सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरिदै सुदूरपश्चिम प्रदेश सभामा एमाले भित्रको समीकरण

२०७८ जेठ १२, ०५:४५ नारायण अवस्थी

धनगढीः २५ जना सांसद सहित प्रदेश सभामा सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा एमालेको अन्तरिक समीकरण परिवर्तन भएको दाबी गरिएको छ।

पार्टीको स्थायी कमिटीले प्रदेश सरकारबाट एमालेका मन्त्रीहरुलाई फिर्ता बोलाएसँगै सो निर्णयको कार्यान्वयन गर्न संसदीय दलका नेता समेत रहेका आन्तरिक मामिला मन्त्री प्रकाशबहादुर शाह बाधक रहेको बताइएको छ। शाह एमालेका कारबाहीमा परेका नेता माधव नेपाल–झलनाथ खनाल पक्षिय नेता हुन्।

हिजो मंगलबार नेपाल– खनाल पक्षका सांसदहरुलाई मात्रै बोलाएर बैठक गरेका प्रकाशबहादुर शाहले आज बोलाइएको संसदीय दलको बैठकमा २१ जना सदस्यको उपस्थिति भएपनि बहुमत सदस्यको भावना विपरित संसदीय दलको नेताले आफूखुशी निर्णय गरेर पार्टीको स्थायी कमिटीले गरेको निर्णयलाई चुनौति दिने काम गरेको पूर्व मन्त्री पठानसिंह बोहराले दिनेशखबरलाई बताए।

“आज अत्यन्त भ्रमपूर्ण सन्देश जानेगरी साथीहरुले निर्णय गरेका छन्। हाम्रो आज संसदीय दलको बैठकमा वादविवाद भयो निर्णय सर्वसम्मत हुन सकेन। हामीले उठाएको कुरामा पनि सहमति भएन उहाँहरुले उठाएको कुरामा पनि सर्वसम्मति हुन सकेन। निर्णय पुस्तिकामा उहाँहरुले आफूखुशी निर्णय लेख्नु भयो। जुन खेदजनक छ।” सांसद पठानसिंह बोहराले भने।

सुदूरपश्चिम प्रदेशको संसदीय दलमा नेकपा एमालेका सभामुख सहित २५ सदस्य रहेका छन्। जसमध्ये नेपाल–खनाल पक्षमा बहुमत सदस्य रहेको बताइदै आएको छ। तर नेपाल–खनाल समूह पार्टीमा कारबाहीमा परेसँगै नेपाल पक्षमा उभिएका नेताहरुले पार्टी आधिकारिक निर्णय मान्नुपर्ने मत राख्न थालेको सांसद बोहराको दाबी छ।

नेकपा एमालेमा विवाद आउँदा सुरुमा ६ जना सांसद मात्रै ओली समूहमा खुलेर लागेका थिए भने माधव नेपाल–झलनाथ खनालले पार्टी विरोधी गतिबिधी नरोक्दा र कारबाहीमा समेत परेकोले पार्टीको आधिकारीक पक्षमा लाग्ने सांसदहरुको संख्या बढ्दै गएको आर्का सांसद लिलाधर भट्टले दाबी गरेका छन्।
क–कसले छोडे नेपाल–खनाल गुट
यो भन्दा अगाडि नेपाल–खनाल पक्षमा १९ जना सांसद रहेको बताइने गरेको थियो। ओली पक्षमा भने ६ जना सांसद मात्रै रहेको बताइने गरेको थियो। ती सांसदहरुमा पठानसिंह बोहरा, लिलाधर भट्ट, गेल्बुसिंह बोहरा, रतन थापा, माया तामाङ बोहरा र नेपालु चौधरी थिए भने विगतमा नेपाल–खनाल पक्षमा रहेका तारा लामा तामाङ, कुलबिर चौधरी, बलदेव रेग्मी, मना साउँद, अर्चना गहतराजले पार्टीको आधिकारिक पक्षको समर्थन गरेको दाबी गरिएको छ। यसैगरी बैठकमा मौन बसेका वन मन्त्री माया भट्ट, चुनकुमारी चौधरी, सुशीला बुढाथोकी र बलबहादुर सोडारी सहित अरु नेताहरुले पनि पार्टीको आधिकारिक लाइनलाई नै समर्थन गर्ने सांसद पठानसिंह बोहराले बताए। योसँगै संसदीय दलमा आफूहरुको बहुमत पुग्ने दाबी उनको छ।
के भन्छ अर्काे पक्ष?
एमालेको संस्थापन पक्षका नेताहरुले संसदीय दलको बैठकमा जवरजस्ती निर्णय गर्ने काम भएको आरोप लगाइ रहदा नेपाल–खनाल पक्षका सांसद दीर्घ सोडारीले भने संसदीय दलको बैठकमा सर्वसम्मत निर्णय भएको दाबी गरेका छन्। उनले एमाले पार्टीको नेतृत्वमा सरकार बन्ने सुनिश्चित भएपछि मात्रै सरकारबाट बाहिरिने निर्णय गर्नु उपयुक्त हुने ठानेर तुरुन्तै सरकार नछोड्ने निर्णय भएको बताएका छन्। “हामीले पार्टीको स्थायी कमिटीको निर्णय मान्दैनौँ भनेका छैनौँ तर परिस्थिति परिपक्व नभएको र बजेट ल्याउनुपर्ने भएकोले सरकारबाट नबाहिरिने निर्णय भएको हो।” सोडारीले भने।

नेपाल– खनाल सहित केन्द्रमा ११ जना नेता कारबाहीमा परेसँगै सुदूरपश्चिम प्रदेश सभाका सांसदहरुले पनि पार्टीको आधिकारिक निर्णय मान्नु पर्ने होइन भने कारबाही भोग्न तयार हुनुपर्ने बाध्यता आइलागेको छ। एमालेभित्रको समीकरण जेजस्तो भएपनि त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारको भने आयु घट्दै आएको विश्लेषण गरिन थालेको छ।

हाल ५३ मध्ये १ खाली रहेको प्रदेश सभामा एमालेका २५, नेकपा माओवादी केन्द्रका १३, कांग्रेसका १२ र राजपाका २ जना सांसद छन्। सरकार बनाउन २७ जना सांसद आवश्यक हुन्छन्। एमालेले भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्नो नेतृत्वमा सरकार बनाउने दाबी गरेपनि संसदको समीकरण हेर्दा सरकार बनाउन भने त्यति सजिलो छैन।  

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस