सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैँ मनाउन गएका कर्मचारी फर्किएनन्

२०७५ कार्तिक ७, ०८:४० जनक विष्ट

दशैँ मनाउन विदामा गएका कैलालीका सरकारी कार्यालयका कर्मचारी नफर्किएपछि सेवा प्रवाहमा समस्या भएको छ। दशैँ विदा सकिएर पनि कर्मचारी नफर्किएपछि सेवाग्राहीको बढी चाप हुने कार्यालयलाई कार्य सम्पादनमा जटिलता थपिएको हो। दशैँ विदा लिएर नफर्किनेमा सबैभन्दा बढी धनगढी उप–महानगरपालिकाका कर्मचारी रहेका छन्। जनताको सबैभन्दा नजिकको स्थानीय सरकार उपमहानगरपालिका भएपनि प्रमुख प्रशासकीय अधिकृत सहतिका १६ जना कर्मचारी अझै काममा फर्किएका छैनन्।

कर्मचारी नफर्किएपछि कार्य सम्पादनमा समस्या उत्पन्न भएको छ। धनगढी उप–महानगरपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीले विदामा गएका कर्मचारी आउने क्रम जारी रहेको बताए। कर्मचारी नभएका बेला पनि सेवाग्राहीले समस्या नपाउनु भनेर कार्य व्यवस्थापन गरिएको उनले बताए। सेवाग्राहीको बढि भीडभाड हुने मालपोत र नापी कार्यालयका कर्मचारी पनि दशैँ मनाएर फर्किएका छैनन्।

दरबन्दी अनुसारका कर्मचारी पदपूर्ती नहुदा सेवा प्रवाहमा समस्या खेपिरहेका कार्यालयहरुका कर्मचारीहरु विदा सकिदा समेत नफर्किएपछि थप समस्या उत्पन्न भएको छ। भूमीसुधार तथा मालपोत कार्यालय कैलालीका ६ जना कर्मचारी अझै फर्किएका छैनन्।  कार्यालयका प्रमुख मालपोत अधिकृत ठाकुर प्रसाद सिगदेलले कर्मचारी नफर्किदा कार्य सम्पादनमा जटिलता देखिएपनि जसोतसो व्यवस्थापन गरिरहेको बताए। नापी कार्यालयका पनि चारजना कर्मचारी अझै फर्किएका छैनन्।

जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयमा कर्मचारी अभाव भएका वेला कर्मचारीकै मनपरी तथा गतिलो व्यवस्थापन नभएकै कारण सेवाग्राहीले सास्ती खेप्दै आएका छन्।         
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस