सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई दशकसम्म सडक ग्राबेल हुन सकेन

२०७५ कार्तिक २, ०९:०४ नरेन्द्र कार्की

गोकुलेश्वर खार खलङ्गा सडक दुई दशकसम्म पनि अझै ग्राबेल हुन सकेको छैन । महाकाली लोकमार्गको दार्चुला खलङ्गा जोड्ने वैकल्पिक छोटो मार्गको रुपमा प्रयोग गर्न सकिने गोकुलेश्वर खार खलङ्गा सडक निर्माण शुरु भएको बीस वर्ष बितिसक्दा पनि अझै अलपत्र छ । आर्थिक वर्ष ०५५÷५६ मा निर्माण शुरु भएको सडकमा ०७३÷०७४ मा अस्थायीरुपमा ट्रयाक खुलाइएको थियो । कूल ४४ किलोमिटर सडक निर्माण बेला बेला पहिरोका कारण अवरुद्ध हुने गरेको छ । 

असारमा आएको बाढीका कारण सो सडकखण्ड पूरै अवरुद्ध भएको थियो । कूल ४४ किलोमिटर सडकमध्ये गोकुलेश्वरको कर्कलेदेखि २८ किलोमिटर र खलङ्गादेखि सात किलोमिटर सडकको अस्थायी ट्रयाक खुलाउन कामको लागि खाद्यान्न कार्यक्रमले पहल गरेको थियो । सो कार्यक्रम बाहिरिएपछि सडक निर्माणको जिम्मा ग्रामीण विकेन्द्रीत तथा पूर्वाधार कार्यक्रमले लिएको थियो । सडक निर्माणको लागि भएको खर्च विवरण उपलब्ध नगराइएको र अहिलेसम्म पनि सडक ग्राबेल गर्नेतर्फ कसैले ध्यान नदिँदा सो सडक सञ्चालनमा समस्या भएको स्थानीय बासिन्दा बहादुर टमटाले बताए । 

वैकल्पिक सडक हुँदाहुँदै पनि सडक निर्माण अब कसले गर्ने भन्ने अन्योल रहेको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए । गत वर्षसम्म सडक डिभिजन कार्यालय पाटन बैतडीले ठाउँठाउँमा सडक खुलाउने काम गरेको थियो । अहिले सडक प्रदेश मातहत रहने कि केन्द्रीय राजमार्गअन्तर्गत राख्ने भन्ने कुरा उठ्दै आएको छ । सो सडकलाई प्रदेशको गौरबको योजनाको रुपमा अघि बढाउने गरी छलफल भइरहेको प्रदेश सभासद् मानबहादुर धामीले बताए । “अहिले नै सडक प्रदेश मातहत जाने पक्कापक्की भएको छैन,” उनले भने– “तर यो सडकलाई सदरमुकामदेखि होपरीगाड, सिप्टी, मार्मा र अपि हिमाल जोड्ने गरी प्रदेश गौरवको योजना बनाउने सोच बनाएका छौँ ।” 
 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस