सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका वनहरुबाट भइरहेको काठ तस्करी अझै रोकिएन, फेला पर्दैनन् तस्कर

२०७८ जेठ २६, ०५:५९ नारायण अवस्थी

धनगढी: कैलालीका राष्ट्रिय तथा सामुदायिक वनबाट दिनहुँ काठ तस्करी हुने क्रम अझै रोकिएको छैन।

स्थानीय प्रशासनले डेढ महिनादेखि जिल्लामा निषेधाज्ञा लगाएको भएपनि काठ तस्करी हुने क्रम भने बढेको पाइएको हो। 

अहिले कैलालीका राष्ट्रिय तथा सामुदायिक वनहरुमा तस्करको बिगबिगी छ। तस्करहरुको मुख्य निशाना भने राष्ट्रिय वनहरु रहेका छन्।  वन कर्मचारीको लाचारीपनले राष्ट्रिय वनहरुमा तस्करहरुले राज गर्न थालेको स्थानीयले बताएका छन्। तर वन कार्यालयहरुमा जनशक्ति अभावले तस्करी नियन्त्रण गर्न चुनौति रहेको वन अधिकारीहरुले बताएका छन्। 

गत सोमबार कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ को लालीगुराँस सामुदायिक वन क्षेत्रबाट तस्करी हुँदै गरेको ५ वटा सालको गोलिया बरामद गरियो।

सामुदायिक वनका पदाधिकारीले आफ्नो वन क्षेत्रबाट तस्करी भइरहेको थाहा पाएर तस्करहरुबाट काठ बरामद गरेको थिए। तर तस्कर को थिए भन्ने कुरा भने अझै खुलेको छैन। निषेधाज्ञामा सबै घरमा रहेको मौका छोपेर तस्करहरुले वन क्षेत्रबाट दिउँसो समेत काठ तस्करी गर्न थालेकको लालीगुराँस सामुदायिक वनका अध्यक्ष कृष्ण चौधरीले बताए।

“२४ गते हामीले ५ गोलिया साल समातेका हौँ। तस्कर को थिए पत्ता लागेको छैन। अहिले लकडाउनमा सबै मान्छे घरमा हुन्छन्। हामीले पनि गस्ती गर्न सकेका छैनौँ” चौधरीले भने। 

गौरीगंगा नगरपालिकाको बडैपुरमा सब–डिभिजन वन कार्यालय रहेको छ। सो क्षेत्रमा सामुदायिक वनमा भन्दा राष्ट्रिय वनबाट काठ तस्करी बढी हुने गरेको वन अधिकारीले बताएका छन्। उक्त क्षेत्रका विभिन्न वनहरुबाट एक महिनाको अवधिमा मात्रै ९ सय क्यूफिट काठ बरामद गरिएको बडैपुर सब–डिभिजन वन कार्यालयका प्रमुख चन्द्र भण्डारीले बताए।

कैलाली जिल्लामा देशभरमै सबैभन्दा बढी वन क्षेत्र रहेको भएपनि वन क्षेत्रको अतिक्रमण र विनास पनि निकै तीव्र भइरहेको छ। जिल्लाका राष्ट्रिय राजमार्ग, बजार र बस्ती छेउका वनहरुबाट काठ तस्करी हुँदै आएको हो। 

तर कर्मचारीको  अभावमा तस्करी नियन्त्रण गर्न नसकिएको वनका अधिकारीहरुले बताएका छन्। “निषेधाज्ञामा वन क्षेत्रमा तस्करी बढेको छ। हामीसँग भएको जनशक्ति पनि कोरोनाको कारण प्रभावित भएको छ” डिभिजन वन कार्यालय, धनगढीका सूचना अधिकारी डबलबहादुर बोहराले भने, “वन क्षेत्र संस्थागत अतिक्रमणको चपेटामा परेको छ। हामीसँग सीमित स्रोत र साधन मात्रै छ।”

कैलालीको २ लाख ५ हजार ९ सय ३९ हेक्टरमा वन क्षेत्र फैलिएको छ। त्यसमध्ये ३० हजारभन्दा बढी वन क्षेत्र अतिक्रमणमा छ। जिल्लाको सबै जसो स्थानीय तहहरुका वनहरुबाट वन पैदावर तथा काठ तस्करी हुँदै आएको छ। 
तस्करहरुले वन सखाप पर्दै गएका बेला सुकुम्बासी, बाढी र पहिरो पीडितका नाममा वन फडानी हुँदै आएको छ। 
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस