सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका निजी अस्पतालहरु कोभिडका बिरामीबाट चर्को शुल्क असुल्दै

२०७८ जेठ १३, ०७:५१ नारायण अवस्थी

धनगढी: धनगढीका निजी अस्पतालहरुले कोभिडका बिरामीबाट चर्को शुल्क असुल्न थालेको  छन्।

कोभिडका बिरामीबाट जथाभाबी शुल्क असुल्दा पनि प्रदेश सरकार र स्थानीय प्रशासन भने रमिते बनेको भन्दै पीडितले आक्रोश पोख्न थालेका छन्। सुदूरपश्चिम प्रदेशमा कोभिड बढेसँगै निजी अस्पतालहरुले पनि बिरामीको उपचार गर्नु पर्ने प्रदेश सरकारको निर्णयले निजी अस्पतालहरु मालामाल हुँदै गएको पिडितले बताउन थालेका हुन्। निजी अस्पतालहरुले बिरामीबाट पैसा असुल्ने नियतले नै अस्पतालको क्षमताभन्दा बढी बिरामी राखेर उपचार गर्न थालेको बताइएको छ।

दोस्रो लहरको कोभिड आएसँगै निजी अस्पतालहरुले पनि कोभिडका बिरामीको उपचार गर्नुपर्ने प्रदेशको सामाजिक विकास मन्त्रालयको निर्णयको कारण सुदूरपश्चिम प्रदेशका सयौ कोभिड संक्रमितले खल्ती मात्रै रित्तिएको छैन ऋण समेत लागेको बताउन थालेका छन्। धनगढी र अत्तरियामा रहेका निजी अस्पतालहरुमा कोभिडको उपचार गरेर घर फर्किएका र हाल अस्पतालमा रहेका मध्ये धेरैले उपचारको क्रममा अस्पतालहरुले ब्रह्मलुट मच्चाउने गरेको गुनासो गर्न थालेका छन्।

“अस्पतालमाभन्दा घरमा उहाँलाई निको हुँदैछ। उहाँलाई तीन दिन अस्पतालमा राखेर उपचार गर्दा अस्पतालले ७० हजार लियो, पछि पैसा सक्किएर डिस्चार्ज मागेको डाक्टरले निकै रिसाएर डिस्चार्ज दिए। व्यवहार पनि राम्रो गर्दैनन्।” धनगढीको एक निजी अस्पतालमा आफ्ना पतिको उपचार गराएको बताउने एकजना सर्वसाधारणले दिनेशखबरसँग भने।

माथिको प्रतिनिधि उदाहरण मात्रै हो। निजी अस्पतालमा कोभिडको उपचार गरेका प्राय बिरामी र उनका आफन्तले समान पिडा भोग्नु परेको बताएका छन्।

सुदूरपश्चिममा अस्पतालहरुबाट कोभिड संक्रमण फैलिएको भन्दै निजी अस्पतालहरुमा कोभिडका बिरामीको उपचार गर्न नहुने माग उठेपनि सो कुराको अहिलेसम्म कुनै सुनवाइ भएको छैन।। निजी अस्पतालहरुले ५ शय्या र १० शय्यामा मात्रै कोभिड संक्रमितको उपचार गर्ने आफ्नो क्षमता भएको भन्दै सामाजिक विकास मन्त्रालयसँग सम्झौता गरेको भएपनि चर्को शुल्क लिएर पैसा कमाउन सम्झौताभन्दा तेब्बरको सङ्ख्यामा बिरामीको उपचार गर्न थालेको बताइएको छ।

निजी अस्पतालहरुसँग कोभिडका बिरामीको उपचार खर्च प्रदेश सरकारले भुक्तानी गर्ने निर्णय भएको थियो। सोही निर्णयको दुरुपयोग गर्दै निजी अस्पालहरुले सम्झौताभन्दा तेब्बर बिरामी राखेर चर्को पैसा असुल्ने नियतले उपचार गरिरहेको बताइएको छ। तर प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले भने सम्झौता गरिएको शय्याभन्दा अधिक बिरामी राखेर कुनै पनि निजीअस्पतालले पैसा कमाउने नियतले काम गर्न नपाउने बताए।

“कारबाहीको दायरामा आउँछन्। हामी ५ बेड मात्रै राख्न सक्छौँ, १० बेड मात्रै राख्न सक्छौँ। हाम्रो क्षमता त्योभन्दा बढी छैन भनेपछि सम्झौता बमोजिम ५ या १० बेडमा बिरामी राखेर उपचार गर्ने र उपचार खर्च मापदण्ड अनुसार प्रदेश सरकारले दिने सम्झौता भएको हो। सम्झौता बिपरित गरेको भए कारबाही हुन्छ।” मन्त्री सुवेदीले भने।

धनगढीका केही निजीअस्पतालहरुले भने प्रदेश सरकारसँग सम्झौता नै नगरेर कोभिड संक्रमितको उपचार गरिरहेको बताइएको छ। सम्झौता गरेका अस्पतालहरुले पनि उपचार गर्नुको नियत पैसा कमाउनु मात्रै रहेको जस्तो व्यवहार गरेको पीडितहरुले बताएका छन्।

एकातर्फ निजी अस्पतालहरुले चर्को रकम असुल्दै छन् भने अर्को तर्फ कोभिड फैलिने केन्द्र समेत तिनै अस्पतालहरु भइरहेका बेला डिसिसिएमसी अन्तरगतको द्रूत कार्य समूहको निर्णयले निजीअस्पतालमा कोभिडको उपचार रोक्ने र गेटामा रहेको आइसोलेसन सेन्टरमा कोभिड उपचार केन्द्रित गर्नुपर्ने निर्णय गर्न अनुरोध गरिएको भएपनि प्रदेश सरकारबाट कुनै सुनुवाइ नभएको खुल्नमा आएको छ।

“गत बैशाख २१ डिसिसिएमसी अन्तरगतको द्रूत कार्य समूहको बैठकले निजी अस्पतालहरुबाट कोरोना फैलिइरहेको र नन–कोभिड बिरामकिो उपचारमा समस्या भएकोले प्रदेश सरकारको निजी अस्पतालहरुले कोभिडका बिरामीको उपचार गर्नुपर्ने निर्णयमा पुनःविचार गर्न अनुरोध गरिएको थियो। तर त्यसको कुनै जवाफ आएको छैन।” जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए।

प्रदेशको सामाजिक विकास मन्त्रालयले निजीअस्पतालहरुले बिरामीको उपचार गर्दा सामान्य अवस्थाको भए दैनिक ३ हजार, मध्यम जटिल अवस्था भए ७ हजार र आइसियूमा राखेर उपचार गर्नुपर्ने विरामीको १५ हजार उपचार खर्च सामाजिक विकास मन्त्रालयले भुक्तानी गर्ने सहमति भएको जनाएको छ। तर धनगढीका निजी अस्पतालहरुले भने कोभिडको बिरामीहरुबाट मनपरी रकम असुल गरिरहेका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस