सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा दैनिक २ सय थान अक्सिजन सिलिन्डर आवश्यक, यसरी हुँदैछ जोहो

२०७८ जेठ १, ०४:५० नारायण अवस्थी

धनगढी: सुदूरपश्चिम प्रदेशमा शहरदेखि गाउँसम्म दोस्रो लहरको कोभिड संक्रमण फैलिएको छ। दोस्रो लहरको कोभिड भएर अस्पताल आउनेमध्ये करिब ९५ प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक पर्ने गरेको सेती प्रादेशिक अस्पतालले जनाएको छ। 

यसरी उपचारका लागि अस्पताल आउने बिरामीको ठूलो संख्यालाई अक्सिजनको आपूर्ति मिलाउन चुनौति भइरहेको छ। सेती प्रादेशिक अस्पतालमा अहिले दैनिक २ सय सिलिन्डर अक्सिजनको माग भएपनि केवल १ सय ६० सिलिन्डरको मात्रै जोहो हुँदा कोभिडका बिरामीको उपचारमा समस्या भइरहेको अस्पतालले जनाएको छ। 

दोस्रो लहरको कोभिड संक्रमण सुरु हुँदासम्म प्रदेशकै सबैभन्दा ठूलो सेती अस्पतालसँग केवल ५७ ओटा अक्सिजन सिलिण्डर रहेका थिए। पहिलो लहरको कोभिडमा थोरै संक्रमितलाई मात्रै अक्सिजन दिनुपरेको थियो। तर अहिले भने अस्पताल भर्ना हुनेमध्ये ९५ प्रतिशतलाई अक्सिजन सहयोग दिनु परेकोले माग र आपूर्तिमा सन्तुलन नहुँदा कठिनाइ भइरहेको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

सेती लगायत प्रदेशका विभिन्न अस्पतालहरुमा अक्सिजनको हाहाकार भएपछि सहयोगमा विभिन्न व्यक्ति र संस्थाहरुले समेत सहयोग गरिरेहेको पाइएको छ। सेती प्रादेशिक अस्पतालसँग अहिले २ सय ६० सिलिन्डर रहेको बताइएको छ। 

अस्पतालको आफ्नै प्लान्टबाट दैनिक ५० देखि ६० सिलिन्डर उत्पादन हुने गरेको छ भने अस्पताललाई आवश्यक पर्ने थप सिलिन्डरको जोहो बाहिरबाट गर्नुपर्ने अस्पतालले जनाएको छ। 

सेती अस्पतालमा ट्रेड युनियनले ३३ वटा, विवेक शर्माले १८, मयेश्वर हार्डवेयरले ५, नेपाल प्रहरीले ६ थान सिलिन्डरपछि फिर्ता गर्ने गरी उपलब्ध गराएको जनाइएको छ। यसैबीच प्रदेशभरका सरकारी अस्पतालमा अक्सिजन र अन्य सहयोग जुटाइरहेको ह्युम्यानिटी फाउण्डेसनले पनि सेती अस्पतालमा अक्सिजन आपूर्तिमा सहयोग गरेकोे छ। फाउण्डेसनका संस्थापक सदस्य दीर्घराज उपाध्यायले सेतीसहित प्रदेशका अन्य सरकारी अस्पतालमा अक्सिजन सहयोग गरिरहेको बताए।

“हामीले अक्सिजनका लागि सहजीकरण गरिरहेका छौँ। आफै किनेर पनि दिइरहेका छौँ। मानवीय क्षति कम गर्न, अक्सिजनको अभावले कसैले मृत्यु नहोस् भनेर हामीले निःशुल्क अक्सिजन अभियान चलाएका हौँ ” संस्थापक सदस्य उपाध्यायले भने। 

ह्युम्यानिटी फाउण्डेसनले सेती अस्पतालमा शुक्रबारसम्म ९८ सिलिन्डर अक्सिजन भर्न सहयोग गरेको अस्पतालले जनाएको छ। यसरी एक सिलिन्डरको ६ सय ५० का दरले ६३ हजार ७ सय रकम बराबरको सहयोग प्राप्त हुन आएको देखिन्छ।

“सेती प्रादेशिक अस्पतालमा दैनिक ५० सिलिन्डर ढुवानी गर्न संयुक्त राष्ट्र संघीय बाल कोष र विश्व खाद्य कार्यक्रमले आर्थिक सहयोग गर्ने गरेको छ। माहामारीलाई मध्यनजर गरेर अस्पतालले थप ८५ वटा नयाँ सिलिन्डर खरिद गरेको छ। संघीय सरकारले १०, र प्रदेश आपूर्तिबाट ७ ओटा नयाँ सिलिन्डर अस्पताललाई उपलब्ध गराइएको छ। अस्पतालमा दैनिक २ सय अक्सिजन सिलिन्डरको माग छ तर १ सय ६० को हाराहारीमा मात्रै आपूर्ति भइरहेको छ” अस्पतालका सूचना अधिकारी श्रेष्ठले भने। 

अहिले अक्सिजनको प्रति सिलिन्डर ढुवानी बाहेक ६ सय ५० पर्ने गरेको छ। सेती प्रादेशिक अस्पतालमा दैनिक माग २ सय सिलिन्डर भएपनि १ सय ६० सिलिण्डरको मात्रै जोहो हुने गरेको छ। 

यो हिसाबले सेती अस्पतालले अक्सिजन खरिदका लागि मात्रै दैनिक १ लाख ४ हजार खर्च गर्नुपर्ने देखिएको छ। अहिलेसम्म सेती प्रादेशिक अस्पताललाई कोभिड उपचारमा ह्युम्यानिटी फाउन्डेसनले अस्पतालका ९८ ओटा खालि सिलिन्डर भरेर ६३ हजार ७ सय बराबरको सहयोग गरेको छ भने  फाउन्डेसनले सेती प्रादेशिक अस्पतालमा २० लाखको लागतमा १ सय सिलिन्डर खरिद गरेर सहयोग गरेको समेत दाबी गरेको छ। धनगढीका व्यवसायी गोपाल हमाल र देवेन्द्र हमालले अस्पताललाई अक्सिजन खरिद गर्न ३ लाख नगद सहयोग गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस