सुदूर नेपाललाई विश्वसँग जोड्दै

गड्डाचौकी सीमानाकामा जे देखियो...

२०७८ जेठ १२, ११:५० विन्दु चन्द

धनगढीः मंगलबार कञ्चनपुरको गड्डाचौकी सीमानाकामा पुग्दा त्यहाँ भारतबाट आउने नेपाली नागरिकहरुको सहज रुपले व्यवस्थापन भइरहको थियो। 

सीमाबाट आउने सुदूरपश्चिमका ९ वटै जिल्लाका नागरिकका लागि छुट्टा छुट्टै अस्थायी होल्डिङ सेन्टर स्थापना गरिएको छ भने सुदूरपश्चिमबाहेक अन्य जिल्लाहरुका लागि पनि छुट्टै होल्डिङ सेन्टर बनाइएको छ। 

भिमदत्त नगरपालिका र नीड्स नेपाल नामक संस्थाको सहयोगमा सो होल्डिङ सेन्टर बनाइएको हो। उक्त होल्डिङ सेन्टरको निर्माण नेपाली सेनाले गरेको थियो भने  व्यवस्थापनको जिम्मा पनि नेपाली सेनाले लिएको छ। 

भारतबाट आउने नेपालीनागरिकलाई आ आफ्नो होल्डिङ  सेन्टरमा होल्ड गरि उनीहरुको गन्तव्य पहिचान गरेर मात्रै पठाउने गरिएको श्री दल गुल्मका उप सेनानी विजय गुरुङले बताए। 

तीनै तहको सुरक्षा निकायहरु व्यवस्थापनमा खटिएका छन्। सशस्त्र प्रहरीले भारतबाट आउने नेपाली नागरिकको विवरण राख्छ भने नेपाल प्रहरीले उनीहरुको जिल्ला तथा स्थानीय तह पहिचान गरि गन्तव्यमा पठाउने गरेको छ।   

“जो जुन ठाउँको हो उसलाई जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर पठाइरहेका छौँ,” व्यवस्थापनमा खटिएका प्रहरी नावय निरीक्षक व्यापक शाहले भने।

सीमाबाट आउने सबै नागरिकको एन्टिजेन बिधिबाट कोरोना परीक्षण गरेर पठाउने गरिएको बताइएको छ। कोरोना पुस्टि भएकाहरुलाई हेल्थ डेस्कबाटै एम्बुलेन्स मार्फत अस्पताल लग्ने गरेको र अन्यलाई होल्ड गरी जिल्ला पहिचान गरेर पठाउने गरेको शाहले बताए। 

घाम पानी असिना हुरीबाट जोगीन अस्थायी होल्डिङ सेन्टर निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए। “पहिले भारतबाट आउने नागरिकले खुल्ला चौरमा चर्को घाममा बस्नु पर्ने अवस्था थियो, भारततर्फको भूमिबाट बस लगेर लिनुपर्ने हुँदा नेपाली नागरिकलाई कठिनाई थियो तर अहिले सहज भएको छ।” उनले भने। 

कञ्चनपुरबो गड्डाचौकी सीमानाकाबाट आउने नागरिकको जिल्ला, पालिका र वडा नम्बर छुट्याएर वर्गीकरण गरेर सम्बन्धित स्थानिय प्रशासन र पालिकालाई जानकारी गराएर पठाउने गरेको प्रमुख जिल्ला अधिकारी महतोले बताए। 

यस्तै कोरोना पुस्टि भएकाहरुका लागि युनिसेफको सहयोगमा अस्पताल पुर्याउन सीमामै बस राखिएको महतोले बताए। 

निषेधाज्ञाको सुरुवातीमा ५ सय बढी नेपाली नागरिक आउने गरेकोमा अहिले घटेर १ सयको हाराहारीमा पुगेको छ। सय जनाको कोरोना परिक्षण गर्दा ५ प्रतिशतमा संक्रमण पुस्टि भइरहेको ल्याव टेक्निसियन लक्ष्मी रिमालले बताइन्। 


 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस