सुदूर नेपाललाई विश्वसँग जोड्दै

महामारीको जोखिम नटर्दै भारत जाने नेपालीहरूको संख्या पुनः बढ्यो

सुदूरवासीमा रोगभन्दा भोकले मरिने त्रास

२०७८ जेठ ७, ०९:२६ सरेन जैरू

धनगढीः बिहिबार साँझ अछामका रेवन्त साउँद निधारमा रातो टिका र काँध ठूलो झोला बोकेर भारत जानका लागि गौरीफन्टा नाका पुगेका थिए। यो महामारीमा जोखिम मोलेर भारत जानु उनको रहर होइन, बाध्यता थियो। त्यो कुरालाई उनको मलिनो अनुहारले स्पस्ट पारेको थियो।

भारतमा कोरोना महामारी विकराल रूपमा फैलिएपछि एक महिना पहिले नेपाल फर्किएका उनी स्वदेशमा बिहान बेलुकाको छाक टार्नसमेत मुस्किल हुन थालेछि बालबच्चा बोकेर पुनः भारत पलायन हुन बाध्य भएका हुन्।

'भारतमा कोरोना महामारी फैलिएपछि एक महिना पहिला घर आएको थिँए।' साउँदले भने, 'आफ्नो देशमा रोजगारी छैन, आयआर्जन गर्ने कुनैपनि बाटो छैन्। पेट पाल्न र बालबच्चा पाल्नकै लागि भएपनि फेरी भारत जान लागेको हुँ।'

यो महामारीमा ज्यानको जोखिम मोलेर भारत पलायन हुने उनी एक्ला होइनन्। कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाका भएर दैनिक २ सयदेखि ३ सयको संख्यामा नेपालीहरू रोजगारीको लागि भारत जाने गरेका छन्।

कैलालीका टेकबहादुर बिक पनि आफ्नो पाँच जनाको परिवारसहित भारतको जयपुर जानका लागि नाकामा पुगेका थिए। घरमा खानलाउनकै समस्या भएपछि उनी पनि कोरोना कहरकै बीच भारत जान लागेका हुन्।

'यहाँ कमाउने कुनै बाटो छैन, इन्डियामा केही न केही काम गरेर बालबच्चा पालिहालौँला।' बिकले भने, 'यहाँ बसे रोगले भन्दा पहिला भोगले मरिने हो।'

भारतमा कोरोना बढेर स्थिति भयावह भएपछि ज्यान जोगाउन स्वदेश फर्किएका नेपालीहरू अहिले धमाधम भारत जान थालेका छन्। स्वदेशमा बिहान बेलुकाको छाक टार्न समेत मुस्किल हुन थालेपछि उनीहरू पुनः रोजगारीकै लागि भारत जान थालेका हुन्। 

कैलाली र कञ्चनपुरमा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ। तर यही अवधिमा कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाका भएर ४ हजारभन्दा बढी नेपालीहरू भारत पलायन भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले निषेधाज्ञाकै अवधिमा कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाका भएर ४ हजारभन्दा बढी नेपालीहरू भारत गएको बताए।

'वैशाख १६ गतेदेखि हालसम्म कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाका भएर ४ हजारभन्दा बढी नेपालीहरू भारत गएका छन्।' उनले भने, 'यी नाकाहरूबाट दैनिक २ सयदेखि ३ सयको संख्यामा नेपालीहरू भारत जाने गरेका छन्। उनीहरूमध्ये अधिकांश रोजगारी र केही स्वास्थ्य उपचारको लागि पनि भारत जाने गरेका छन्।'

कोरोना महामारीको जोखिम नटर्दै सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानबाट रोजगारीका लागि भारत जाने नेपालीहरूको संख्या पुनः वृद्धि भएको हो। प्रदेशमा रोजगारी र आम्दानीको स्रोत नहुँदा दुई छाकको जोहो गर्न भएपनि अहिले नेपालीहरू धमाधम भारत पलायन हुन थालेका छन्।

सुदूरपश्चिममा प्रदेश सरकार र संघीय सरकारले युवा लक्षित विभिन्न रोजगारीका कार्यक्रमहरू सञ्चालन गरेका छन्। तर ती कार्यक्रमले वास्तविक बेरोजगार युवाहरूलाई छुन सकेको छैन। 

सुदूरपश्चिम प्रदेश सरकारले युवाहरूलाई स्वदेशमा रोजगारी दिने प्रभावकारी योजना बनाउन नसक्दा रोजगारी नपाएर भारत पलायन हुनुपर्ने सुदूरवासीको बाध्यता भने कायमै रहेको छ।
 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस