सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक वडा कार्यालयमा चोरी, स्वास्थ्य भवनमा आगजनीको प्रयास

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ जेठ ८, १०:५१ खबर संवाददाता

हसुलियाः कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयमा चोरी भएको छ। 

शुक्रबारराति वडा कार्यालयमा चोरी भएको हो। साथै, स्वास्थ्यको भवनमा आगजनीको प्रयाससमेत गरिएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए। 

चोरले वडा कार्यालयको ताला तोडेर एउटा एलसीडी, चार हजार रुपैयाँ र पानी तान्ने मोटर चोरेको गाउँपालिकाका अध्यक्ष चौधरीले बताए। उनका अनुसार चोरले सीसी क्यामेरामासमेत क्षति गरेको छ। सीसी क्यामेरा जडान गरिएको कम्प्युटरको हार्डडिस्क निकालेर फालेको जनाइएको छ। सो हार्डडिस्क फेला परे पनि नचलेका कारण त्यसमा रेकर्ड फुटेज हेर्न नसकिएको अध्यक्ष चौधरीले बताए। ‘हार्डडिस्क खुलेमा चोर पत्ता लाग्न सक्छ’, उनले भने। 

यसअघि पनि सोही वडा कार्यालयबाट ७५ हजार रुपैयाँ चोरी भएको थियो। पहिले र अहिलेको चोरी घटनाको प्रकृति एउटै देखिएकाले पहिले चोरी गरेकै चोरले यसपटक पनि चोरी गरेको हुन सक्ने आफूहरुको आशंका रहेको चौधरीको भनाइ छ। उनले वडा र स्वास्थ्य कार्यालयको नयाँ भवनमा घेरबार नभएकाले चोरीको समस्या हुँदै आएको र यस्तो कार्यमा जड्याहा वा लागुऔषध प्रयोगकर्ताको संंलग्नता हुन सक्ने बताए। 

यसैगरी, चोरले सोही वडाको स्वास्थ्य कार्यालयमा आगजनीको प्रयास गरेको छ। स्वास्थ्य भवनको ताला तोरेर ढोकामा पराल जलाइएको जनाइएको छ। घटनामा संलग्न दोषीलाई पत्ता लगाउनका लागि प्रहरीले अनुसन्धान गरिरहेको अध्यक्ष चौधरीले बताए।
 

कमेन्ट लोड गर्नुस