सुदूर नेपाललाई विश्वसँग जोड्दै

के भयो तँलाई गंगे?

२०७८ वैशाख २७, ०९:४८

तेरो आँगनमा किन अचेल भाले बासेन?
चरी रुने किन हो साँझ र बिहानमा?
तैले एक्लै बालुवा चालेको देखेर
हृदयको विरह चुडाल्छ मेरो मनले
डाँडोको बाजले चुच्चोको रोटी खोसेर लैजाला भनेर खेतमा सेता लुगा किन सुकाईस,
के सोच्न दिउँ थचारिएको मेरो मनलाई?
विधिमा ठडिएको हिउँचुलिको हिमालले जान्दैन उसको होडाचक्र कुनदिन पग्लने हो भनेर,
यसले मान्यो भने भन्किएर एक चक्कर खेतमुनी घन्किन्छ कर्दले काटेको रातो गुराँसको खित-खित नछोडुन्जेलसम्मको आवाज।
 
ठाडो परेको टावरले
यथेष्ट बाचा लिन्छ
—आँगनीमै
पग्लिएको हुन्छ
—आँगनीमै
मैले मनको साहसलाई
जिस्किएरै ढुङ्गाबाट नौनी बनाए,
नबोल बिचरा! भने
 
तर तँ त आज दुरुस्त व्याकरणको बिचरा भईस,
आवाज ठोकिन जान्छ यहाँ विशालता जत्रो भएपनि
अब,
बिच्किएको नारा थामेर
—क्रान्ति गर्नुहुन्न
लच्कने बासँ सोचेर
—भोको प्रजातन्त्र बनाउनु हुन्न
तपस्या हो र तेरो?
—गर्मीमा चप्पल फालेर कुद्छस् 
 
एल.एन. चोक
—तेरो जीवन हो
खुट्टा सम्हालेर हिड्न सिक् यो तातो-तातो होडबाजीमा
 
यहाँ वर्षौँ लाग्नसक्छ
—तेरो सुर्य उदाउन
खाल्डा पुरिन मन बालुवा बनाउन पर्छ
कसले भन्यो तेरो फाटेको बोरोले विरोध गर्दैन भनेर
दिन-दिन डोरोमा अल्झेर के तँ फेरि जन्मन्छस?
यहाँ
आँखाले हेरे
—मनको दृश्य एक बिभुषण
आँखाले हेरे
—टरेको कि छेरेको?
आँखाले हेरे
—घना तारका त्रास भरेको?
 
तँ त बन्द गरेर पलाउँछु भन्थिस सम्झनाका अचारका डब्बाहरु बन्द गर्दै  
— म चम्किन्छु भनेर, आफै पलायन भइस्
फर्कँदा गलेको लौका भईस,
—आशाको प्रेसर कुकरमा,
भारतमा सिट्टी फुकेर मालिक! मालिक! भन्दै घाँटी तँ पनि त  चिर्थिस,
तैले झन कसैको घरको बत्ती पनि निभेको हेर्न चाहन्न भन्थिस
— तेरो नै भाग्य चिरियो!
कल्पनाको स्वर्गमा परालमा लुकाएका बफादारिहरुको बदनाम भयो!
 सिट्टी फुक्दै आफ्ना देशका चोर भगाउँछु भन्थिस के भयो? 
 
अब बिस्फोट होस् यो सडकमा 
श्राप नदे
—अगेनुमा यता मकै जल्दा भोकै बस्नु पर्थ्यो,
श्राप नदे
—आमाको ढाडलाई पहाडमा आड लाउनदिनु थियो
श्राप नदे
—साईकलको हतारमापनि ढिलो भएको थियो
नदे तेरो श्राप
—अस्पतालको लिफ्ट बिग्रेको थियो
 
बरु म भन्छु,
यी नरपिचासहरु लाखौँ साल
सफा चट्ट परेका सोफामाथिका फोटोबाट बाहिर निस्कन नपाउन।

-सुरेन्द्र प्र. जोशी

कमेन्ट लोड गर्नुस