गर्ने गरेको तर संक्रमितहरुको स्वास्थ्य समस्याबारे बढी जिज्ञासा आउन थालेपछि होम आइसोलेसन कल सेन्टर सेवा स्थापना गरिएको उनको भनाइ छ।
संक्रमितहरुका समस्या र जिज्ञासा सामाधानका लागि प्रहरीले विशेषज्ञ डाक्टर र सहयोगी संघ–संस्थासँग समन्वय गरी काम गरिरहेको हो।
जिल्लाभित्रका मात्रै होइन जिल्ला बाहिर रहेकाहरुलाई पनि परामर्श दिने गरेको कैलाली प्रहरी बताउँछ। उनी भन्छन, “पहिले हामीले नै होम आइसोलेसनमा बसेकाहरुसँग फोन गरेर जानकारी लिन्थ्यौं, तर अब उनीहरुले पनि समस्या परे जानकारी गराउँछन्। यसले केही सहजीकरण भएको छ।”
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय, संयुक्त राष्ट्रिय विकास कार्यक्रम धनगढीलगायतको सहकार्य प्रहरीले कल सेन्टर सेवा दिन थालेको हो।
प्रहरीले हालसम्म ९ हजार ७ सय बढी जना संक्रमितहरुलाई सेवा दिएको बताएको छ। सेती प्रादेशिक अस्पतालबाट संक्रमितको रिपोर्ट दिने बितिक्कै पोजेटिभ आएकाहरुसँग सम्पर्क गरेर जानकारी लिने साउँदले बताए।
उनले भने, “अस्पतालले परीक्षण रिपोट दिने बितिक्कै पोजेटिभ आएकाहरुसँग सम्पर्क गरेर जानकारी लिन्छौ। उनीहरु कसरी बसे, कहाँ बसे, स्वास्थ्य अवस्था कस्तो छ ? भन्नेबारेमा जानकारी लिन्छौ। फेरि ३ दिनपछि कल गरेर सोध्छौँ। समस्या भए सम्पर्क गर्न अनुरोध गछौँ।”