सुदूर नेपाललाई विश्वसँग जोड्दै

अवस्था जटिल बनेपछि अस्पताल जान्छन् संक्रमित, चिकित्सक भन्छन्ः सामान्य सजकता अप्नाए मृ्त्यु दर कम हुन्छ

२०७८ वैशाख २४, ०७:५१ कमल सावद

धनगढीः भारतबाट सुदूरपश्चिम प्रवेश गरेका १५ देखि ४५ वर्षका मानिसमा कोरोनाको नयाँ प्रकारको प्रभाव बढी देखिएको अनुमान गरिएको छ।

पहिलाको कोरोना भाइरस भन्दा शक्तिशाली मानिएको नयाँ प्रकारले भारतबाट फर्किएका र अन्य क्षेत्रबाट आएकाहरुको मृत्यु बढी भएको अनुमान चिकित्सकहरुको छ। तर सरकारी निकायसँग यकिन तथ्याँक छैन्। तर सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले संक्रमण जटिल भएपछि मात्र संक्रमितहरु अस्पताल आउने गरेको बताए।

खासगरी कोरोना भाइरसका संक्रमितले समयमा अस्पताल नजाँदा र रोगलाई बेवास्ता गर्दा सुदूरपश्चिम प्रदेशमा मृत्यु दर बढेको बताइएको छ।

भारत हुँदै नेपाल प्रवेश गरेको नयाँ प्रकारको कोरोना पहिलेको भन्दा शक्तिशाली रहेको र संक्रमितहरु कोरोना परीक्षण गर्न समेत आनाकानी गर्दै आएकाले संक्रमितको ज्यान बचाउन चुनौती भएको चिकित्सकहरुले बताएका छन्। संक्रमितले सामान्य सजकता मात्र अप्नाए मृत्यु दर कम गर्न सकिने उनीहरुको भनाइ छ। 

भारतबाट फर्किएका नागरिक वा उनीहरुको सम्पर्कमा आएकाहरुमा कोरोनाको संक्रमण बढी देखिएको छ। 

तर संक्रमितहरुले समयमा कोरोना परीक्षण नगर्दा र औषधी सेवन नगर्दा मृत्यु दर बढी देखिएको हो। सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर निराजन शर्माले कोरोनाका संक्रमितहरुको फोक्सोमा जटिल समस्या आउने वा अन्य भित्री शरीरमा समस्या देखिएपछि मात्र अस्पताल पुग्ने भएकाले उपचारमा समस्या हुने गरेको बताउँछन्।

उनले भने, “नयाँ प्रकारको कोरोना शक्तिशाली छ। पहिलेको भन्दा संक्रमण पनि बढी । तर उहाँहरु परिक्षण गराइरहनु भएको छैन्। फोक्सोमा समस्या देखिएपछि मात्र अस्पताल आउने गर्नु भएको छ। संक्रमण जटिल भएपछि मात्र आउने भएकाले समस्या हुने गरेको छ।”

कोरोनाका संक्रमितले सामान्य सावधानी मात्र अपनाए मृत्यु दर कम गर्न सकिने चिकित्सकहरुले बताएका छन्। उनीहरुले शरीर दुख्ने, जरो आउने, थकान महसुस हुने, बास्ना वा गन्ध हराउने, सास फेर्न समस्या हुने जस्ता लक्षण देखिएमा कोरोनाको परीक्षण गर्न आग्रह गरेका छन्। कोरोना भाइसरको संक्रमण पुस्टिपछि पनि नियमित सम्पर्कमा बस्न आग्रह गरिएको छ।

डाक्टर शर्माले भने, “संक्रमितहरुले सामान्य ख्याल मात्र गरे शरिरका अंग जोगाउन सक्छन्। होमआइसोलेसनमा बसेकाहरुले पनि यो बिषयमा ख्याल गर्नुपर्ने हुन्छ।”

हाल सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल तथा धनगढी र अत्तरियाका निजी अस्पतालहरुमा कोरोनाका संक्रमितको उपचार हुँदै आएका छ। अन्य रोग जस्तै कोरोनाका संक्रमितले पनि औषधी र खानामा ध्यान दिए मृत्यु दर गर्न सकिने दाबी गरिएको छ। 
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस