सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा वनकर्मचारीकै मिलमतोमा नयाँ काठमा पुराना छपान नम्बर राखेर काठ कटानी

महामारी र निषेधाज्ञामा वनमाफिया सक्रिय

२०७८ जेठ १८, १०:५६ खबर संवाददाता

धनगढीः कैलालीको गौरीगंगा नगरपालिकास्थित राष्ट्रिय तथा सामुदायिक वनमा ठूलो परिमाणमा सालका रुखहरु अवैध कटान भइरहेको पाइएको छ।

नगरपालिकाको वडा नं ५,७ र ९ मा पर्ने राष्ट्रिय तथा सामुदायिक वनक्षेत्रमा सालका रुखहरु कटान गरि बेवारिसे बनाउने गिरोहहरु सक्रिय भएको स्थानीयहरुले बताएका छन्। 

गौरीगंगा साझेदारी वनका सम्पर्क व्यक्ति दिलबहादुर बोहराले भने, “गत वर्ष नै काठ छपान गरिएको र नेपाल वन निगम लिमिटेड (टीसीएन) धनगढीले काठ संकलन गर्नुपर्ने थियो। तर सरकारले वैज्ञानिक वन कार्ययोजना रोक्का गरेपछि संकलनको कार्य रोकिएको थियो। गत वर्ष नै छपान गरिएका रुखहरु चैत ६ गतेदेखि वन पेशी दिएर टीसीएनमार्फत संकलनको कार्य सुरु गरेको हो। तर पुरानो रुखहरुको नम्बरलाई नयाँ ढलेका रुखहरुमा हाल्दै काठ काट्दै गरेको पाइएको छ।” 

एकातिर कोरोनाले जनजीवन आक्रान्त बनेको छ। सवैको ध्यान कोरोना नियन्त्रणमै केन्द्रित छ। तर अर्कोतिर वन माफियाहरुको ध्यान भने काठको चोरी तस्करीमा केन्द्रित भएको हो। 

स्थानीयका अनुसार गौरीगंगा नगरपालिका–७ स्थित निराजन सामुदायिक वनसँग जोडिएको राष्ट्रिय वन क्षेत्रमा नयाँ रुखहरुमा पुराना नम्बर हालेर रुख काटेर छोडेको पाइएको हो। सो क्षेत्रमा स्थानीय काठका ठेकेदारहरुले छपान, कटान र संकलनको जिम्मेवारी पाएका थिए। उनीहरुले नै नयाँ ढलेका रुखमा पुराना छपान नम्बर हालेर कटान गरि छोडेका हुन्। 

डिभिजन वन कार्यालय धनगढीले आर्थिक २०७६÷०७७ मा कटान स्वीकृत भई गत बर्ष संकलन गर्न बाँकी रहेका काठ संकलन गर्न यस बर्ष म्याद थप गरेको थियो। तर हाल रुख कटानी र संकलनको क्रममा बदमासी भएको पाइएको हो।

नेपाल वन निगम लिमिटेड धनगढी शाखाले कटान आदेश लिएर न्यु प्रार्थना सप्लायर्स धनगढीलाई २०७७ जेठ ७ गतेसम्मका लागि काठ संकलनको म्याद थप गरेको थियो। तर कार्यान्वयनको क्रममा वन निगमले स्वीकृति पाएका र गत बर्ष नै कटान भई संकलन भैसकेका रुखहरुको नम्बर हालै ढलेका नयाँ रुखहरुमा लेखेर अबैध कटान भइरहेको स्थानीय समेत रहेका गौरीगंगा साझेदारी वनका सम्पर्क व्यक्ति बोहराले जानकारी दिए।

काठ कटान र संकलन कार्य सव डिभिजन वन कार्यालय मसुरियाको प्रत्यक्ष निगरानीमा हुनुपर्ने हो। तर त्यस्तो नभएपछि अवैध काठ कटान र संकलन भएको हो। सव डिभिजन वन कार्यालय मसुरियाका कर्मचारीहरु काठका ठेकेदार र तस्करहरुको प्रभावमा परेको समेत स्थानीयको आरोप छ।

खुट्टा कमाउदै वन कार्यालय
सब डिभिजन वन कार्यालय मसुरियाका प्रमुख चन्द्र भण्डारीले आफुहरुले पनि त्यसरीको रुख काटिएको बारे पछि मात्रै जानकारी पाएको बताए। त्यस्ता काटिएका काठहरु संकलन गरेर घाट गड्डी लगाएको दाबी गरे। हाल २८ थान गोलिया बेवारिसे बनाइएको स्थानीयले बताएका छन्। 

तर स्थानीयको विरोधपछि हाल डिभिजन कार्यालय धनगढीले सो प्रकरणबारे अनुसन्धान गर्न अधिकारी नै तोकेको छ। तर अनुसन्धान अधिकारीले भने घटना गम्भीर भएको भन्दै खुट्टा कमाउन थालेका छन्। डिभिजन वन कार्यालय धनगढीका अनुसन्धान अधिकृत डबल बोहराले अनुसन्धान जारी राखेको बताए।

काठ कटान, संकलन र ढुवानीको जिम्मा स्थानीय महेन्द्र बिक र दिपेन्द्र गिरीको समुहले पाएको थियो।

केही दिन अगाडि नगरपालिकाको वडा नं ७ कम्दामा पोखरीमा लुकाएको अवस्था डिभिजन वन कार्यालय धनगढीको टोलीले ३० थान गोलिया बरामद गरेको थियो। 

स्थानीय नरबहादुर बमको पोखरीमा महेन्द्र देउवाले लुकाइ राखेको गोलिया बरामद भएको र देउवालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको छ। वडा नं ९ मा पर्ने शिवशंकर सामुदायिक वनका पुर्वअध्यक्ष महेन्द्र देउवा पनि संकलनको जिम्मा पाएका व्यक्ति हुन्।
 

कमेन्ट लोड गर्नुस