सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सरकारी अस्पतालमा अक्सिजनको हाहाकार

स्वास्थ्य निर्देशक भन्छन, “प्रदेशका २९ लाखलाई नै अक्सिजनको आवश्यकता पर्न सक्छ”

२०७८ वैशाख २३, ०६:५३

वीरेन्द्र भट्ट,धनगढीः कोरोना भाइरसका कारण जटिल समस्या भएर अस्पताल भर्ना भएका बिरामीका लागि आवश्यक पर्ने अक्सिजनको आपूर्तिको अभावका कारण यतिबेला अक्सिजनको हाहाकार भएका छ।

उपचारका लागि सुदूरपश्चिम प्रदेशका सरकारी अस्पताल भर्ना भएका बिरामीलाई जोगाउँनै मुस्किल परेको अधिकारीहरुले बताएका छन्। प्रदेशका सेती र महाकाली लगायतका सरकारी अस्पतालहरुमा अक्सिजन अभाव भएर बिरामीको उपचारमा समस्या भएको बेला प्रदेशको स्वास्थ्य निर्देशनालयले भने यहाँका २९ लाख जनसंख्यालाई जुन्सुकै बेला अक्सिजनको आवश्यकता पर्ने देखिएकोले व्यवस्थापन गर्न कठिन भएको बताइएको छ। 

कोरोना भाइरसको महामारीले विकराल रुप लिएपछि सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालका शय्याहरु कोरोना भाइरसका संक्रमितहरुले भरिएका छन्। अस्पताहरुमा शय्या अभावकै कारण अधिकांश संक्रमित घरमै एकान्तबासमा बस्न बाध्य छन्। धेरै कोरोनाका संक्रमितहरु समयमा शय्या र अक्सिजन नपाउँदा ज्यान गुमाउनु परिरहेको छ। 

तर प्रदेशको स्वास्थ्य निर्देशनालयले भने अक्सिजनको माग एकै पटक धेरै भएकाले व्यवस्थापनमा चुनौति भइरहेको बताएको छ। अक्सिजन उत्पादन गर्ने क्षमता नै हामीकहाँ कम भएकाले सबैतिर अक्सिजन पु¥याउन कठिन भइरहेको सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए। “यो हाम्रो मात्र समस्या होइन, विश्वभरीकै भएकाले दिनप्रतिदिन अवस्था गम्भीर बन्दैछ”, उनले भने। यही अवस्थामा संक्रमण फैलने हो भने सुदूरपश्चिमका २९ लाख जनतालाई अक्सिजनको आवश्यकता पर्न सक्ने उनको भनाई छ।

सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालमा हाल दैनिक ४ सय अक्सिजन सिलिण्डरको माग छ। तर दुई सय ५० सिलिण्डर मात्र अस्पतालहरुसँग उपलब्ध हुँदा बिरामी जोगाउन मुस्किल भइरहेको अधिकारीहरुले बताएका हुन्। दैनिक सयौँको संख्यामा कोरोना संक्रमित अस्पताल भर्ना हुने क्रम बढ्दो छ।

अस्पताल भर्ना भएका अधिकांश बिरामीलाई अनिवार्य रुपमा अक्सिजन चाहिने भएपनि खाली सिलिण्डर समेत पाउन नसक्दा समस्या भइरहेको सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा सिटिस्क्यान महाशाखा प्रमुख डक्टर जगदिश जोशीले बताए। उनका अनुसार माग दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा आपूुर्ति भने निकै न्यून हुँदा कतिपयले मृत्युवरण गर्नु परेको छ।

दोस्रो प्रकारको कोरोना भाइरस यसअघिको भन्दा जटिल प्रकृतिको देखिएकाले मृत्युदर समेत उच्च रहेको स्वास्थ्य अधिकारीले बताउने गरेका छन्। 

तर कोभिड विरुद्धको खोप सेवा प्राप्त गरेका व्यक्तिलाई कोरोना भाइरस भएपनि मृत्यु हुने संभावना भने शून्य दशमलव २ प्रतिशत मात्र हुने विज्ञहरुले बताइरहेका बेला ठूलो जनसंख्याले खोप प्राप्त गर्न नसकेको अवस्थामा समयमै शय्या र अक्सिन समेत नपाउँदा ज्यान बचाउन समस्या भइरहेको प्रमुख जोशीले बताए। चुनौतिकाबीच पनि बेड र अक्सिजन व्यवस्थापनको काम भइरहेको उनको भनाई छ।

कोरोना विरुद्धको खोप नपाएका तर कोरोना भाइरसका कारण जटिल समस्या भएर अस्पतालको शय्यामा छटपटिरहेका संक्रमितकोे जीवन रक्षाका लागि अक्सिजन अनिवार्य भएको र अक्सिजनका खाली सिलिण्डर भए अस्पतालहरुलाई सहयोग गरिदिन स्थानीय प्रशासनले सर्वसाधारणलाई अपिल गरेको छ।
 

कमेन्ट लोड गर्नुस