सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा कोभिड केयर सेन्टर: जनशक्ति र उपकरण कमीले बढेन आकर्षण

२०७८ जेठ १६, ०८:५६ नारायण अवस्थी

धनगढीः भौतिक संरचना पर्याप्त भएर पनि गेटा मेडिकल कलेजमा सञ्चालनमा आएको कोभिड केयर सेन्टरमा कोभिड उपचारमा आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन अझै हुन सकेको छैन। 

प्रदेशकै कोभिड उपचारको भरपर्दो केन्द्र बनाउने उद्घोष गरिए पनि खाली शय्याले मात्रै बिरामीको उपचार नहुने हुँदा जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताइएको छ। 

गेटा मेडिकल कलेजमा कोभिड उपचार र व्यवस्थापनका लागि आइसोलेसन सेन्टर बनाउने चर्चा चलेको एक महिनापछि जेठ ९ गते ५० शय्याको कोभिड १९ स्याहार केन्द्र सञ्चालनमा ल्याइएको हो।

धनगढीका स्थानीय प्रमोद पाठकले भने, “गेटामा कोभिड उपचार केन्द्र स्थापना गर्न सबैभन्दा उपयुक्त हुने धारणा सर्वसाधारणको समेत रहेको छ। “गेटामा कोभिड उपचारको लागि प्रयाप्त ठाउँ छ। त्यहाँ तीनै तहको सरकारले कोभिड उपचारका लागि भरपर्दो व्यवस्थापन गर्नुपर्छ। गेटा एकान्त ठाउँमा पनि छ तसर्थ त्यहाँ उपचार गर्न सरकारहरुले प्रभावकारी योजना ल्याउन ढिला गर्नु हुन्न।” 

गेटा मेडिकल कलेजमा सुरुमा ५ सय शय्याको आइसोलेसन सञ्चालन गर्ने र आवश्यकताको आधारमा २ हजार शय्याको समेत व्यवस्थापन गर्न सकिने अधिकारीहरुले बताएका थिए। 

तर अहिले ५० शय्याबाट सुरुवात गरिएको भएपनि आइतबारसम्म त्यहाँ १० जना मात्रै कोभिडका बिरामी उपचारका लागि भर्ना भएका छन्। २ जनालाई सेती प्रादेशिक अस्पतालमा रेफर गरिएको छ। हाल गेटामा अक्सिजन दिन सकिने व्यवस्था भएपनि एक्सरे गर्ने सुविधा भने छैन। एक्सरे गर्न बिरामीलाई मालाखेती अस्पताल लग्नुपर्ने अवस्था छ। 

“गेटामा कोभिड उपचार केन्द्र सञ्चालन गर्न दक्ष स्वास्थ्यकर्मीहरु जस्तै डक्टरहरु, प्यारामेडिक्स, नर्सीङ स्टाफहरु, वार्ड बोयहरुको साथै उपचारका लागि औषधि, प्रयोगशाला, एक्सरेलगायतको भरपर्दो व्यवस्था आवश्यक हुन्छ” नेपाल चिकित्सक संघ प्रदेश अध्यक्ष डाक्टर प्रदिप मिश्रले दिनेखबरसँग भने, “खानेपानी, बिजुली, शय्या, अक्सिजन सप्लाइको सुविधा समेत हुन आवश्यक पर्ने हुन्छ।”

चिकित्सकहरुले भरपर्दो उपचारका लागि आवश्यक मापदण्ड बारे बताइरहँदा गेटामा भने एक जना मेडिकल अधिकृतको नेतृत्वमा १६ जनाको उपचार समूह खडा गरिएको छ। जुन कोभिड उपचारका लागि न्यूनतम जनशक्ति पनि होइन। यसरी गेटामा जनशक्तिको व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय सरकार अहिलेसम्म असफल देखिएका छन्। जसको कारण गेटामा उपचार गर्न आउनेहरु बढ्न नसकेका हुन्।
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस