सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाको ‘हट स्पट’ धनगढी, शहरीबस्तीमा घटेन संक्रमण दर

२०७८ जेठ ४, ०६:५९ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाका शहरीबस्तीमा कोभिड संक्रमणको दर निषेधाज्ञापछि पनि नघटेको पाइएको छ।

उपमहानगरमा साढे २ हजार बढी सक्रिय संक्रमित रहेका छन् भने वर्षको पहिलो महिना बैशाखमा मात्रै ४८ जनाको कोभिडका कारण ज्यान गएको बताइएको छ।

स्वास्थ्य अधिकारीहरुले निषेधाज्ञा लागु गरिएको भएपनि नगरबासीले स्वास्थ्य मापदण्डको पालना नगर्दा संक्रमण फैलिइरहेको दाबी गरेका छन्। 

सुदूरपश्चिमका ८८ ओटा स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या र जनघनत्व रहेको धनगढी उपमहानगरपालिकामा दैनिक कोभिड संक्रमितको संख्या उकालो लाग्ने क्रममै रहेको बताइएको छ। दोस्रो लहरको कोभिड संक्रमण धनगढीको शहरी क्षेत्रमा व्यापक फैलिइरहेको उपमहानगरपालिकाले बताएका हुन्।

उपमहानगरका स्वास्थ्य शाखा प्रमुख डाक्टर कृष्णबहादुर बोहराले भने, “अहिले हरेक दिन गरिएका कोभिड परीक्षणमा ५० प्रतिशतभन्दा बढीमा संक्रमण देखिन लागेको छ।”

पहिलो लहरको कोभिडमा सर्वसाधारणले निकै डराएर स्वास्थ्य सावधानी अपनाउदा संक्रमण नफैलिएको आंकलन उपमहानगरपालिकाको छ। तर दोस्रो लहरमा भने संक्रमितले आवश्यक स्वास्थ्य सावधानीको वेवास्ता गर्दा समुदायमा संक्रमण फैलिएको डाक्टर बोहराले दिनेशखबरलाई बताए।

गत वर्ष आएको कोभिडको पहिले लहरमा धनगढीका केवल १७ जनाले ज्यान गुमाएको तथ्याङ्क उपमहानगरसँग छ। तर दोस्रो लहर फैलिएको एक महिनामै कोभिडको कारण धनगढीका थप ४८ जनाले ज्यान गुमाएका छन्। भारतबाट आएकाहरुको सीमानाकामा स्वास्थ्य परीक्षण गर्न नसक्दा संक्रमण बढेको अनुमान गरिदै आएको छ भने संक्रमित भएका व्यक्तिको समयमै उपचार गर्न नसकिदा मृत्युदरमा बृद्धि भएको अनुमान उपमहानगरका स्वास्थ्य अधिकारीले गरेका छन्।

कुन वडामा कति संक्रमित ?
धनगढी उपमहानगरपालिकाका १९ ओटा वडा मध्ये १० नम्बर वडा बाहेक सबै वडामा अहिले संक्रमित रहेका छन्। आइतबारको तथ्याङ्क अनुसार उपमहानगरका २५ सय ६० संक्रमितमध्ये सबैभन्दा बढी ५ नम्बर वडामा ६ सय ६४ जना रहेको छन्। सबैभन्दा कम वडा नम्बर ९ मा ३ जना संक्रमित रहेका छन्।

धनगढीको १ नम्बर वडामा ३ सय ६० जना, २ नम्बरमा ३ सय ३७ जना,  वडा नम्बर ३ मा ३ सय २० जना, ४ नम्बर वडामा ३ सय १० जना, ६ नम्बर वडामा ७७ जना, ७ नम्बर वडामा ८४ जना र ८ नम्बरमा १ सय ४४ जना संक्रमित रहेका छन्।

वडा नम्बर ११ मा १८ जना, १२ मा ३६ जना, १३ नम्बर वडामा ६२ जना, १४ मा २० जना, १५ मा ५ जना १६ नम्बर वडामा ११ जना, १७ नम्बरमा ५, १८ र १९ नम्बर वडामा क्रमशः ५० र १४ जना र वडा नखुलेका ५९ जना कोभिड संक्रमित रहेको जनाइएको छ।

धनगढीमा कोभिड भएर मृत्यु भएका ६५ जना मध्ये ४२ जना पुरुष छन् भने महिलाको संख्या २३ रहेको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस