सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको रेडक्रस भवनमा १६ शय्याको आइसोलेसन बनाइने

२०७८ वैशाख २५, ०६:४२ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरा अस्पतालमा कोरोना संक्रमितहरुको चाप बढ्दै गएपछि नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखाको भवनमा तत्काल १६ शय्याको आइसोलेसन बनाइने भएको छ।

डडेल्धुरा अस्पताल नजिकै रहेको रेडक्रस भवनमा तत्काल १६ शय्याको आइसोलेसन व्यवस्थापन गरिने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए।

कोरोना महामारी न्यूनिकरणका लागि आवश्यक पहल गर्न गृहजिल्ला पुगेका सुदूरपश्चिम प्रदेश सभाका सांसद कर्णबहादुर मल्लले डडेल्धुरा अस्पतालमा आइसोलेसन बेड कम हुँदा जटिल किसिमको लक्षण देखिएका बिरामीहरुलाई अक्सिजन दिएर उपचार गर्न समस्या भएकाले तत्काल आइसोलेसन निर्माणका लागि जिल्लास्थित सरोकारवालाहरुसँग छलफल गरेका थिए। 

शनिबार महामारीबाट हुने मानवीय क्षति न्यूनिकरणका लागि डडेल्धुरास्थित प्रशिद्ध शक्तिपिठ उग्रतारा मन्दिर र घटालबाबा मन्दिरमा पुगेर संकल्प पूजा गरेका सांसद मल्ल दिउँसो डडेल्धुरा अस्पताल पुगेका थिए। 

अस्पतालमा पुगेर कोरोना संक्रमित बिरामीहरुसँग भेटघाट गरेका सांसद मल्लले अस्पताल प्रशासनसँगै जिल्लास्थित सरोकारवालाहरुसँग छलफल गरेपछि तत्काल रेडक्रस भवनमा अक्सिजन दिएर उपचार गर्न सकिने १६ शय्याको आइसोलेसन निर्माण गर्ने निर्णय गरिएको हो। 

प्रमुख जिल्ला अधिकारी घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठ, अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझा, जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी महेन्द्र नेपाल, डडेल्धुरा अस्पताल विकास समितिका पदाधिकारीका साथै मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टसहित जिल्लास्तरीय सरोकारवालाहरुसँग छलफलपछि डडेल्धुरा अस्पताललाई आवश्यक पर्ने अक्सिजनको सहज आपूर्तिका लागि पहल गर्ने निर्णय समेत गरिएको छ।

रेडक्रस भवनमा निर्माण हुने आइसोलेसनको व्यवस्थापनका लागि सबै सरोकारवालाहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।  

छलफलका क्रममा नेपाली कांग्रेस डडेल्धुराका सभापति समेत रहेका सांसद मल्लले कोरोना संक्रमित बिरामी, कुरुवा र अन्य अलपत्रमा परेका नागरिकहरुका लागि नेपाली कांग्रेस डडेल्धुराले गठन गरेको सेवा दलमार्फत खाना र आवासको प्रबन्ध गर्न सकिने र नेपाली कांग्रेस डडेल्धुराको कार्यालय किसुनजी भवनमा आइसोलेसन निर्माण गर्न सकिने प्रस्ताव राखेका थिए। 

विगतमा स्थानीय तहले कोरोना महामारी व्यवस्थापनमा देखाएको सक्रियताका कारण छोटो समयमै महामारी नियन्त्रणमा आएको चर्चा गर्दै सांसद मल्लले जिल्लाभरीका ७ वटै स्थानीय तह, जनप्रतिनिधीहरु, राजनीतिक दलका प्रतिनिधीहरु, सामाजिक संघसंस्था सबैले राजनीतिक विचारधाराबाट माथि उठेर कोरोना महामारी नियन्त्रणका लागि सक्दो सहयोग गर्नुपर्ने बताए। 


 

कमेन्ट लोड गर्नुस