सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकान्तबासमा रहेका संक्रमितको दुखेसोः सोधीखोजी कसैले गरेनन्

२०७८ वैशाख २१, ०९:५३ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरका राजकुमार भट्टले गत बैशाख १५ गते पीसीआर परीक्षण गर्न स्वाब दिएका थिए। १४ गतेबाट घरमै एकान्तबासमा बसेका उनमा १७ गते मात्रै स्वाब परीक्षण गर्दा कोरोना पुस्टि भयो। तर जिल्ला प्रहरी कार्यालयबाट फोन आएको बाहेक स्वास्थ्य अवस्थाबारे कसैले सोधीखोजी नगरेको भट्ट बताउँछन्।

“स्वाब दिएको तीन दिनपछि कोरोना संक्रमण भएको खबर गर्न जिल्ला प्रहरी कार्यालयबाट फोन आएको थियो तर त्यसपछि भने कुनै पनि स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीबाट स्वास्थ्य अवस्था बुझ्ने काम भएको छैन।” भट्टले दिनेशखबरसँग भने।

नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमाल जोशीले पनि बैशाख १७ गते जिल्ला प्रहरी कार्यालयबाट कोरोना संक्रमण भएको जानकारी दिन एक पटक फोन आएको तर त्यपछि भने वडा, नगर र जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्य अवस्था बुझ्न कुनै ताकेता नभएको  गुनासो  गरेका छन्।

धनगढी तारानगरका भट्ट र महासंघ कैलाली अध्यक्ष जोशी मात्रै होइन, एकान्तबासमा बसेका अधिकांश संक्रमितको गुनासो उस्तै छ।

दोस्रो लहरको कोरोना फैलिएसँगै संक्रमित भएर घरमै एकान्तबासमा बसेका उनीहरुले आफुहरुको अवस्थाबारे कोही पनि सोधीखोजी नगरेको बताएका हुन्। 

स्थानीय तहमा रहेका स्वास्थ्य संस्था, स्वयंसेविका र जनप्रतिनिधिहरुले आ–आफ्नो वडाका एकान्तबासमा बसेका व्यक्तिहरुको स्वास्थ्य अवस्थाबारे बुझ्न सक्ने अवस्था भएपनि सामान्य स्वास्थ्य परामर्शको अभावमा स्वास्थ्य अवस्था जटिल भएर बिरामीले समस्या भोग्नु परिरहेको गुनासो गरिएको छ। 

“संक्रमितहरु घरमा एकान्तबासमा बसका छन् तर जिल्ला, नगर वा वडा तहबाट संयन्त्र बनाएर हरेक बिरामीको स्वास्थ्य अवस्था बुझ्ने काम हुनुपथ्र्यो त्यो हुन नसक्दा बिरामीले थप मर्का भोग्नु परेको छ” महासंघ कैलाली अध्यक्ष जोशीले भने।

घरमै एकान्तबासमा बस्नेहरुको स्वास्थ्य अवस्थाबारे समयमै परामर्श दिन सकिए अवस्था जटिल नहुँदै थप उपचारको व्यवस्था मिलाउन समिने भएपनि बिरामीले एकान्तबासमा टोलाएर बस्नु परेको बताएका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका सरोज अवस्थीले पनि एकान्तबास बसेको १० दिनसम्म कुनै पनि स्वास्थ्य संस्थाबाट अवस्था बुझ्ने काम नभएको बताएका छन्।

“मलाई कोरोना पुस्टि भएर एकान्तबासमा बस्न थालेको आज १० दिन भयो। कुनै पनि स्वास्थ्य संस्थाबाट स्वास्थ्य अवस्थाबारे बुझ्न फोन आएन। आफैले तातोपानी लगायत जडीबुडी खाएर सञ्चो भइरहेछ” अवस्थीले दिनेशखबरलाई भने।

घरमा एकान्तबास बसेका बिरामीले स्वास्थ्यकर्मीबाट समयमै आवश्यक परामर्श नपाउँदा कोरोनाले ग्रसित भएर अस्पताल पुग्ने गरेको घटनामा बृद्धि भइरहेको बताइन्छ। सरकारले घरमै बस्न पे्ररित गरेपनि हरेक बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आवश्यक संयन्त्र बनाउनुपर्ने कुरामा संक्रमितहरले जोड दिएका छन्। 

तर स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले भने सीमानाकाबाट आउनेहरुको अवस्थाबारे स्वास्थ्य कार्यालयबाट जानकारी लिने काम भइरहेको तर स्थानीय तहले आफ्नो मातहतका संयन्त्र परिचालन गरी संक्रमितको अवस्था बुझ्ने निर्णय भएको बताएका छन्। 

स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख धामीले भने, “हामीले सीमानाकाबाट आउने सबैको तथ्यांक स्थानीय तहहरुलाई पठाउने गरेका छौँ। संस्थागत आइसोलेशनमा पनि अवस्था बुझ्ने गरेका छौँ। तर जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को बैठकमा निर्णय भएबमोजिम स्थानीय तहहरुले जनप्रतिनिधि, स्वयंसेविका र स्वास्थ्यकर्मी परिचालन गर्नुपर्ने हो। हाम्रो तहबाट भएको कमजोरी भने हामी सुभार गर्न तयार छौँ।”

धनगढी उपमहानगरपालिकाले भने सीमानाकाबाट आउनेहरुको विवरण नै नपाउने गरेको दाबी गरेको छ। 

“हामीले यथार्थ विवरण पनि पाउन सकेका छैनौँ तरपनि हाम्रा १९ वटै वडाका अध्यक्ष र जनप्रतिनिधिलाई घर बसेका संक्रमितको अवस्थाबारे बुझ्न आ–आफ्नो वडामा परिचालन हुने र आवश्यक संयन्त्र समेत बनाउने गरी निर्णय गर्दैछौँ” धनगढी उपमहानगरपालिका कोभिड संकट व्यवस्थापन समितिका संयोजक नारायण बरालले भने।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको आइतबारसम्मको तथ्यांक अनुसार प्रदेशभर २ हजार बढी पीसीआर परीक्षण गरेका संक्रमित छन् भने एन्टिजेनबाट ३ हजार कोरोना संक्रमित भएका देखिन्छन्। प्रदेशभर ५ हजारभन्दा बढी बिरामी घरमै एकान्तबासमा रहेको भएपनि उनीहरुको स्वास्थ्यस्थितिबारे भने कुनैपनि निकायले सोधीखोजी गर्दैनन्। जसको कारण कोरोना संक्रमित जटिल अवस्थामा पुगेर अस्पताल आउँदा ज्यान जाने क्रम बढेको चिकित्सकहरुले बताउने गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस