सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोभिड १९ को दोस्रो लहरको संक्रमणका कारण संघीय सरकारका ठूला पूर्वाधारका योजना प्रभावित

२०७८ जेठ १२, ०७:०७ नारायण अवस्थी

कैलालीमा संघीय सरकारको बजेटमा निर्माण भइरहेका ठूला पूर्वाधारका योजनाको काम कोभिडको दोस्रो लहरको संक्रमणले प्रभावित हुँदा पुँजीगत बजेट खर्चको अवस्था दयनीय रहेको पाइएको छ। जिल्लामा संघीय सरकारको बजेटमा निर्माण भइरहेका पूर्वाधारका योजनाको काम सुरु हुने बेला र आर्थिक वर्षको अन्तिम चौमासिक लाग्दा कोभिड संक्रमण बढ्दा बजेट खर्च न्यून भएको अधिकारीहरुले बताएका छन्।

दोस्रो चौमासिकमा ३१ प्रतिशत बजेट  खर्च गर्न सफल भएका संघीय सरकारका दश ठूला पूर्वाधारका योजनाको प्रगतिको अवस्था अन्तिम चौमासिकको ५० दिन मात्रै बाँकी रहेको बेला केवल ८ प्रतिशतले बृद्धि भएर ३९ प्रतिशत मात्रै पुगेको हो।

पहिलो र दोस्रो चौमासिकमा समेत खर्चको अवस्था सन्तोषजनक नरहेको देखिएका बेला तेस्रो चौमासिकमा पनि उस्तै स्थिती रहेको पाइएको हो। कैलाली जिल्लामा सङ्घीय सरकारको बजेटमा १० ठूला पूर्वाधारका आयोजना सञ्चालन भइरहेपनि योजनाहरुको प्रगती विवरण आशा गरे भन्दा फरक रहेको पाइएको छ। पुँजिगततर्फ २ अर्व ५९ करोड ५५ लाख बजेट रहेको क्षेत्रीय आयोजना कार्यान्वयन इकाईले तेस्रो चौमासिकमा २९ प्रतिशत खर्च गर्ने लक्ष्य राखेको भएपनि हालसम्म ३६ करोड ६० लाख खर्च गरेर १४ प्रतिशत मात्र प्रगति गरेको छ। आयोजनाले नगर क्षेत्रमा सडक, ढल र सरकारी भवन निर्माणका लागि बहुवर्षिय ठेक्का गरेको भएपनि यो वर्ष भने कोभिडको कारण प्रगति कम देखिएको संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी झङ्क थापाले बताए।

पुँजिगततर्फ ४२ करोड ५८ लाख बजेट पाएको हुलाकी सडक योजना कैलालीले हालसम्म ३९ करोड ८१ लाख खर्च गर्दै ९३ प्रतिशत प्रगति गरेको छ। सबैभन्दा बढी प्रगाति गरेको हुलाकी सडक योजनाले अहिले कोभिडका कारण काम बन्द जस्तै रहेको जनाएको छ। कोभिड संक्रमण नभएको भए थप २० करोड खर्च गर्ने लक्ष्य रहेको योजना कार्यालयले दाबी गरेको छ। हुलाकी सडक योजना कार्यालय धनगढीमा सूचना अधिकारी पदमबहादुर मडैले यो वर्ष कोभिडका कारण हुलाकी सडकको काम प्रभावित भएको बताए।

निर्माणको अन्तिम चरणमा रहेको धनगढी–मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजनाले भने अरु भन्दा राम्रो प्रगति गरेको छ। तर यो आयोजनामा पनि कोभिडका कारण समयमै काम सम्पन्न गर्न भने चुनौति थपेको बताइएको छ। पुँजीगततर्फ ४९ करोड १७ हजार बजेट पाएकोमा ४१ करोड १९ लाख खर्च गर्दै ८४ प्रतिशत प्रगति गरेको उक्त योजनाको दोस्रो चौमासिकसम्म आउँदा भने ६५ प्रतिशत प्रगति हासिल गरेको थियो। तेस्रो चौमासिकमा कोभिडका कारण नै प्रगति हासिल गर्ने गति घटेको ६ लेन सडक आयोजना कार्यालयका सूचना अधिकारी लक्ष्मण रावलले दिनेशखबरलाई बताए।

यी बाहेककका रानी–जमरा–कुलरीया सिंचाइ आयोजना, परियोजना कार्यान्वयन इकाइ, रानी जमरा सिचाई आयोजना कृषितर्फ, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति, सहजपुर–बोक्टान–दिपायल सडक, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना गरेर कैलालीमा १० ठूला पूर्वाधारका योजनामा मात्र ८ अर्ब ७९ करोड बजेट विनीयोजन गरिएको छ। त्यसमा हालसम्म ३९ प्रतिशत मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ। जुन दोस्रो चौमासिक भन्दा ८ प्रतिशतले मात्रै बढी हो।
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस