डडेल्धुरामा बाढीले निर्माणाधीन मोटरेबल पुल बगायो
डडेल्धुराः डडेल्धुरामा लगातारको अविरल वर्षासँगै आएको बाढीले निर्माणाधीन मोटेरेबल पुल बगाएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका– ३ र नवदुर्गा गाउँपालिका–३ लाई जोड्ने लमखेती गाडको सकाइल खण्डमा सडक विभागले निर्माण गरिरहेको पुल बुधबारदेखि परिरहेको वर्षासँगै आएको बाढीले बगाएको हो।
सकाइल हुँदै नवदुर्गा गाउँपालिकाको डाँणा वन जोड्ने सडकखण्डको लमखेती गाडमा निर्माण भइरहेको पुल बगाएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले बताए। पाँच करोड ५२ लाखमा ठेक्का पाएको राजेन्द्र चाँदनी जेभीले पुल निर्माणको काम गरिरहेको थियो।
जेभीका सञ्चालक आकाश गुरुङले एक्कासी आएको बाढीले ड्याम थुनिए पनि पुल बगाएको बताए। उनका अनुसार करिब ६ वर्षअघि ठेक्का सम्झौता भएको उक्त पुलको सम्झौता अवधि आउँदो असारमा सकिँदैछ थियो भने शुक्रबार पुलको ढलान गर्ने तयारी गरिएको थियो।
तर त्यस अगावै आएको बाढीले पुल भत्काएपछि अब सबै काम प्रभावित भएको गुरुङले बताए। उनले अहिले पनि वर्षा जारी रहेकाले काम गर्न सक्ने अवस्था नरहेकाले भदौपछि मात्र बाँकी निर्माण कार्यअगाडि बढाउने बताए।