सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुर्किना फासोका सुनखानीमा मानव तस्करको बिगबिगी

। फोटो स्रोत ।
२०७८ वैशाख २५, ०२:२८ रासस

सेकाओ, बुर्किना फासो: मानव तस्करहरुले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके। यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु–याउँछन्। हरेक रात उनले २ डलरभन्दा कममा दर्जनौं पुरुषसँग रात बिताउनु परेको छ। 

पश्चिम अफ्रिकाको भूपरिवेष्ठित गरिब राष्ट्र बुर्किना फासोकी ब्लेसिङलाई सैलुनमा काम मिलाइदिन्छु भनेर लोभलालच देखाएर फसाउने एक महिलाले ब्लेसिङलाई भाग्ने कोसिस गरे मारिदिने धम्की दिएकी थिइन्। “अब कोहि पनि तिमीलाई उद्धार गर्न आउँदैन,” हालै अन्तर्वार्ता लिनेक्रममा आँखाबाट रसाएका आँशु पुछ्दै ब्लेसिङले आफ्नो पीडा सुनाइन्। 

सन् २०१९ डिसेम्बरमा आफूलाई कब्जामा राख्ने महिला कतै लागेको मौका छोपेर ब्लेसिङ ठूलो साहसका साथ त्यस काठकोठरीबाट भाग्न सफल भइन्। स्थानीय बासिन्दाको सहयोगमा उनी र अरु छ जना महिला त्यहाँबाट भाग्न सफल भए। उनीहरु अन्ततः राजधानी औगाडोगुमा रहेको आप्रवासीका लागि खोलिएको राष्ट्रसंघीय केन्द्रको शरणमा पुगेका थिए। सुनखानीका शिविरमा थुनिनु पर्दाको ब्लेसिङको अनुभव नौलो भने होइन। 

यौन तस्करी र सुन खानी उद्योगका बारेमा एसोसिएटेड प्रेस (एपी) ले गरेको महिनौं लामो अनुसन्धानका क्रममा झण्डै २० जना नाइजेरियाली महिलालाई एपीले भेटेको थियो। यी महिलालाई झुटो लोभ देखाएर बुर्किना फासो ल्याइएको थियो, र त्यसपछि जबर्जस्ती बेश्यावृत्तिमा लगाइएको थियो। आफ्नो सुरक्षाका कारण नाम नबताउने शर्तमा ब्लेसिङले झैं कतिपय महिलाले यस्तै कथाव्यथा बोकेका सयौं महिलालाई आफूहरुले चिनेको बताएका थिए। 

एपीले यी महिलाका कथाहरु सही हुन् वा होइनन् भनेर धेरैसँग अन्तर्वार्ता समेत लिएको थियो जसमा सहायताकर्मीहरु, वकीलहरु, प्रहरी, स्थानीय मानव तस्करी प्रतिरक्षा समूहहरु, स्वास्थ्यकर्मीहरु, एक जना मानव तस्कर र बुर्किना फासोका धेरैवटा शहरमा रहेका नाइजेरियाली समुदायका सदस्यहरु सहभागी थिए।

मानव तस्करीका बारेमा जानकार मानिसहरुले अधिकांश महिलाहरु नाइजेरियाको एडो राज्यबाट आउने गरेका बताएका थिए। उनीहरुलाई बुर्किना फासोका पसलहरु वा सैलुनमा राम्रो कमाई हुने भन्दै प्रलोभनमा पार्ने गरिएको थियो। एक पटक यहाँ आइसकेपछि उनीहरुलाई स–साना सुनखानीहरुमा पठाइने गरिन्थ्यो।

बुर्किना फासो र नाइजेरिया दुबै देशले अन्तरदेशीय संगठित अपराध विरुद्धको राष्ट्रसंघीय अभिसन्धिमा हस्ताक्षर गरेका भए पनि दुबै देशले मानव तस्करी विरुद्ध लड्न संयुक्त योजना नै बनाएका छैनन्। जिहादी आतङ्कबाट गुज्रिरहेको बुर्किना फासोको सुरक्षा क्षेत्र मानव तस्करी रोक्न पर्याप्त रुपमा प्रशिक्षित छैन। उनीहरुसँग तालिम, उपकरण र अन्तरदेशीय सहकार्य समेत छैन। 

परिणामस्वरुप, अमेरिकी विदेश मन्त्रालयले तयार पारेको प्रतिवेदन अनुसार, बुर्किना फासो आफ्नो सीमाबाट हुने मानव तस्करी रोक्न संघर्षरत रहेको मात्र होइन अन्य मुलुकतर्फ हुने महिलाको तस्करीको मार्ग पनि भएको छ। स्थानीय अधिकारीहरुले बुर्किना फासोबाट मालीतर्फ तीन जना महिलालाई लैजानेक्रममा पक्राउ गरेका एक व्यक्तिले एपीसँग कुरा गर्दै आफूले मानव तस्करी नगरेको दाबी गरे। 

उनी भन्दै थिए, हरेक महिलालाई आफूहरु बेश्यावृत्तिको काममा जान लागेको थाहा छ । “मलाई अलिकति खल्लो लाग्छ किनभने उनीहरुले गर्न खोजेको यो राम्रो काम होइन। उनीहरु आफूखुशी जान लागेको बताउँछन्,” नाइजेरियामा कारका सामान बेच्ने ४८ वर्षीय एक व्यापारी बताउँछन्। आफू असुरक्षित रहने भयले उनी पनि आफ्नो नाम बताउन चाहँदैनन्।

उनले आफूले बेनिनमा प्रति महिला २७० डलर तिरेर किनेको बताए। उनले मालीस्थित एक नाइजेरियाली महिलालाई ती महिलालाई दोब्बर मूल्यमा बेच्ने योजना सुनाए। उनले सन् २०१९ मा पनि दुई जना महिलालाई यसैगरी बेचेको बताए। 

अमेरिकी विदेश मन्त्रालयले तयार पारेको तस्करीमा परेका व्यक्ति सम्बन्धी वार्षिक प्रतिवेदनमा बुर्किना फासोको अवस्था अझ नाजूक देखाइएको छ। सामान्यतया, मानव तस्करी रोक्नेतर्फ पर्याप्त कदम नचाले त्यस्ता मुलुकलाई अति नाजुक श्रेणीमा राख्ने गरिएको छ। यस्ता मुलुकलाई अमेरिकाले आर्थिक तथा कुटनीतिक दण्ड सजाय गर्न सक्ने जोखिम रहन्छ।  

बुर्किना फासोको सुनखानी उद्योग तुलनात्मक रुपमा नयाँ हो। देशका १५ वटा औद्योगिक खानीमध्ये एउटा सुनखानीबाट सन् २००७ देखि उत्पादन सुरु भएको छ। सरकारले निजी क्षेत्रको लगानी भित्र्याउन वातावरण निर्माण गरेसँगै सुनखानीमा विदेशी लगानी बढेको छ।  

आज, बुर्किना फासोले अफ्रिकामै सुनखानीको निकै तीव्र विकास गरेको छ। दक्षिण अफ्रिका, घाना, तान्जानिया र माली पश्चात् बुर्किना फासो नै सुन उत्खननमा अग्रपंक्तिमा छ। बुर्किना फासोको मुख्य बाह्य आम्दानीको स्रोत सुन नै रहेको छ। जर्मनीस्थित अनुसन्धान संस्था ग्लोकोनका अनुसार यस उद्योगले करिब १५ लाख व्यक्तिलाई रोजगारी दिएको छ भने सन् २०१९ मा यसको आकार झण्डै २ अर्ब डलर बराबरको थियो।

यहाँबाट उत्पादित औद्योगिक सुनमध्ये ७० प्रतिशतभन्दा बढी स्वीटजरल्यान्ड पठाइन्छ। यो कच्चा सुनलाई स्वीट्जरल्यान्डस्थित मेटालोर टेक्नोलोजिजले प्रशोधन गर्ने गरेको छ। विज्ञहरु र स्थानीय अधिकारीहरुको भनाईमा महिलाको अधिकांश तस्करीका घटनाहरु साना स्तरका सुनखानीमा हुने गरेको छ। ठूला खानीहरुमा यस्तो प्रवृत्ति नदेखिएको अधिकारीहरुको भनाई छ। 

बुर्किना फासोमा ८०० को हाराहारीमा रहेका मध्यम स्तरका सुनखानीको अनुगमन गर्नु निकै मुश्किल कार्य हो। खासगरी पूर्वी सीमामा रहेका मुलुकहरु टोगो, बेनिन, नाइजर र घानाबाट हुने सुन तस्करी रोक्न निकै कठिन हुने गर्दछ। ब्लेसिङ नाइजेरियामा आफ्नै आमासँग मिलेर ऊखु र पिठोको व्यापार सुरु गर्न चाहन्छिन्। 

उनलाई थाहा छ, अरुहरुले आशा नै मारिसके। “धेरै केटीहरुले मिठो सपना देखेरै त्यता गएका हुन्। तर तस्करहरुले उनीहरुको आशा र सपना सबै समाप्त पारिदिन्छन्।” –एपी

कमेन्ट लोड गर्नुस