सुदूर नेपाललाई विश्वसँग जोड्दै

बोलन्या थलीद्वारा डडेल्धुरा अस्पताललाई ४० थान अक्सिजन सिलिण्डर हस्तान्तरण

२०७८ वैशाख २६, ०२:१७ खबर संवाददाता

धनगढी: बोलन्या थलीले डडेल्धुरा अस्पताललाई ४० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ।

कोरोना संक्रमितलाई अत्यावश्यक अक्सिजन नेपालगञ्जबाट ल्याएर अस्पतालाई आइतबार हस्तान्तरण गरिएको हो। 

आइतबार दिउँसो मात्रै डडेल्धुरा पुगेका सबै सिलिण्डर अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई हस्तान्तरण गरेको बोलन्या थली डडेलधुरा युनिट प्रमुख दिपकराज भट्ट(दिपु) ले बताए। 

हेल्पिङ्ग ह्यान्ड अमेरीकाको सहयोगमा ४० थान भरिएका सिलिण्डर खरिद गरी अस्पताललाई हस्तान्तरण गरेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए। उक्त सिलिण्डरको व्यवस्थापनमा अभियानकर्ता हेमराज थापा, यम खड्का र बाँकेका प्रमुख जिल्ला अधिकारीले सहयोग गरेको संयोजक जोशीले बताए।  

बोलन्या थली पश्चिम सेती निर्माणको लागी संघर्ष गर्दै आइरहेको मञ्च हो। थलीले हालसम्म माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल, सङ्गीत सङ्घर्ष कार्यक्रम गरिसकेको छ। 

त्यसैगरी सरकारको खोजीको लागि भन्दै डोटीमा दिउँसै टुकी बालेर प्रदर्शन तथा ‘डोटीका सपनाका ७५० डोका’ आन्दोलन पनि गरिएको थियो। 

कमेन्ट लोड गर्नुस