सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कति कर्मचारी आवश्यक ? प्रदेश लोकसेवा आयोगसँग छैन तथ्यांक

२०७८ जेठ २३, ०४:३९ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेश सभाबाट २०७६ साउन ७ गते प्रदेश लोकसेवा आयोग गठन, कार्य, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित भएको थियो। त्यसपछि प्रदेश सरकारलाई कर्मचारी भर्नाका लागि बाटो खुलेको २२ महिना बढी भइसकेको छ।

सोही ऐनको आधारमा गत चैत ९ गते प्रदेश लोक सेवा आयोग गठन गरिएको छ। आयोगका पदाधिकारीले चैत १८ गते पदभार ग्रहण गरेका थिए। आयोग गठन भएको २ महिना बढी भएको छ। 

तर आयोग कर्मचारी भर्नाको प्रक्रियामा आयोग पुगेको छैन्। आवश्यक कार्यविधि, निर्देशिका, मापदण्ड निर्माणमा आयोग अल्झिएको छ। प्रदेश लोक सेवा आयोगसँग सुदूरपश्चिम सरकारका लागि आवश्यक कर्मचारीको तथ्यांक समेत छैन्। 

आयोगका सुदूरपश्चिम अध्यक्ष यज्ञराज बोहराले प्रदेश लोक सेवा आयोगको नियमावलीको ड्राफ्टको काम सकिएको बताए। उनले दिनेशखबरसँग भने, “हामीसँग प्रदेश लोक सेवा ऐन मात्र छ। त्यो आधारमा नियमावली ड्राप्ट गयौं। निर्देशिका, मापदण्ड र आचारसंहिता बनायौं। अब आयोगको बैठक राखेर पास गर्नुपर्ने छ। त्यो भएपछि पूर्वाधार तयार हुन्छ।”

प्रदेश लोक सेवा आयोगका लागि आवश्यक पूर्वाधार तयार भएपछि पाठ्यक्रम तयार गर्ने उनले बताए। पाठ्यक्रम तयार भएपछि कार्यतालिका सार्वजनिक गर्ने उनले बताएका छन्। 

“कुन समयमा कुन परिक्षा लिने भन्ने तालिका निकाल्छौ। त्यो भन्दा पहिले प्रदेशका मन्त्रालयहरु, निर्देशनालयहरु, मातहतका कार्यालयहरुमा आवश्यक कर्मचारीको तथ्यांक माग गर्छाै,” उनले भने। 

प्रदेश लोक सेवा आयोगमा ४५ जना कर्मचारी आवश्यक छन्। तर सबै कर्मचारी आयोगमा पनि छैनन्। अब साउन महिनासम्म दरबन्दी पूर्ति हुने बोहराले बताए। उनले भने, “प्रदेशमा पनि कर्मचारी कम छन्। हामीलाई आवश्यक कर्मचारी पनि आउँदैछन्। प्रदेशबाट पनि माग गरेका छांै। केही कर्मचारी आउने क्रममा पनि छन्। साउन भदौतिर दरबन्दी पूर्ति हुन्छ होला।” 

संघीय लोक सेवा आयोग जस्तै प्रदेश लोकसेवा आयोगको पनि गरीमा राख्नुपर्ने उनले बताए। लोकसेवा आयोगले सूचना सार्वजनिक गर्न अझै समय लाग्ने बताइएको छ।  

कर्मचारीको पदपूर्तिका लागि गठन गरिएको आयोगमै कर्मचारीको अभाव भएको भन्दै गत चैत २४ गते कर्मचारी माग गरिएको थियो। तर सुदूरपश्चिम प्रदेशका मन्त्रालयहरु, मातहतका कार्यालय, स्थानीय तह तथा संस्थानहरुमा समेत कर्मचारीको अभाव छ। 

अहिले प्रदेशमा आवश्यक पर्ने कर्मचारीमा झण्डै ३९ प्रतिशत कर्मचारी दरबन्दी रिक्त छ।  तर प्रदेश सरकारसँग यकिन तथ्यांक भने छैन्। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अन्य मन्त्रालयहरुसँग आवश्यक कर्मचारीको विवरण माग गरेको बताएको छ। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी जगदिश जोशीले भने, “मन्त्रालयहरुलाई आवश्यक कर्मचारीको विवरण माग गरेका छौं। अझै आएको छैन्। उहाँहरुले पनि मातहतका कार्यालयहरुलाई माग गर्नुभएको छ होला। मन्त्रालयबाट आवश्यक कर्मचारीको विवरण आएपछि प्रदेश लोकसेवा आयोगलाई पठाउछाैं।”

सुदूरपश्चिममा २ हजार ३ सय ११ कर्मचारीको दरबन्दी रहेकोमा ४ सय ७० जना प्राविधिक र ४ सय ६३ जना अप्राविधिक गरी ९ सय भन्दा बढी कर्मचारीको दरबन्दी रिक्त छ। 

यसअघि प्रदेश सरकारले करारमा कर्मचारी भर्ना गरेर कार्यसम्पादनलाई शत प्रतिशत सफल बनाउने दाबी गरेपनि गर्न सकिएको छैन। 


 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस