ढोका बन्द थियो, मेरो र छोरीको शरीरमा आगो सल्कियो, झ्यालबाट निस्कन सकिन : डोटीकी लक्ष्मी
धनगढीः “रातिको साढे बाह्र बजेको थियो। मसँग सानी छोरी पनि सुतेकी थिई। मैले कोठाभित्र कसैले केही फालेको जस्तो आवाज सुने। लगातार दुई पल्टसम्म केही फालेझैं लाग्यो, त्यस्तो केही शंका भने मानिन, जब बाहिर केही खसेजस्तो आवाज सुने अनि उठेर हेरेँ, कोही देखिन। तर कोठा बाहिर र भित्र ज्वलनशील पदार्थ फालिएको छ भन्ने थाहा भयो” डोटीमा ज्युँदै जलाएर मार्ने प्रयास गरिएकी डोटीको आदर्श गाउँपालिका ४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटले त्यो रातको घटनाबारे सुनाइन्।
उनी आफूलाई जलाउन डिजेल, मट्टीतेल, पेट्रोल के प्रयोग गरिएको हो त्यो थाहा पाइन भन्छिन्। “म उठेर हेर्न थालेपछि सलाइ कोरेर मतिर फालियो, तर आगो सल्किन पाएन मैले निभाएँ” उनले भनिन्।
“त्यसपछि तुरुन्तै अर्कोपल्ट सलाइ कोरेर फालियो, मेरो शरीरमा आगो सल्कियो। मैले भाग्न खोजेँ तर बाहिरबाट ढोका बन्द गरिएको थियो। म पीडाले गुहार माग्दै कराएँ। कोठामा सानो झ्याल थियो, त्यसबाट निस्किन सम्भव थिएन। मैलै त्यही झ्यालबाट जोरजोरले चिच्याएर सहयोग मागे। मेरो शरीरमा आगो लागिसकेको थियो। सँगै सुतेकी छोरीको शरीर पनि जल्यो। बाहिरबाट गाउँलेहरु आएर हामीलाई बचाएँ”, उनले भक्कानिदै भनिन्। सँगै सुतेकी छोरी अञ्जुको पछाडिको शरीर ढाड जलेको उनले बताइन्।
श्रीमानमाथि आशंका
लक्ष्मी गत फागुन महिनादेखि श्रीमानसँग भेट नै नभएको बताउँछिन्। आफूलाई जलाएर मार्ने प्रयास कसले गर्यो त्यो थाहा नपाए पनि उनका श्रीमान सन्तोषले नै गरेको हुनुपर्ने उनी ठोकुवा गर्छिन्।
उनले भनिन्, “कसले जलायो, कति जना थिए, को थियो त्यो त मैले देख्न पाइँन। अहिले मेरा श्रीमान फरार छन्, मलाई उनीमाथि शंका छ।”
उनी आफू श्रीमानसँग नबसी अलगै बस्ने गरेको बताउँछिन्। लक्ष्मीका अनुसार उनका श्रीमान सन्तोष भाटले तीन वर्ष अगाडी दोस्रो विवाह गरेका थिए। “माया बसेर तीन वर्ष अगाडि उनले सौता ल्याए, सौताबाट एउटा छोरा छ” उनले भनिन्। सन्तोष कान्छी श्रीमतीसँग पछेरी गाउँ बस्दै आएको उनी बताउँछिन्।
परिवारका सासू ससुरा पनि अलग्गै बस्ने गरेको उनले बताइन्। लक्ष्मीका तीन छोरी छन्। जेठी छोरी अनु ७ वर्षकी, माइली छोरी अनिशा ४ वर्षकी र कान्छी छोरी अञ्जु २ वर्षकी छिन्।
के भन्छ प्रहरी ?
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार लक्ष्मीले आफ्ना श्रीमानविरुद्ध किटानी जाहेरी दिइसकेकी छिन्। प्रहरीले फरार रहेका उनका श्रीमानको खोजी कार्य गरिरहेको बताएको छ।
लक्ष्मी र उनकी छोरीको अवस्था सामान्य नै रहेको प्रहरीले बताएको छ भने उनको उपचारमा संलग्न दिपायल राजपुरस्थित सुजङ अस्पतालका चिकित्सकहरुले लक्ष्मीको शरीरको ६० प्रतिशत भाग जलेको बताएका छन्।
लक्ष्मीलाई यही जेठ १२ गते बुधबार राति सुतिरहेको अवस्थामा ज्वलनशील पदार्थ छर्केर आगो लगाई मार्ने प्रयास गरिएको थियो। जलेर गम्भीर घाइते भएकी उनलाई सोमबार थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ।