सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ६२–६४ वर्ष उमेर समूहका लागि आएको कोरोना खोप सबैले लगाइदिए

२०७८ जेठ २७, ०६:५४ कमल सावद

धनगढीः नेपाल सरकारले ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन निर्देशन छ। तर सुदूरपश्चिममा सबै उमेर समूहका नागरिकले खोप लगाउँदैछन्। 

उनीहरुले खोप लगाएको तस्विर सामाजिक सञ्जालहरुमा समेत राख्दै आएका छन्। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले लक्षित वर्ग बाहेकले पनि खोप लगाइरहेको गुनासो आएको बताए। 

‘स्थानीय तहहरुले कोरोना विरुद्धको खोप लगाउँदैछन्। हामीहरुले पनि अनुगमन गरेका छौ’ उनले भने, ‘तर खोपको दुरुपयोग भएको गुनासो आएको छ। स्वास्थ्य कार्यालयलाई खोप लगाएकाहरुको सूची मागेका छौ। अहिलेसम्म आएको छैन्।’ 

उनले ६४ वर्ष उमेर माथिका नागरिकहरु पनि खोपबाट छुटेका भन्दै उनीहरुलाई भने खोप लगाउन अनुमति मागेको बताए। तर ६२ देखि कम उमेर समूहका नागरिकलाई भने भेरोसेल खोप नलगाउन मापदण्डमा भनिएको छ। 

झण्डै ३० लाख जनसंख्या रहेको सुदूरपश्चिमका ६२ देखि ६४ वर्ष उमेर समूहका ४२ हजार नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने संघीय सरकारको योजना छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिममा दुवै मात्राका लागि ८४ हजार खोप पठाएको थियो। 

२८ दिनमै दोस्रो मात्राको खोप समेत प्रदेशका नागरिकलाई लगाउने तयारी छ। तर स्थानीय तहहरुले मनोमानी रुपमा खोप लगाउदा जिल्ला खोप समन्वय समितिहरु मूकदर्शक देखिएका छन्।  

प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा आएको खोप स्वास्थ्य कार्यालयहरु हुँदै स्थानीय तहमा गएको थियो। स्थानीय तह, स्थानीय प्रशासन तथा जिल्ला खोप समन्य समिति र प्रदेश सरकारको समन्यको अभावका कारण लक्षित समूहले खोप पाएका छैनन्। 

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अनुसार पहिलो मात्राका लागि कैलालीमा १३ हजार ६ सय १०, कञ्चनपुरमा ७ हजार ५ सय ७०, अछाममा ४ हजार १ सय २, बैतडीमा ३ हजार ७ सय ८०, दार्चुलामा ३ हजार २ सय ४३, बझाङ्गमा ३ हजार १ सय ६८, डोटीमा ३ हजार २०, डडेल्धुरामा २ हजार २ सय ५८ र बाजुरामा भने दुवै मात्राका लागि गरी ४ हजार ४ सय ४२ डोज खोप पुगिसकेको छ। 

स्वास्थ्य कार्यालयहरुले स्थानीय पालीकाहरुलाई खोप दिएको छ। तर स्थानीय पालीकाहरुले जथाभावी खोप लगाउँदा समेत खोप समन्वय समिति मूकदर्शक भएको छ। त्यसबारे कैलालीका प्रमुख जिल्ला अधिकारी तथा खोप समन्वय समितिका संयोजक खगेन्द्र रिजाललाई सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन्। 

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले परिचयपत्रको दुरुपयोग गर्दै गैरलक्षित समूहका नागरिकले समेत कोरोना विरुद्धको खोप लगाएको बताएका छन्। 

तर जिल्ला प्रशासन कार्यालय कैलालीले अनुगमन तथा निगरानी भने गरेको देखिएको छैन्। उनले भने, ‘अरुको परिचयपत्र समेत ल्याएर खोप लगाए जस्तो छ। हामीले ६० देखि ६५ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने निर्णय गरेका छौ। कोभिसिल्ड खोप नलगाएका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई पनि खोप लगाउने निर्णय गरेका हौ। तर अन्य नागरिकले समेत खोप लगाएको देखिएको छ।’

संघीय सरकारले ज्येष्ठ नागरिकसँगै छुटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, मेडिकल कलेजका विद्यार्थीलाई समेत खोप लगाइने भनेको छ। तर सुदूरपश्चिममा गैरलक्षित समूहका व्यक्ति पनि खोप लगाउन थालेका हुन्। 

गैरलक्षित समूहका व्यक्तिका कारण ज्येष्ठ नागरिकहरुले खोप नपाउने देखिएको छ। सुदूरपश्चिमका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले जथाभावी खोप लगाइएको बारे जानकारी नभएको बताएका छन्। उनले खोप लक्षित समूह बाहिरका नागरिकले लगाए÷नलगाएको बारेमा जानकारी लिने प्रतिक्रिया दिए। 

सुदूरपश्चिम प्रदेशमा ३७ हजार नागरिकले यसअघि कोभिशिल्ड खोपको दुवै मात्रा लगाइसकेका छन्। प्रदेशमा पहिलो मात्रा लगाएका १ लाख ३० हजार २ सय ३ जनालाई दोस्रो मात्रा लगाउन अझै बाँकी छ। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस