सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाउँ छोडेर लेकतिर जान बाध्य डोटीका सायलवासी

२०७८ जेठ २४, ०४:३३ खबर संवाददाता

महेश बडू, धनगढी:  २०७४ साउन २४ गते आएको पहिरोले डोटीमा एकै गाउँका ६ जनाको मृत्यु भयो। जसमध्ये एउटै परिवारका ५ जनाको मृत्यु भयो।

घटना हो सायल गाउँपालिका वडा नम्बर ४ डौड र बाहुँन सैन गाउँको। त्यो दिन आएको पहिरोले ६ जनाको ज्यान त लग्यो नै तर जिवित ६ वटै परिवारको खुसी पनि पुर्‍याे।   

डौड गाउँमा त्यो दिन गाउँलेहरु घर छोडेर लेकतिर बस्न गएका थिए। तर दल सिँहकी ८४ वर्षीय हजुरआमा भने गाउँको र घरको मायाले लेकतिर गइनन्। राति घरको माथिबाट आएको पहिरोले उनी पुरिइन्।

हरेक वर्ष वर्षातको समयमा त्यसरी नै पहिरो आएर ज्यान जाने डरले गाउँका सबै लेकतिर गएर बस्ने गरेको दल सिंह बताउँछन्। ‘होस आएपछि हरेक वर्ष यस्तै हुने गरेको छ। कोही त एक चोटी मर्नैपर्छ भनेर पनि जोखिम मोलेर बसेका हुन्छन्। भने, धेरैले त्यस ठाउँबाट बसाँइ सरेर समेत गइसकेका छन्’ उनले भने।   

यस्तै कथा वरपरका अन्य गाउँहरूको पनि छ। स्थानीय सरकारले अहिलेसम्म गाउँमा एउटा गतिलो योजना ल्याउन नसकेको स्थानीयले गुनासो गरेका छन्। ‘गाउँमा नयाँ बनाएको घरहरू एक वर्ष नपुग्दै चिरा पर्छन् तर गाउँपालिका भने विकासका नाममा त्यहि कमसल जमिनमा सडक बनाउने काम गरिरहेको छ’ सिंहले भने। 

बर्खा लाग्ना साथ सबै सडक काटेको माटो गाउँतिर आउने गरेको दल सिंहले बताए। पटकपटक युवाहरूले सडक व्यवस्थित बनाउनुपर्यो भन्दापनि कसैले ध्यान नदिएको उनको गुनासो छ। 

बिहान उठ्दा देखिँदैनन् खेत
ती गाउँका नदीमा बाँध बनेको छैन्। सोही कारण हरेक वर्ष आउने खोलाले खेतहरू बगर बनीसकेका छन्। ‘साँझ राम्रो देखेका खेत बिहान उठ्दा देखिँदैनन्।

यसरी नै खेत बगाउँदै जाने हो भने के खाने होला’ दल सिंह भन्छन्, ‘स्थानीय सरकारले भने त्यसतर्फ ध्यान दिएको देखिँदैन।’ उनका अनुसार डौड गाउँमा मात्र नभई वरपरका अन्य गाउँ पनि पहिरोको उच्च जोखिममा रहेका छन्। 

अन्य वडाको अवस्था पनि उस्तै 
सायल गाउँपालिकाको वडा नम्बर ३ को बेटारा पनि पहिरोको उच्च जोखिममा रहेको छ। थोरै वर्षात हुँदा पनि माटो भासिँएर जान्छ। बेटारामा रहेका ७० घरधुरी मध्ये ४० घर पहिरोको जोखिममा रहेका छन्। 

वर्षा लाग्ना साथ त्यस गाउँका मानिसहरु पनि लेकतिर जाने गरेका छन्। सोही गाउँका देवबहादुर विष्टले भने ‘सायल गाडले गाउँको मुनीतिरबाट कटान गर्दै गएको छ। तर स्थानीय तह र जनप्रतिनिधिहरुले त्यसतर्फ ध्यान दिएका छैनन्।गाउँमा अवस्थित विद्यालय पनि पहिरोको उच्च जोखिमा छ।’ 

त्यस्तै गाउँपालिकाको वडा नम्बर २ पनि पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाकी उपाध्यक्ष विष्नादेवी सिहंले बताइन्। उनका अनुसार वडा नम्बर २ भुटकेला र वडा नम्बर ४ बाहुँनसैन पहिरोका कारण हरेक वर्ष प्रभावित हुने गरेको छ। 

ती ठाउँहरुको भौगोलिक वनावट नै त्यस्तो भएकाले समस्या समाधानका लागि करोडौँ खर्च लाग्ने र गाउँपालिकाको बजेटले नभ्याउने उनको भनाई छ। तर पनि हरेक वर्ष विपद् व्यवस्थापनका लागि १५ देखि २० लाख बजेट गाउँपालिकाले छुट्याउने गरेको उपाध्यक्ष सिंहले बताइन्। 

कमेन्ट लोड गर्नुस