सुदूर नेपाललाई विश्वसँग जोड्दै

पश्चिमी सीमा नाकामा ठगिने क्रम फेरी सुरु

२०७५ असोज २८, १०:२० रोशन भट्ट

सीमा नाकामा ठगिने क्रम रोकिएको दावी गरिएका बेला दशैँ मनाउनको लागि भारतबाट घर फर्किने सुदूरपश्चिमवासीहरु ठगिने क्रम सुरु भएको छ। दशैँका लागि घर फर्किने क्रम दिन प्रतिदिन बढ्दै गएपछि पश्चिमी सीमा नाकामा ठगिने क्रम फेरी सुरु भएको हो। देशमा रोजगारीका अवसर नहुँदा परिवार पाल्नकै लागि भारत छिरेका सुदूरपश्चिमेलीहरु दशैँका लागि घर फर्किदा ठगिन थालेपछि निराश भएका छन्। नेपाल तिर केहि सहज भएपनि भारतिर भने यो वा त्यो वहानामा  रकम असुली सुरु भएको हो। 

तर स्थानीय प्रहरी प्रशासनले भने भारतीय पक्षसँग आवागमनको सहजताका लागि समन्वय भईरहेको दावी गरेको छ। कैलालीको त्रिनगर नाका र कञ्चनपुरको गड्डाचौकी नाकामा दशैँ मनाउन घर फर्किने सुदूरपश्चिमेलीहरु भारतीय भन्सार कर्मचारी, वनका कर्मचारी र एसएसवीको रकम असुली झेल्न बाध्य भएको डडेल्धुराका केशव पार्कीले बताए। सुदूरपश्चिमका अधिकांश उच्च शिक्षा हासिल गरेका युवाहरु समेत भारतमा पसिना बगाईरहेका छन। स्थानीय सरकार आएपछि गाउँ घरमै रोजगारीका अवसर सृजना हुन्छ की भन्ने धेरैमा आशा पलाएको थियो । विदेशिने अधिकांश युवाहरुले स्थानीयस्तरको स्रोत साधनको सदुपयोग गर्दै रोजगारीका अवसर सृजना गरिदिन माग गर्दै आएका छन्। स्वदेशमै रोजागरी नपाए परदेशमा मजदुरी गरेर फर्किदा लुटिने, ठगिने समस्याबाट पिडित हुनुपर्ने उनीहरुको भनाई छ। 

सानोतिनो काम गरेर केही पैँसाको जोहो गरि स्वदेश फर्किने पढेलेखेकै युवाहरु पनि ठगिदै आएका छन्। भारतबाट स्वदेश फर्किने नेपाली सीमा नाकामा ठगिदा समेत स्थानीय प्रहरी प्रशासन भने बेखबर रहेको छ। कैलाली र कञ्चनपुरका सीमा नाकामा नेपाल फर्किने नेपालीहरु कहिले सीमा नजिकका व्यापारी, कहिले रिक्सा चालक, कहिले नेपाल प्रहरी त कहिले भारतीय भन्सार र वनका कर्मचारी तथा एसएसवीबाट ठगिदै आएका छन। पछिल्लो समय स्थानीय प्रहरी प्रशासनको केही सक्रियताका कारण नेपालतिर बाट ठगिने क्रम लगभग रोकिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विनोद घिमेरेले बताए। 

यो साता मात्रै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गौरीफन्टा नाकाको अनुगमन गरेका थिए । अनुगमन अगाडीसम्म घर फर्किरहेका सुदूरपश्चिमेलीहरुले सिमामा ठुलै सास्ती नभएको प्रतिक्रिया दिएका बेला अनुगमनपछि भने सिमा क्षेत्रमा ज्यादती बढेको गुनासो आएको हो। 
 
  
  
  
 
    

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस